विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुग्यो
काठमाडौं : देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित) विवरण अनुसार साउन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो।
गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर थियो। त्यसमा २.५ प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति दुई खर्ब आठ अर्ब ७९ करोड रुपैयाँ छ।