पर्यटनको अथाह संभावना बोकेको सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश पर्यटन व्यवसायका लागि अत्यधिक संभावना भएको प्रदेश हो। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र ऐतिहासिक धरोहरले स्वदेशी र विदेशी पर्यटकहरूलाई अलौकिक आनन्द मिल्छ। बाह्रसिंगेका लागि प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, धर्तीको स्वर्ग खप्तड र बडिमालिका पर्यापर्यटनको ‘भर्जिन ल्यान्ड’ हुन्। तर, यी ठाउँको प्रचार–प्रसार एवं पर्यटकका लागि आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन। प्रदेशका संभावनालाई अवसरमा बदल्ने हो भने पर्यटन व्यवसायबाटै यो क्षेत्रको कायापलट हुनसक्छ।
भारतको राजधानी नयाँदिल्लीबाट ४ सय किलोमिटरको दूरीमा मात्रै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एसियाकै ठूलो बाह्रसिंगेको बथान हेर्न पाइन्छ। एसियामा बाह्रसिंगेको ठूलो बथान यहाँ छ भनेर ‘ब्रान्डिङ’ गर्न सके पर्यटकको ओइरो लाग्नेमा दुईमत छैन। यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा गड्डाचौकी नाकाले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
गड्डाचौकी नाकाबाट भारतका ठूला पर्यटकीय स्थलहरूनजिक छन्। भारतमा आउने तेस्रो मुलुकका पर्यटकहरू सजिलै नेपाल प्रवेश गर्न सक्छन्। सुदूरपश्चिममा पर्यटकको सुविधाका लागि गुणस्तरीय होटल एवं रेस्टुराँ प्रशस्त छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण र धार्मिक महत्वका दृष्टिकोणले सुदूरपश्चिममा खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साइपाल लगायतका क्षेत्र निकै महत्वपूर्ण छन्। धार्मिक र पर्यटकीय दुवै हिसाबले आकर्षक यी स्थल ओझेलमा छन्।
सरकारले सुदूरपश्चिममा पर्यटन विकासका लागि पूर्वाधार विकास, प्रचार–प्रसार, र पर्यटन व्यवसायीहरूलाई सहयोग गर्न आवश्यक छ। सिमानामा सहज आवतजावत, पर्यटकीय जानकारी केन्द्रको स्थापना र सडक तथा यातायात सुधार गर्नुपर्ने आवश्यकता छ।
(भट्ट होटल व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष हुन्।)