भजन गाइसकेपछि बस्नेतले कार्यक्रममा उपस्थित सबैलाई स्टेजबाट प्रतिप्रश्न गरे, ‘यो भजन अहिलेको अवस्थासँग मिल्दैन ? भयंकर मिल्छ। गीतै हरायो। कसैले बजाएनन।’
लोकगीत भन्नेबित्तिकै कुमार बस्नेत (८२) को नाम जोडिइहाल्छ (जसले आधुनिक, पपगीत पनि गाएका छन्)। भैरव नृत्य दलको समयमा नृत्यकारको समेत परिचय बनाउने बस्नेतले कर्मचारी सञ्चय कोषमा पनि तीन दशकभन्दा लामो समय बिताए। उनै लोकगायक बस्नेतको दिमागमा नेपालको एक युगको लोकगीत, कला, संस्कृति, इतिहास, जीवनशैली, समाजलगायतका विविध विधा तथा क्षेत्रसँग सम्बन्धित धेरै कुरा/अनुभव/संस्मरण सञ्चित छ।
२०७३ मंसिर २५ गते शनिबार नेपाल पर्यटन बोर्डको हलमा श्रुति संगीत विद्यालयको १३औं वार्षिकोत्सवको सन्दर्भ पारेर ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन तथा श्रुति संगीत सम्मान समारोह’को आयोजना गरियो। मञ्चमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संगीतकार दीपक जंगम, शिलाबहादुर मोक्तान, गीतकार डा. भोला रिजाल, शंकरप्रसाद कोइराला, निर्देशक राजेन्द्र शलभ, गायिका कुन्ती मोक्तान, संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाललगायत थिए भने हलमा नेपाली गीतसंगीत, कला–साहित्य, सञ्चारलगायतका क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वको उपस्थिति थियो।
श्रुति संगीत सम्मानबाट गीतकार राजेन्द्र शलभ, गायिका कुन्ती मोक्तान, गायक रामकृष्ण ढकाल, संगीतकार आलोक श्री, गायक कृष्ण काफ्लेलगायतलाई सम्मान गरिसकेपछि स्टेजमा गायकगायिका तुलसी पराजुली, कृष्ण काफ्ले, अमृत क्षेत्री र जूना प्रसाईं, तिलकबम मल्ल तथा नरहरि प्रेमीले क्रमशः ‘तिम्रो बाउलाई सलाम छ’, ‘कलियुगको बेलैमा’, ‘ए भीमेश्वरको मेला’, ‘दन्तैमा नानी दन्तैमा’, ‘दिउँला यो जोवन तिमीलाई दिउँला’ र ‘छोरीभन्दा आमा तरुनी’ बोलका गीत प्रस्तुत गरे। उनीहरूको प्रस्तुति पछि स्टेजमा बोल्ने पालो थियोः लोकगायक कुमार बस्नेतको। (कार्यक्रममा बस्नेतलाई राष्ट्रकविको बाहुलीबाट ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ गरिएको थियो)। मुख्यतः लोकगीतबाट नेपालीमाझ चिनिएका बस्नेतले त्यसपछि भजनको प्रसंग निकाले।
म ‘इन्टरनेसनल गाइने’लाई स्वागत गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद। सबैको फलोस्, फुलोस्। नेपालीहरूले मीठो भात, तिउन खाएको दिन म पनि आनन्दसँग सुत्न पाऊँ।’
बस्नेतले भने, ‘म हजुरहरू जस्तै गाउँको मान्छे। कोही पनि गीत गाउन आएपछि पपुलारिटीमा आउन त खोज्छ, राम्रै होस् भनेर। त्यसपछि कताबाट कताबाट मैले एउटा भजन खोजें (दर्शक हाँसो...) लास लाने बेला त भजन चाहियो। (फेरि दर्शक हाँसो...) मैले पनि भजन खोजेँ र एउटा भेटेँ। तर थाहा छ कि छैन होला सायद नेपालमा एकपल्ट पनि बजेन। (दर्शक हाँसो...) भयंकर राम्रो छ। अहिलेको परिप्रेक्ष्यमा पनि मिल्छ। पछि मेरो लास लाँदा पनि बजाउन मिल्छ। बिजु बज्राचार्य (स्व.)ले म्युजिक गरेको थियो। त्यो कहाँ गयो ? पछि त्यसैलाई गाली गरें। (दर्शक हाँसो...) मैले गाउने कुरा त गाइदिएको हो है।’
