जसले बनाए राष्ट्रिय झण्डा

एउटा गर्विलो इतिहास

जसले बनाए राष्ट्रिय झण्डा

देशको सान र गौरवलाई उँचो पार्ने काममा लागेर इतिहास त बनाए नै, कला–संस्कृतिको क्षेत्रमा पनि त्यत्तिकै योगदान दिएका छन् शंकरनाथ रिमालले।

राष्ट्रिय झण्डाको कुरा गरौं चाहे सहिद गेटको प्रसंग, जहाँ पनि उनकै नाम जोडिन्छ। पशुपति परिसरदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म, नारायणहिटीदेखि अमृत साइन्स कलेजसम्म, होटल सोल्टीदेखि होटल एभरेस्ट सेराटनसम्म, टीकापुरको सहरी योजनादेखि जनकपुरको रमानन्द स्मारकको संरचनासम्म। नदेखेको र नसुनेको शायदै यस्ता संरचना होलान्, जसको सिर्जनामा उनको हात नहोस्। यस्तो अमूल्य योगदान दिने शंकरनाथ रिमालको नाम सम्मानका साथ लिइन्छ।

अरु कैयौं संरचना र निर्माणमा उनी जोडिएका छन्। संरचना र निर्माणको क्षेत्रमा मात्र होइन, शंकरनाथ रिमाल ललितकला क्षेत्रमा पनि उत्तिकै सक्रिय र नाम चलेका कलाकार हुन्। देशबाहिर पनि उनलाई चिन्नेहरूको कमी छैन। कमी यतिमात्र छ, मान्छेको योगदान र गुणको कदर हामी समयमै गर्न सक्दैनौं।

शंकरनाथ रिमालसँग बसेर कुरा गर्ने हो भने उनले गरेका काम छिचोलिनसक्नु छन्। उनको कलाकारिताबारे पनि भन्नुपर्ने र लेख्नुपर्ने कुरा त्यत्तिकै छन्। कति उल्लेख गर्ने कति नगर्ने ! उनले दिएको योगदानको तुलनामा उनका बारेमा त्यति लेखिएको छैन। उनको कलाकारिताबारे कतै कतै उल्लेख भए पनि संरचना निर्माणका सम्बन्धमा नलेखिएसरह छ। नक्साल नारायणचौरमा छ उनको निवास अनि कार्यालय परिसर। ९० वर्षको उमेरमा पनि आफ्नै कार्यालयमा अझै समय दिइरहेका छन् उनी। गर्नुपर्ने डिजाइनका काम एकातिर चाङ लागेका छन् भने अर्कातिर आफैंले सिर्जिएका कलाकृतिले कोठाहरू भरिएका छन्। इन्जिनियर शंकरनाथ रिमाल, कलाकार शंकरनाथ रिमाल, लेखक शंकरनाथ रिमाल अनि हाम्रा आस्था र सम्पदाका कैयौं उल्लेख्य संरचनाका निर्माता। के भनेर सम्बोधन गरुँ ? 

‘म मेरो गुरुले पहिले विद्यालयमा पढाएजस्तै म हुँ। जे जसो गरे पनि आखिर मान्छेको जीवनमा यही लागू हुनेरहेछ। अचेल कसैले मलाई तपाइँ खासमा के हो भनेर सोध्दा म यही जवाफ दिने गर्छु।’

शंकरनाथ रिमाल भनेर कसैले नाम लिनासाथ वा कतै पढ्दा/सुन्दा श्रद्धापूर्वक भनिहाल्छन्– ए हाम्रो राष्ट्रिय झण्डाका निर्माता ! ए सहिदगेट बनाउने मान्छे ! ए ललितकलाका क्षेत्रमा योगदान दिने व्यक्तित्व, लुम्बिनी चक्र र श्रीयन्त्रजस्ता गहन कृतिका लेखक ! यसरी नै धेरैले चिन्छन् र सम्मानका साथ उनको नाम उच्चारण गर्न पुग्छन्। 

