शिक्षा प्रणालीको गति
हरेक जातजाति र धार्मिक समुदायको आआफ्ना परम्परा र संस्कृति उनीहरूको ठुलो सिकाइको स्रोत बन्छ। जुन आउने पुस्तालाई हस्तान्तरण हुन्छ।
नेल्सन मन्डेलाले भनेका छन्– अहिलेको समयमा कुनै पनि देश ध्वस्त पार्न परमाणु बम वा आणविक हतियार चाहिँदैनन्, बस् त्यहाँको शिक्षा नीति र प्रणाली ध्वस्त पारिदियो भने आफैं सकिने छ। हो, त्यस्तै भइरहेको छ– हाम्रो देशको शिक्षा प्रणाली। देशले समय समयमा शिक्षा नीति तयार पारेर लागू गरे पनि त्यसको उपयोग भने कछुवाको गतिमा भइरहेको छ। संघीयता आएसँगै देशको शिक्षा प्रणाली र नीति आआफ्नै ढंगले चलिरहेका छन्।
सरकारी विश्वविद्यालय, क्याम्पस तथा स्कुलहरूमा पुरानै शैली हावी छन् भने अन्य गैरसरकारी तथा केही निजी कलेजस्कुलमा विश्वस्तरीय पद्धतिहरूको भरपूर प्रयोग गरेको पाइन्छ। औंलामा गन्न सकिने सरकारी स्कुलहरूले पनि प्रयोगात्मक शिक्षालाई प्रयोग गरी सानैदेखि क्षमतावान् बनाइरहेछन्। आफैं लगाउने आफैं बेच्ने र पढाइ खर्च आफैं धान्ने खालका उदाहरण नभएका भने होइनन्। तर, शिक्षक नै सबैभन्दा ठूलो हो, उनले भनेको सबैले सुन्नुपर्छ र उहाँकै तरिकाले पढ्नुपर्छ भन्ने सोच अब पुरानो भइसकेको छ। शिक्षक एक सहजीकरण गर्ने व्यक्ति हो, जसले आफ्नो ज्ञानलाई विद्यार्थी सामु पुर्याउने गर्छ। विभिन्न पद्धति प्रणालीले सिकाउँछ। सबै शिक्षकले भने गर्न सक्दैनन्।
नेपालमा नाम चलेका स्कुलहरूले जापानी, अमेरिकी तथा युरोपेली शैक्षिक पद्धति अनुशरण गरिसकेका छन्। उनीहरूले हरेक बालबालिकाको क्षमता अनुसार सिकाउने र पढाउने गरेका छन्। सामाजिक कार्यको व्यक्तिवादी सिद्धान्तले पनि त्यही भन्छ कि हरेक मानिस उनीहरूको बुढीऔंलाको छाप जसरी फरक फरक हुन्छन्। एउटा कक्षामा ४० बालबालिका छन् भने चालीस थरी सपना हुन सक्छन्। ४० प्रकारका क्षमता हुन्छन् अनि उनीहरूको हुर्काइ र पारिवारिक परम्परा फरक हुन सक्छ। उनीहरूलाई पढाउने शिक्षक र पद्धति फरक गर्नुपर्ने हुन्छ। कसैले सुनेर बुझ्दैन, कसैले सुनेर त कसैले हेरेर। त्यसैले उनीहरूलाई हरेक क्रियाकलाप गराएर बुझाउनु पर्ने हुन्छ। विभिन्न काममा सहभागी गराएर, देखाएर र आफूले विभिन्न कुराको प्रस्तुति देखाएर सिकाउनुपर्ने हुन्छ।
हरेक जातजाति र धार्मिक समुदायको आआफ्ना परम्परा र संस्कृति उनीहरूको ठुलो सिकाइको स्रोत बन्छ। जुन आउने पुस्तालाई हस्तान्तरण हुन्छ। नियमित योग, ध्यान, विभिन्न चाड हर्षोल्लासका लागि जीवनपयोगी शिक्षा नै मुख्य हतियार हो। बालबालिका पढाइमा मात्र अब्बल हँुदैनन् भन्ने कुरालाई प्राथमिकता दिइएको हुन्छ। त्यसैले उनीहरू यी क्रियाकलापका कारण अघि छन् र बालबालिकामा परिवर्तन भएको अनुभव हुन्छ।
विद्यालयको भौतिक संरचनाभन्दा आन्तरिक क्षमता वृद्धि गर्ने कुरामा जोड गर्नुपर्ने हुन्छ। हरेक हप्ता, महिना आन्तरिक विषय शिक्षकहरू मिटिङ बसी सरसल्लाह सुझाव साटासाट गर्छन् र क्षमता वृद्धि गर्छन्। निरन्तर अभिभावकहरूसँग छलफल गर्छन् तर विभिन्न बहानामा सकेसम्म बैठक छल्छौं। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई आलैपालो प्राचार्य अनि शैक्षिक प्रणाली नीतिनियमलाई दोष दियो, बहाना बनायो, सक्कियो।
