स्पेनका प्रस्तावित राजदूतले भने : नेपालको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर राष्ट्रलाई लाभ हुने गरी काम गर्छु
काठमाडौं : संसदीय सुनुवाइ समितिमा आज चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । समितिले आज स्पेन, बेलायत, अमेरिका, श्रीलंका लागि प्रस्तावित राजदूतको सुनुवाइ भइरहेको हो।
बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले आफ्नो कार्ययोजना पेस गरेका छन् । १५ पृष्ठ लामो कार्ययोजनामा उनले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिकालगायतका बारेमा आफ्नो प्रस्तुति दिएका छन्।
राजदूतका रूपमा राजनीतिक र कूटनीतिक सम्बन्ध विस्तार गर्ने,आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिमा ध्यान दिने, पर्यटन प्रवर्द्धन, व्यापार प्रवर्द्धन गर्ने, स्पेनमा रोजगारीका लागि पहल गर्नेलगायत कार्ययोजना बनाएका छन्।
कार्ययोजनामा नेपालले भनेका छन्,‘नेपालको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कुटनीतिमार्फत राष्ट्रलाई लाभ हुने कामहरुलाई उच्च प्राथमिकता दिएर काम गर्नेछ । आर्थिक कूटनीतिका क्षेत्रहरु मध्ये व्यापार, वैदेशिक लगानी, पर्यटन र वैदेशिक रोजगारी लगायतका क्षेत्रमा केन्द्रीत रहेर कुशल आर्थिक कुटनीति मार्फत् लगानी र पर्यटक भित्र्याउदै निर्यात प्रवर्द्धन गर्न आफ्नो तर्फबाट विभिन्न प्रयत्नहरु गर्नेछु ।’
गत साउनको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । उनीहरुको सुनुवाई जारी रहेको छ।