धेरै बोल्न नरुचाउने, आफूले गरेको कामका बारेमा स्वप्रशंसा नगर्ने, कर्म गरेर पनि फलप्रति पटक्कै चासो नभएजस्तै लाग्छन् उनी। कामप्रतिको लगावले नथाक्ने स्वभाव र आफ्नै भूमिको, आफ्नै ग्रन्थहरूको अनि आफ्नै विषयका गहन अध्ययनले उनका काम उल्लेख्य बन्न पुगेका हुन्। काठमाडौंको मध्यभागमा अवस्थित घरमा बस्दै आए पनि प्रचार–प्रसारबाट अलग रहेजस्तै छन् उनी। उमेरले, योगदानले, सिर्जनाले अनि अनुभव र अध्ययनले खारिएका उनीसँग बसेर कला र वास्तु, निर्माण र देशको माटोको कुरा गर्ने हो भने धेरै समय खर्र्र्चिनुपर्ने हुन्छ।

रिमालको अनुभव, सीप, दक्षता, सिर्जनासँगै योगदानको सात दशकले अनेकौं आरोह–अवरोह पार गरेको छ। काम गरे अनुरूप तलब र सुविधा नपाएको मात्र होइन, कतिपय सन्दर्भमा त उनको योगदानलाई समेत सरकारले भुसुक्क बिर्सेका उदाहरण छन्।

लामो समयदेखि काठमाडौंको नारायणचौरमा बस्दै आएको रिमाल परिवार १९९० सालको भूकम्पका कारण टंगाल सर्न पुग्यो। त्यही टंगालमा १९९१ सालको फागुनमा शंकरनाथ रिमालको जन्म भयो। पछि १९९३ सालदेखि उनको नयाँ घर गैह्रीधारामा सर्‍यो। २०१८ सालदेखि भने नक्साल नारायण चौरमा छ। जसलाई उनले ‘शशि–शंकर कलालय’ नाम दिएका छन्।

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले २०७६ असार ६ गते उद्घाटन गरेको यही कलालयमा ६३ वर्षदेखि उनले सिर्जना गरेका वास्तुकलाका अनुपम डिजाइनहरू तयार भए, चित्रकलाका अनेकौं सिर्जना सिर्जिए, संस्कृति र परम्पराका महत्त्वपूर्ण कृति लेखिए।
अनि यही थलोमा ७४ वर्षअघि वैवाहिक सम्बन्धमा जोडिन पुगेकी उनकी जीवनसंगिनी शशि रिमालले साहित्यमा अनेकौं रचना गरिन्। कला–साहित्य, सम्पदा–संस्कृतिका अनेकौं अमूल्य वस्तु रहेको त्यही कलालयमा आउने जोकसैले यही दृश्य देख्छ। सहिद गेट बनाउँदाका कथा, राष्ट्रिय झण्डा बनाउँदाको उनका सोच र सिर्जनाका कुरा, प्रज्ञा प्रतिष्ठान बनाउँदा हासिल गरेको अनुभव टिपीसाध्य छैनन्। समयअघि बढ्दै गएसँगै बढ्दै गएको उमेर पनि पत्तो नभएजस्तो रिमालका हातहरू अहिले पनि सिर्जनामा संलग्न छन्।

एकातिर वास्तुकलाका अनेकौं सिर्जना छन्, अनि त्यही कलालयमै उनले सिर्जिएका अनेकौं आकर्षक कलाकृति देख्न पाइन्छ। आफूले देखेका, कुनै व्यक्तित्वसँग भेटेपछिका अनुभूति सबै सबै कलाका माध्यमबाट अभिव्यक्त गरेका छन्। तिनै कलाकृतिले घेरिएको कार्यकक्षमा बसेर उनी आफ्ना अतीत उधिन्छन् भेट्न आउने शुभचिन्तकसँग।