शिक्षा नीति २०७६ को उद्देश्यमध्ये एक बालबालिकाको सर्वांगीण विकास र आधारभूत शिक्षा भनेता पनि सो अनुसारको आवश्यकता पूर्ति गर्न नसकेको अवस्था छ। अझै पनि धेरै मात्रामा सरकारी स्कुल लगायत निजी स्कुलहरूमा उही घोकन्ते शैली नै हावी छ। जहाँ हरेक बालबालिकाले पाठ लेख्नै पर्छ, जानी नजानी गृहकार्य गर्नैपर्छ। परीक्षामा पास गर्नै पर्छ। होइन भने उसले केही नजानेको ठहर्छ। सामान्य अर्थमा भन्दा जबर्जस्ती लाद्ने काम गर्छौं। बालबालिका वा मानिसले फरक चाहन्छन्। पहिले पहिले शिक्षकहरूलाई अनिवार्य विभिन्न चरणको तालिम हुन्थ्यो।
ठाउँठाउँमा तालिम केन्द्रहरू हुन्थे, स्रोतकेन्द्रहरू हुन्थे। जसले गर्दा शिक्षकलाई सिकाउने, मनोरञ्जन गर्ने र समय अनुसार परिवर्तन गर्न सिकाउँथ्यो। आजभोलि ती सबै हराइसके। स्रोतकेन्द्र नगरपालिकाको शिक्षा शाखामा विलिन भयो। तालिम केन्द्र प्रदेश संसद् भवनलगायत अन्य अफिसमा परिणत भयो र पहिलेको भन्दा कम प्रशिक्षण हुन थाल्यो। न बढुवाको डर न जागिरको। स्कुल गयो, पढायो अनि फर्कियो। के आयोगको परीक्षा दिएर पास भएर आएका शिक्षकहरू असक्षम हुन् त ? कि हाम्रो शिक्षण पद्धति कमजोर हो ? अनेकौं प्रश्न विचारयोग्य छन्।
त्यसैले बालबालिकाको इच्छाचाहना बुझेर संस्कृति परम्पराहरूलाई प्राथमिकतामा राखेर सिकाउन सकियो भने केही परिवर्तन हुन्छ नै। बालबालिका आफ्ना कार्यमा व्यस्त भयो भने उसले हल्ला पनि गर्दैन र अरूलाई ‘डिस्टर्ब’ पनि गर्दैन। यदि बालबालिका न समाजसँग नजिकिने, न परिवारसँगै न त साथीसँग नजिकिने। यसो हो भने भविष्यमा युरोपेली शैली हावी हुनेछ। त्यसैले देशको कला, संस्कृति, परम्परा र हरेक जीवनोपयोगी कुरामा जोड गर्नुपर्ने हुन्छ।
कुनै बालबालिका पढाइमा कमजोर होला तर ऊ गीत गाउन, नाच्न, खेल्न निकै अगाडि हुनसक्छ। कक्षा सातसम्मको पाठ्यक्रममा केही सुधार गर्नुपर्ने देखिन्छ। स्कुल जानेबित्तिकै पास हुनुपर्ने, घन्टौंसम्म होमवर्क गर्नुपर्ने र रुमभित्र मात्रै सीमित रहने पद्धति शिक्षक र अविभावक दुवैले त्याग्न जरुरी छ। २१औं शताब्दीसम्म आइपुग्दा शिक्षामा हरेक कुरा परिवर्तन भइसकेको छ। एउटा किताब पास हुनु ठूलो होइन, जीवनका हरेक कुरामा पास हुँदै अगाडि बढ्नु पर्छ। पढ्न नसक्नेहरूले पनि अनेकौं क्षेत्रमा अतुलनीय योगदान गरेका छन्। इन्द्रेनीका रंगसरी जीवनमा हरेक पल रंगीन छ र बनाउन सक्नुपर्छ।
हामीले जीवन जिउने कला, तनाव व्यवस्थापन, शारीरिक तथा मानसिक स्वास्थ्य, स्थानीय कलासंस्कृति, व्यक्तित्व विकास, अन्तरनिर्भर, कृषि, व्यापार लगायतमा जोड गर्न सक्नुपर्छ। होइन भने हामीले मानव रोबर्ट तयार कहिलेसम्म गर्ने ? यसको औचित्य कहिलेसम्म ? परीक्षामा ‘ए–प्लस’ ल्याउनेहरू कोरिया, जापान जाने वातावरण कसले सिर्जना गरिरहेको छ ? किन बस्ने देश ? किन खाने जागीर ? ‘देशले केही दिए पो मैले केही दिने देशलाई’ भन्ने गलत भाष्यले जरा गाडिरहेको छ युवालाई। चाहेर नचाहेर यसरी खाली हुँदैछ देश। खाली हुनेछ कला, संस्कृति र परम्परा अनि देश रिमिक्स हुनेछ, बिना सिद्धान्तको बिना नीतिको खोक्रो।