भजन कस्तो थियो भने –
लान पाउँदैनौ दाजै लान पाउँदैनौ
घरमा राखेको नोटको बन्डल लान पाउँदैनौ
लान पाउँदैनौ दाजै लान पाउँदैनौ
मोटर चढी स्वर्गतिर जान पाउँदैनौ
हरियो बाँसमा हाल्छन्, घाटतिर लान्छन
आगोमा हाल्छन्, घोची घोची बाल्छन्।
लान पाउँदैनौ दाजै लान पाउँदैनौ
घुस खाको पैसा बोकी जान पाउँदैनौ।
भजन गाइसकेपछि बस्नेतले कार्यक्रममा उपस्थित सबैलाई स्टेजबाट प्रतिप्रश्न गरे, ‘यो भजन अहिलेको अवस्थासँग मिल्दैन ? भयंकर मिल्छ। गीतै हरायो। कसैले बजाएनन।’ उनले यो प्रसंग सुनाएको लामो समयपछि अर्थात् २०७६ कात्तिक ८ गते शुक्रबार सोही भजनको रिमेक भर्सन युट्युबमा सार्वजनिक गरियो। भजन पुरानो भर्सनमा जति मिठास सुनिएको छ, नयाँमा त्यति छैन। बस्नेतलाई नै फिचर्ड गरिएको भजनको चर्चा नभए तापनि उनले नेपालमा एकपटक पनि नबजेको भनेको भजनले भने नयाँरूप पायो। यस बारेमा पंक्तिकारले २०७९ असोज ३१ गते गायक बस्नेतलाई उनकै निवासमा भेटेर सोही भजन र यसको पृष्ठभूमिका बारेमा प्रश्न राख्दा उनले यस भजनको निर्माणको कथा विस्तृतमा बताए।
बस्नेतका अनुसार २०४६÷०४७ सालताका एकदिन बस्नेतसँगै हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, किरण केसी, गायक प्रकाश श्रेष्ठलगायत कार्यक्रमका सिलसिलामा भैरहवामा थिए। त्यहीबेला कुराकानीका क्रममा किरण केसीले भजनको प्रसंग निकाले र भने, ‘कुमार दाइ, तपाईं कुनै दिन मर्न पर्छ। मरिहाल्नु हुन्छ। मरेपछि त तपाईंको लास लानुपर्यो हामीले पशुपतितिर। जलाउनु पर्यो। हामीले के भनेर लाने ? छोरीभन्दा आमा तरुनी भनेर लाने ? तरुनीका मात्र गीत गा’छ तपाईंले।’ केसीको यस भनाइले बस्नेतलाई सोचनीय बनायो। काठमाडौं फर्केर आइसकेपछि बस्नेतले संगीतकार बिजु बज्रसँगको छलफलपश्चात् उहाँसँगकै सहकार्यमा भजन गीत गाए। ‘यो बिजुकै स्टुडियोमा रेकर्ड गर्यौं। रेकर्ड गरेर सुन्दै जाँदा त मान्छेको ‘ब्रेन’ ‘वास’ गरेको जस्तो भयो। बिजु यति खुसी भयो कि ! विचरा बिजुसँग यही गीतमा काम गरेँ’, उनले भने।
बस्नेतले थपे, ‘गीत त भजन हो। कसैले यो दृश्य (मृत्युको दृश्य) हेर्न चाहँदैन। मलाई पनि भोलि त्यो पर्छ (मर्नुपर्छ) भनेर त कसैले सोचेको छैन नि भनेर हानेँ (भजन गाएँ)। यो (भजनका शब्द) हामीले कसैले मनन् गरेनौं। मान्छेलाई बुद्धि राम्रो आओस् भनेर मैले गरेको हो। सबैभन्दा दुःखको कुरा त मिडियामै बजेन। मैले गाएको पहिलो र अन्तिम भजन नै यही हो। यो पछि मैले ‘ट्राई’ नै गरिन।’