आरम्भिक शिक्षा घरमै प्राप्त गरेपछि दरबार हाइस्कुलमा भर्ना भई २००६ सालमा एसएलसी पास गरेपछि त्रि–चन्द्र कलेजमा विज्ञानतर्फ उनको पढाइ केन्द्रित बन्न पुग्यो। आईएस्सी पास गरेपछि इन्जिनियरिङ पढ्न बंगाल इन्जिनियरिङ कलेज (भारत) गए उनी। २०१३ सालमा इन्जिनियरिङको अध्ययन पूरा गरी नेपाल फर्केपछि सदर पब्लिक निक्सारी (लुमडी, अचेल भद्रकाली भनेर चिनिने)मा असिस्टेन्ट इन्जिनियरको पदमा महिनाको २७५ रुपैयाँ 
तलब पाउने गरी जागिर खाए। ७० वर्षअघि उनको व्यक्तित्वको सुरुवात यहीँबाट भयो।

२०१५ सालको आमनिर्वाचनपछि जेठ महिनामा इन्जिनियरिङको काम सिक्न तालिमका लागि जर्मनी गएकै बखत जागिरमा बढुवा भएको खबर पाए उनले। २०१७ भदौमा तालिम सकेर नेपाल फर्केर सेकेन्ड क्लासमा काम थाले। तर समय एकनास रहेन। त्यतिबेलाका फस्र्ट मिनिस्टर डा. तुलसी गिरीको ठाडो फोनमा २०१७ सालको चैतमा उनलाई नारायणहिटीको नवनिर्माण हुने दरबारको काजमा जानू भन्ने खबर पाएपछि त्यतै हाजिर भएर काम थाले। कुरा यतिमा सीमित भएन। त्यसै बखत २०१५ सालको प्रशासनमा धेरै धाँधली भएकाले सो सम्बन्धमा फेरि अध्ययन गरी बढुवाको नयाँ सूची निकाल्दा उनलाई घटुवा गरिदिए।

कारण थियो उनलाई उच्च ओहदाको नातेदारले बढुवा गरिदिएको भन्ने आरोप लगाई घटुवा गरिदियो तत्कालीन सरकारले। हुँदै नभएको कारण देखाएर अनावश्यक रूपले घटुवा गरेकोमा उनलाई चित्त नबुझ्नु स्वाभाविकै हो। यही कारण देखाएर उनले राजीनामा दिए। चार–पाँच महिनापछि यो कुरा जर्नेल सुरेन्द्रशमशेरले राजा महेन्द्रलाई सुनाए। महेन्द्रले मलाई सोध्दै नसोधी किन राजीनामा दिएको भन्ने प्रश्न गरेछन्। त्यसपछि १० वर्ष नारायणहिटीमा बिनातलब इन्जिनियर भएर काम गर्न पुगे उनी।

१० वर्षसम्म काम गर्दा पनि तलब, सुविधा केही नपाएपछि आफूले गरेको कामबापत् तलब सुविधा पाऊँ भनेर निवेदन दिए। साथमा राजीनामा पनि। तर केही समय स्वीकृत भएन। त्यसपछि भने तलब सुविधा उपलब्ध गराएर राजीनामा पनि स्वीकृत गरियो। २०२६ सालमा जागिरबाट अलग भएदेखि उनले फेरि अन्त कतै जागिर खाएनन्। जागिरे नभए पनि इन्जिनियरका रूपमा उनले सहिद गेट, शान्ति सिंह, शोभासिंह, शारदा शाहीका निवास आदिको निर्माण गरे। यसरी आपूmलाई परिचित बनाए।

राष्ट्रिय झण्डाको डिजाइन  :  शंकरनाथ रिमालको नाम धेरै किसिमले सम्मानका साथ लिइन्छ तर सबैभन्दा बढी उनी मानक राष्ट्रिय झण्डाको पुनर्निर्माताका रूपमा सुपरिचित छन्। भन्छन् –यो त २०१८ सालको कुरा हो। जतिबेला नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने प्रतिनिधि तथा व्यक्तिहरूले त्यहाँ प्रस्तुत गरेका नेपालको झण्डाको अनुपात र डिजाइनमा एकरूपता नपाइएको कुरा नेपाल सरकारलाई अवगत गराइयो। यसबाट नेपालको राष्ट्रिय झण्डामा स्तरीयता, एकरूपता र आधिकारिकता हुनुपर्ने कुरामा सरकारी अधिकारीहरू एकमत भए। सो समय नेपालको संविधान २०१९ को मस्यौदा तयार हुँदै थियो। राष्ट्रिय झण्डाको स्तरीयकरणका लागि एक संसदीय बोर्ड गठन गरिएको थियो।

