वैदेशिक लगानीको समस्या समाधानका लागि छलफल हुँदै
काठमाडौं : नेपालमा वैदेशिक लगानीमा देखिएका समस्या समाधानका लागि शुक्रबार छलफल हुने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले वैदेशिक लगानी सम्बन्धी चार विषयमा छलफल हुने उपाध्यक्ष अनुप नेपालले जानकारी दिए।
उनका अनुसार वैदेशिक लगानीमा संलग्न लेखा तथा कानुनी परामर्शदाताले नेपालमा लगानीको तयारीको अवस्था, वैदेशिक लगानीकर्ताको अपेक्षा, पूर्वाधार विकासका लागि उपलब्ध वित्तिय उपकरण र दीर्घकालीन पुँजी परिचालनका लागि आवश्यक विशेष सार्वजनिक निकायहरुको महत्वका बारेमा छलफल हुनेछ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय वित्तिय निगमका नेपाल प्रमु्ख, राष्ट्रिय योजना आयोगका सदस्य, आई.आई.डि.एस.का कार्यकारी प्रमुख, भारतको एस.बि.आई क्यापसका प्रतिनिधि, पावर फाइनान्स कर्पोरेसन भारतका सिनियर जिएम, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्षलगायत उपस्थित हुने संघले जनाएको छ।
कार्यक्रममा नेपालमा देखिएको पूँजी परिचालनको समस्या, उपभोगमा भएको रिमिटेन्सलाई लगानीमा रुपान्तरण गर्ने अन्तर्राष्ट्रिय उदाहरण तथा नेपालले अबलम्बन गर्ने सक्ने विकल्प आदि विषयमा समेत छलफल गरिनेछ।
कार्यक्रमको निष्कर्षलाई भविष्यमा नेपालमा वैदेशिक लगानिको नीति तर्जुमा गर्न सहयोग होस् भन्ने उद्देश्यले प्रतिवेदन तयार गरी नेपाल सरकारका विभिन्न निकायलाई समेत पेश हुनेछ।