भीम १९औं स्थानमा

भीम १९औं स्थानमा
सुन्नुहोस्

काठमाडौं  : नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिकको एस–९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९औं स्थान हासिल गरेका छन्। उनको स्पर्धामा १९ जना नै खेलाडी सहभागी थिए। 

पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ द मिसनसमेत रहेका राष्ट्रिय पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। 

५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो। यो समय उनले चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा कायम गरेका थिए।

भीमको प्रतिस्पर्धासंगै पेरिस पारालिम्पिकमा नेपालको चुनौती पनि सकिएको छ। पेरिस पारालिम्पिकमा नेपालबाट दुई खेलमा ३ खेलाडी सहभागी भएका थिए। तेक्वान्दोकी पलेसा गोवद्र्धनले के–४४ महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। 

रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन्। पारा तेक्वान्दोको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले  रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। 

रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वार्टरफाइनलमा अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्।

पलेसाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो। गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको इतिहास छ। 

सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।

तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका थिए। तेक्वान्दो टोली बुधबार बिहान स्वदेश फर्किदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.