सोही समितिका सदस्य कृष्णप्रसाद पन्त, डा. बलराम जोशीका साथ मकहाँ आएर झण्डाको पुन :  ढाँचा तयार गर्न, स्तरीकरण गर्न तथा कुनै गल्ती बिना यसको धेरै प्रति निकाल्न सकिनेगरी खास अनुपात तोक्न मलाई प्रस्ताव राखे। त्यतिखेर सहिदगेटलगायत कतिपय संरचनाको डिजाइन गरिसकेकाले साथै इन्जिनियर र ग्राफिक्स पनि जानेकाले पनि होला, मलाई त्यतिबेला यस कार्यका लागि छनोट गरियो।

झण्डाको पुन : डिजाइन गर्ने काम त त्यति सहज थिएन। त्यसका लागि मैले इतिहास र परम्पराको गहन अध्ययन तथा विभिन्न विद्वान् तथा बौद्धिक व्यक्तित्वसँग परामर्श गरी जिम्मेवारी पूरा गरें। हाम्रो झण्डाको सूर्य–चन्द्र कहाँ कसरी राख्ने भन्ने विवाद पहिलेदेखि नै थियो। झण्डाको तीनकुनालाई कसरी मिलाउने ? चन्द्र–सूर्य कसरी राख्ने ? आदि कुरामा एकरूपता र एकमत थिएन। कम्तीमा दुई हजार वर्ष अघिदेखि चलिआएको परम्परागत झण्डा थियो त्यो। तर दुईवटा साना ठूला तीनकुने, चन्द्र सूर्य पहिलेदेखि प्रयोग हुँदै आएको थियो। परम्पराअनुसार नै यसको रि–डिजाइन गरेको हुँ। मैले यसको पुनर्निर्माण गर्दा चन्द्रमाको अर्थ करुणा र सूर्य भनेको प्रज्ञा रहेछ। जतिसुकै प्रज्ञा भए पनि करुणा नभए त्यस्को काम छैन, त्यसैले पनि करुणा राखियो अनि प्रज्ञा। यसरी सबै कुराको अध्ययन गरेर यसको पुनर्निर्माण गर्ने काम भयो। २०१९ सालमा त संविधानमै छापिएर आयो।

राष्ट्र र राष्ट्रियताका लागि यति ठूलो र महत्त्वपूर्ण काम गरेर पनि शंकरनाथ रिमालको त्यति चर्चा भएन। यसो भनौं, इतिहास बनेर पनि कसैले अत्तोपत्तो नपाएको झण्डाको प्रसंग डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत झण्डा फेर्ने कुरा पनि उठ्यो। त्यो झण्डाको पुन :  ढाँचा तयार गर्ने शंकरनाथ रिमाल हो भनेर अंगुरबाबा जोशीले भनेपछि मात्र धेरैले थाहा पाएका हुन्। त्यतिबेलासम्म धेरै कामलाई मात्र थाहा थियो, नेपालको राष्ट्रिय झण्डाको कथा र यसको डिजाइनबारे। झण्डाको पुन :  ढाँचा गर्न आग्रह गर्न आउनेमध्ये डा. बलराम जोशी (अंगुरबाबा जोशीका पति) थिए। पछि झण्डा 
फेर्ने कुरा भने त्यत्तिकै सेलायो।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको निर्माण  :  इतिहासका साक्षी बनेर आफैं संलग्न भएर अनेकौं सिर्जना र निर्माणमा महत्त्वपूर्ण योगदान दिने शंकरनाथको अर्को उल्लेख्य कार्य नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको निर्माण पनि हो। साहित्य–कलाक्षेत्रको धरोहर यस प्रतिष्ठानको निर्माणका सम्बन्धमा उनी भन्छन्– यस कार्यका लागि सुरुमा १८ लाख रुपैयाँको निकासा भएको र पछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपतिले यस भवनमा हुनुपर्ने आवश्यक चिजबारेमा जानकारी दिँदा त्यस बृहत् कामका लागि भवनको लागत एक करोड पाँच लाख पेस गरें। एक करोड मात्र स्वीकृत भएर आयो। पछि काम सम्पन्न हुँदा ९५ लाख मात्र लाग्यो। राजा महेन्द्रले एकेडेमीको जन्मदिन पारेर यसको शिलान्यास गरेजस्तै उद्घाटन पनि सोही अवसर पारेर गरिएको थियो।

