महिलाहरूको स्वास्थ्य परीक्षण
नुवाकोट : त्रिशूली अस्पतालले महिलाहरूको स्वास्थ्य परीक्षण गरेको छ। अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षामा जोड दिँदै बिदाका दिनमा समेत शल्यक्रिया सेवा प्रदान गरिरहेको छ।
विदुर नगरपालिका-९ कोलोनी, वाघटारमा रहेको अस्पतालले दैनिक रूपमा चारसय जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिरहेको छ। त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारण उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताए।
विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य प्राविधिकको टोलीले एकसय ६० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरेको डा. लामाले बताए। स्वास्थ्य परीक्षणका क्रममा महिलाहरूमा स्त्री रोग समस्या पाइएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
त्रिशूली अस्पतालमा हाडजोर्नी चिकित्सकको टोलीले बिदाको दिनमा समेत शल्यक्रिया गरेका छन्। डा. पुजन र डा. दिलीपको टोलीले जोर्नी प्रत्यारोपण तथा अन्य जटिल शल्यक्रियाहरू गरेर सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ।