अर्घाखाँचीमा रोपाइँ जात्रा मनाइयो
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रोपाइँ जात्रा पर्व मनाइएको छ। श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मिएको खुसियालीमा मनाइने रोपाइँ जात्रामा पञ्चैबाजाको तालमा रोपाइँमा धान रोपे झैं गरी छमछमी नाच्ने गाउने गरिन्छ।
सन्धिखर्क— १ शान्ति बगैंचामा रहेको श्री १०८ गणेश पाञ्चायन मन्दिर संरक्षण समितिको आयोजनामा श्रीकृष्णको रथयात्रा र रोपाइँ जात्रा पर्व मनाइएको हो।
खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै र नाच्दै रमाइलो गर्ने गरिन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा यो पर्व मनाउन थालिएको १०८ गणेश पाञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष बसन्तप्रसाद भुसालले बताए।
अघिअघि भगवान् श्रीकृष्णको रथ, त्यसपछि सजावट गरेर सिंगारिएका राधाकृष्ण बनाएर भजनकीर्तन गर्दै हिँड्ने चलन छ। जस्को पछिपछि पन्चैबाजाको तालमा असारे गीत गाउँदै रोपाइँ गरेको, अभिनय गर्दै छमछमी नाच्ने गरिन्छ। गोरुको सजावटमा सजिएर हलो जोतेको पनि अभिनय गरिएको हुन्छ। जसका कारण अति आकर्षक देखिने गर्छ।
देशका अन्य जिल्लाहरूमा गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा गरिए पनि अर्घाखाँचीमा कृष्ण जन्माष्टमीमा हुने गरेको सिद्धेश्वर शिवालय मन्दिरका पण्डित सुमन्तप्रसाद पोख्रेलले जानकारी दिए।
श्रीकृष्णको रथयात्रा र रोपाइँ जात्राले सन्धिखर्क र चुत्राबेसीका विभिन्न भाग परिक्रमा गरेका मन्दिर संरक्षण समितिका लक्ष्मण पराजुलीले बताए। रोपाइँ जात्रा असारमा धानको रोपाइँ गरी सकेपछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरु भएको हो। धान रोप्ने काम सकिएको खुसियालीमा यो जात्रा मनाइन्छ। रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको विश्वास छ।
उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष प्राथमिकता दिँदै राजा प्रताप मल्लले रोपाइँ जात्राको सुरुवात गरेको मानिन्छ। अर्घाखाँचीको डिभर्ना, बांगला, ठूलापोखरालगायतका स्थानमा रोपाइँ जात्रा मनाउने गरिन्छ।