‘अक्वा त्रिदेव’को पानीमा कोलिफर्म, २ लाख जरिवाना
काठमाडौं : ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ। यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो।
निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोंगबुबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो। 'यसरी लिइएको नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो। प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो। प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ। यो शून्य हुनुपर्छ,' महानगरले विज्ञप्ति जारी गर्दै भनेको छ।