यी नदीमा बाढीले खतरा तह पार गर्ने चेतावनी
काठमाडौं : अत्याधिक वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गर्ने चेतावनी दिइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी, बागमती, पश्चिम राप्ति, बबईमा बाढीले शनिबार खतरा तह पार गर्ने चेतावनी दिएको हो।
विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषतः नारायणीको देवघाट, बागमतीको पधेरादोभान, पश्चिम राप्तिको कुसुम र बबईको चेपाङमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा शुक्रबार सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले खतरा तह पार गर्नसक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ।