श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईले भने : लुम्बिनीको विकासका लागि आर्थिक सहयोग जुटाउँछु
भट्टराईले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए।
काठमाडौं : संसदीय सुनुवाइ समितिले स्पेन,श्रीलंका लगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगायतका प्रस्तावित राजदूतको सुनुवाइ गरेको हो।
सुनुवाईका क्रममा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्ने बताए। लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ। भट्टराईले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए।
गत साउनको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।