रिमालको अनुभव, सीप, दक्षता, सिर्जनासँगै योगदानको सात दशकले अनेकौं आरोह–अवरोह पार गरेको छ। काम गरे अनुरूप तलब र सुविधा नपाएको मात्र होइन, कतिपय सन्दर्भमा त उनको योगदानलाई समेत सरकारले भुसुक्क बिर्सेका उदाहरण छन्। तर उनले बनाएका फेरि फहराएको राष्ट्रिय झण्डा, उनले ठड्याएको नेपाल प्रज्ञा प्रतिष्ठान, उनले निर्माण गरेका कैयौं सम्पदा, तीर्थस्थल, व्यापारिक केन्द्र अझै पनि राष्ट्रको सानको रूपमा छन्।

देश–विदेशका विभिन्न निकायमा संलग्न रहेर आफ्नो योगदान दिने उनी नेपाल इन्जिनियर एसोसिएसनमा चार कार्यकाल अध्यक्ष रहे। राष्ट्रिय योजना आयोगमा सदस्य भएका उनी भीडीआई (जर्मनी) का सदस्य, डीएआई जर्मनीका सदस्य र फेडरेसन अफ इन्जिनियरिङ इन्स्टिच्युसन अफ साउथ सेन्ट्रल एसियाका प्रतिनिधि सदस्यसमेत रहे। २०१५ सालमा तत्कालीन श्री ५ को सरकारको भवन विभागमा पाँच वर्ष कार्यरत रहँदा नै सहिदगेट बनाउने जिम्मा पनि उनैले पाए। यही सम्बन्धले पनि अरू संरचना निर्माणमा उनी जोडिन पुगे।

null

शंकरनाथ रिमाल

शंकरनाथ रिमालको व्यक्तित्वको अर्को उल्लेख्य पाटो कला सिर्जनाको पनि हो। जीवनको ९० वर्षको उमेरसम्म पनि खटिएर काम गर्दै आएको इन्जिनियरिङ क्षेत्रले उनीलाई प्रतिष्ठाको जीवन बाँच्ने आधार बनिदियो चार दशकअघि थालेको ललितकला क्षेत्रमा अझै सक्रिय हुनुहुन्छ उनी।

चित्रकलामा डुबेका उनी कलाकार  :  गहुँगोरो अनुहार, मझौला कद, शालिन बोली अनि यो उमेरमा पनि काममा खटिने स्वभावका शंकरनाथ रिमालले माया गरेको क्षेत्र चित्रकला नै हो। आफ्नो कार्यालय, कोठा, बैठक, हिँड्ने बाटो यत्रतत्र आफ्ना सुन्दर सिर्जना राखेर त्यसैको रङमा रम्नु उनको दिनचर्या बनेको छ यो उमेरमा। हातमा रङ लिएर क्यानभाससँग साक्षात्कार गर्ने बानी छुटेको छैन। फेरि पनि एकल कला प्रदर्शनी गरौं भन्ने हुटहुटी पनि उत्तिकै छ उनमा।

भन्छन्, पहिले पनि गरेकै हुँ, त्यतिबेला जाँगर थियो। चाहनासँगै समस्या पनि छ। यतिबिध्न कलाकृतिको प्रदर्शन गर्ने थलो यही आफ्नै घर नै हो। प्रदर्शनी गरेपछि बिहानदेखि साँझसम्म हेर्न आउनेहरूलाई समय दिनु परिहाल्यो। अचेल इन्जिनियरिङ क्षेत्रको व्यस्तताले कलाक्षेत्रमा 
त्यति समय दिन सकेको छैन।