बस्नेतले सुनाएको भजनको सो प्रसंगका बारेमा प्रश्न गर्दा केसीले बस्नेतलाई यात्राका क्रममा आफूले सो कुरा सोधेको बताए। ‘मैले सोधेको हो। दाइ ! नारायणगोपाल मर्दाखेरी ‘म मरे पनि...’ भन्ने गीत, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता गीत बजाएर लगे। एकदिन त तपाईं हामी मर्छौं–मर्छौं। तपाईंलाई लोकसम्राट् भन्या छ। तपाईं मर्दा के गीत बजाएर लाने त दाइ ? ‘आमाभन्दा छोरी तरुनी’, ‘लप्सीको गेडो चुसेर...? ’ एउटा भजन गाउनुहोस् दाइ राम्रो, मीठो। तपाईं शालीनताको गीत गाउनुस् भनेर भन्या हो। ल म त्यसै गर्छु भनेर भन्या हो दाइले।’,
उनले उसबेलाको कुरा सम्झँँदै भने।
त्यतिबेला उनीसँगै मदनकृष्ण, हरिवंश, राजारामलगायत ‘रिमोट कन्ट्रोल’ भन्ने प्रहसन देखाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका देशका प्रमुख सहरहरूमा पुगेका थिए। ‘दाइ त आगै बाल्नु हुन्थ्यो। कुमार दाइको जब नाम लिइन्थ्यो, हलै फुट्ने गरी ताली बज्थ्यो। त्यो बेलाको सम्मान भनेको आत्मीय सम्मान थियो। उहाँ बहुत रमाइलो मान्छे। आँखामा राखे पनि नबिझाउने खालको हाम्रो कुमार दाइ।’ केसी सम्झन्छन्।
यसरी बस्नेतले स्टेजमा आफ्ना भावना तथा सम्झना प्रस्तुत गर्ने सिलसिलामा अर्को प्रसंग अर्थात् ‘छु मन्तर’ गीतको प्रसंग निकाले। भने, ‘२०२२ सालतिर एउटा गीत गाएको थिएँ। त्यो गीतको अनुसन्धान गरेर पूरै गीत गाउन मन लाग्या छ। सायद म मरेर गइहालुँला, कुनै दिन सम्झिनुहोला। मायाप्रीतिका गीत छन्। शास्त्रीय, लोकगीत, भजन, गजल के–के छन् के–के ? तर, यो ‘छु मन्तर’का गीतहरू थिएनन्। मलाई पनि थानकोटमा बस्ने झलकबहादुर भन्ने दाइले सिकाइदिए।
त्यसपछि त्यसको ‘रिसर्च’ गर्न थालें। त्यसै गीत गाएर नि भएन।’
यसपछि उनले गीत सुनाए ः
‘मुसालाई खोर थापी, चरीलाई पासो
दुम्सी पार्नु दर्जन भन्थे बल्छी थापी माछो
मनपरेकी तरुनीको पैतालाको माटो
पीपलको पातमा राखी सिन्दूर अविर हाली
टुनामुना लाउनु भन्थे वीर मसान भाकी
लौन है जोगी, लौन है फकिर लगाइदेऊ मोहनी
फूल मन्तरेर देखाइदिउँला,
ऐना मन्तरेर टक लगाइदिउँला
खानापिना छोडौली, नुहाउन धुवाउन छोडौली
(त्यति हुँदा पनि आइनन् भने तीन महिनापछि
त बहुलाउली)२
हनुमन्ते घाटको करविर मसान (सबभन्दा शक्तिशाली मसान), ओखलढुंगा बस्ने एक्ले वीर मसान कालमोचन घाटको कर वीर मसान, भा (...) जंगल घुम्ने पाङ्ग्रे वीर मसान (५२ वीर मसान ढाकी कुखुराको कालो भालेलाई भाकी लगाइदेउ मोहनी)।।
यसपछि प्रसन्न मुद्रामा देखिएका बस्नेतले भने, ‘खासगरी आज तपाईंहरूले यति सम्मान दिनुभयो। यति माया गरेर सबै कलाकारले बजाइदिएर म ‘इन्टरनेसनल गाइने’लाई स्वागत गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद। सबैको फलोस्, फुलोस्। नेपालीहरूले मीठो भात, तिउन खाएको दिन
म पनि आनन्दसँग सुत्न पाउँ।’
म हजुरहरू जस्तै गाउँको मान्छे। कोही पनि गीत गाउन आएपछि पपुलारिटीमा आउन त खोज्छ, राम्रै होस् भनेर। त्यसपछि कताबाट कताबाट मैले एउटा भजन खोजें (दर्शक हाँसो. . .)