५६ वर्षको उमेरमा ललितकला  :  २०४६ सालमा मात्र हो रिमालले यसमा हात हालेको। भन्छन्, प्रसिद्ध कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलजीले सधैं मलाई लौ तपाईं पनि पेन्टिङतिर लाग्नुस् भन्ने गर्नुहुन्थ्यो। उनकै पे्ररणा र प्रोत्साहनले यो क्षेत्रमा लागेको हुँ। धेरै कलाकार एउटै शैलीमा काम गर्न रुचाउनुहुन्छ तर म मन लागेको काममात्र गर्छु। एउटै शैलीमा भन्दा फरकफरक काममा मेरो रुचि छ।

नेपाल आर्ट काउन्सिल र सोसाइटी अफ मोडर्न आर्टिस्ट (शोमा) का संस्थापक सदस्यसमेत रहेका उनी न्यु आर्ट सर्कलको संस्थापक अध्यक्ष हुन्। नेपाललगायत भारत, बंगलादेश, जर्मनी, बेल्जियम आदि देशमा पटक–पटक सामूहिक कला प्रदर्शनी गरिसकेका छन् उनले। कला र वास्तु सम्बन्धमा अनेकौं लेख लेख्ने उनको लुम्बिनी चक्र र श्रीयन्त्रजस्ता गहन र खोजमूलक कृतिसमेत प्रकाशित भइसकेका छन्।

लुम्बिनी चक्र र श्रीयन्त्र पुस्तकका लेखक  :  दुई वर्षअघि प्रकाशमा आएको श्रीयन्त्र पुस्तकको महत्त्व कति छ भन्ने कुरा पुस्तकमा श्री १००८ स्वामी रमणानन्द गिरीले लेखेको भूमिकाबाट स्पष्ट हुन्छ– शिव र शक्तिको देश नेपालमा आद्य शंकराचार्यले श्रीविद्याको पुन :  प्रतिष्ठा गराएजस्तै अर्का शंकरले विश्वलाई श्रीयन्त्रको निर्माणसम्बन्धी ज्यामितीय अनुपात दिएर नेपालको गौरवमय परम्परालाई अगाडि बढाएको देख्दा अत्यन्त हर्ष लागिरहेको छ। शंकरनाथजीको यो प्रयासले श्रीयन्त्रको ज्यामितीय स्वरूपलाई मात्र नभई प्राचीन ऋषिहरूको अकल्पनीय गणितीय क्षमतालाई समेत उजागर गरेको छ।

राष्ट्रको गौरव बढाए, आफू पनि चुलिए  :  देशको गौरवलाई बढाउने, परम्परालाई जोगाउने अनि हाम्रा मूल्यमान्यताको संरक्षणमा सिर्जनाका माध्यमबाट अतुलनीय योगदान दिने शंकरनाथ रिमाल नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत सुप्रबल जनसेवा श्री तृतीयबाट सुशोभित भए। यस्तै, मानक राष्ट्रिय झण्डाका निर्माता, विशिष्ट कलाकार तथा ख्यातिप्राप्त इन्जिनियरको रूपमा नइ कीर्तिनिधि पुरस्कारबाट सम्मानित भए। देशभित्र र बाहिर अनेकौं पुरस्कार सम्मानबाट सम्मानित अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, टीकापुर महोत्सव, २०८० मा भएको सम्मान उल्लेखनीय छन्।

आफैंले सिर्जना गरेका कैयौं महत्त्वपूर्ण संरचनाका कथा र यससँग जोडिएका कुरा अथाह छन्। जीवनको ६ दशकभन्दा बढीको समय यसै क्षेत्रमा लगाएका सक्रिय र सिर्जनशील उनी नौ दशकको उमेर काटिसकेको वर्तमानमा पनि उत्तिकै जाँगरका साथ आफ्नो कर्ममा लागेका छन्। देशको सान र गौरवलाई उँचो पार्ने काममा लागेर इतिहास त बनाए नै, कला–संस्कृतिको क्षेत्रमा पनि त्यत्तिकै योगदान दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.