चाडबाडको मुखमा बाढी–पहिरोको चपेटामा मुलुक
८७ जनाको मृत्यु, ७२ जना बेपत्ता, पहिरोले अधिकांश स्थानमा सडक अवरुद्ध
एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एकेडेमीमा शनिबार बिहान आएको पहिरोमा पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानका छोरा अनुप घलान रहेको पुष्टि भएको छ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार, अन्य मृतक विद्यार्थीको पहिचान खुल्न बाँकी छ। प्रारम्भिक जानकारीअनुसार बेपत्ता विद्यार्थीमा मकवानपुरका दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एस्पी सीताराम रिजालका अनुुसार मृत अवस्थामा फेला परेका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं स्थित शिक्षण अस्पताल लगिएको छ। कुलेखानी ड्यामको पानी खोलेपछि सिस्नेरी खोलामा बाढी आएको र विद्यार्थीहरू सुरक्षित स्थानतर्फ भाग्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ। आयोजनाले भने एक दिनअघि नै ड्याम भरिन लागेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सचेत गराएको थियो।
एकेडेमीमा ४० विद्यार्थी अध्ययनरत थिए। एन्फाले गत वर्षदेखि उक्त स्थानमा रहेको श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गरी विद्यार्थीलाई नियमित अध्ययनका साथै फुटबल प्रशिक्षण दिँदै आएको थियो।
कुलेखानी जलाशयको ढोका खोलियो
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाधको ढोका खोलिएको छ। अविरल वर्षाको कारण कुलेखानी ड्याम भरिएपछि शुक्रबार रातिबाटै साइरनसहित ओभरफ्लो गराइएको थियोे। बिहान ५ः४० बजे ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए। कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीहरूमा बाढीको प्रभाव परेको छ। यसअघि ०५० सालमा पनि जलायशको ढोका खोलिएको थियो।
राजधानी काठमाडौं जोड्ने सबै सडक अबरुद्ध
राजधानी काठमाडांै जोड्ने सबै सडकमार्गहरू बन्द छन्। पहिरोका कारण हेटौंडा र काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्गहरू शनिबार बन्द भएका छन्। बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथको भीमफेदीस्थित बगुवा खोलाको पुल बाढीले बगाएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए। साथै कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको मकवानपुर प्रहरीले जनाएको छ।
भीमफेदी कुलेखानी सिस्नेरी (दक्षिणकाली–काठमाडौँ), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। कुलेखानी फाखेल काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ। कुलेखानी मातातीर्थ काठमाडौंमा पनि पहिरोले सवारी आवागमन ठप्प छ। सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक खण्डको सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ। त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ। दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाइ छ। प्रदेशभरिका बिभिन्न राजमार्गका ३७ स्थानमा बाढी पहिरोले क्षति पुर्याएर बाटो अवरुद्ध रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
काभ्रेमा १० को मृत्यु १९ बेपत्ता
अविरल वर्षाले काभ्रेमा शनिबारसाँझसम्म दश जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परेर १९ जना अझै बेपत्ता रहेको र १६ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुवँरले जानकारी दिए।
तेमाल गाउँपालिका–२ मा डडेन पाखामा गएको पहिरोले एकै परिवारका ८ जनाको मृत्यु भएको वडा अध्यक्ष देव लामाले जानकारी दिए। घर माथिबाट आएको पहिरोले एकै घरका सबै ८ जनाको मृत्यु भएको थियो। पहिरो आएको ठाउँमा बाटो अवरुद्ध रहेकाले उद्धारका लागि ढिला भएको वडा अध्यक्ष लामाले बताए।
बाढी पहिरोबाट १६ जना घाइतेको जिल्लाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काभ्रे हुँदै चल्ने बीपी राजमार्ग र अरनिको राजमार्ग पूर्ण बन्द छन। हजारौं यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बीपी राजमार्गको रोशी गाउँपालिका बिभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोमा बिपि राजमार्गमा रोकिएका यात्रुहरूलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत चाउचाउ लगायत तत्कालको लागि खाद्यान्न बाँडिएको रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले जानकारी दिए। जिल्लाका बनेपा, धुलिखेल र पनौती बाढीले डुबान भएका छन्।
पाँचथरमा ५ जनाको ज्यान गयो, ६ जना बेपत्ता
अबिरल वर्षासँगै आएको बाढी पहिरोले पाँचथरमा बितण्डा मच्चाएको छ। बाढी पहिरोमा परी हालसम्म ५ जनाको ज्यान गएको छ। ६ जना बेपत्ता छन। दर्जनौ घरपरिवार बिस्थापित भएका छन् भने पुल र सडकहरू ध्वस्त भएका छन्। सडक र पुल अबरुद्ध भएपछि जिल्लामा यातायात ठप्प छ।
पहिरोमा परी मृत्यु हुनेमा फिदिम १२ घर भई फिदिम ४ चिसापानिमा बस्दै आएकी २४ बर्षीया सपना शेर्पा, उनकी ४ वर्षीया छोरी डोल्मा शेर्पा छन्।
त्यस्तैगरी फिदिम १ कात्तिकेका ५० वर्षीय गोपी विश्वकर्मा, फिदिम–८ भोटेगाउँकी ८२ वर्षीया पश्चिमा शेर्पा र फिदिम–२ मजिटेकी ३५ वर्षीया रञ्जना राईको पनि मृत्यु भएको छ।
फेमोखोलास्थित हाइड्रोमा काम गर्ने गोपी विश्वकर्मा लगायत ६ जना खोलामा पानीको बहाब बढेपछि माथितिरको एक घरमा आएर बसेका थिए। त्यतिबेलै पहिरोले घर बगाउँदा विश्वकर्माको मृत्यु भएको हो। उनी फिदिमबाट सञ्चालित इगल एफएममा कार्यरत पत्रकार चिरञ्जीवी विश्वकर्माका बुबा हुन्।
गोपी सँगै घरमा बसेका धनकुमार तुम्बापो, राजेश तुम्बापो, उनकी श्रीमती सरस्वती तुम्बापो, कृष्ण दास र कमला दास पहिरोले घर पुरिँदा बेपत्ता भएका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–५ की ३६ बर्षीया कमला राईलाई स्थानीय तारेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएकी छिन्। बेपत्ताहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए।
अबिरल वर्षासँगै आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरस्थित हेंवाखोलाको बेलिब्रिज, फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलाको मोटरेवाल पुल र जिल्लाको फालेलुङ ५ र ६ जोड्ने पक्कि पुल पनि बगाएको छ । फालेलुङका अधिकांश पुल बाढीले बगाएको स्थानीय सन्देश राईले जानकारी दिए।
पाँचथरमा भारी वर्षा अझै रोकिएको छैन। पछिल्लो २४ घन्टामा पाँचथर सदरमुकाम फिदिममा १७२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सप्तकोशीमा ५६ वर्षपछिकै उच्च बहाब
सप्तकोशी नदीमा ५६ वर्षयता पानीको बहाब उच्च भएको छ। सन् १९६८ मा सप्तकोशी नदीमा पानीको बहाब प्रतिसेकेन्ड ७ लाख ७७ हजार २ सय क्युसेक पुगेको थियो। शनिबार प्रतिसेकेन्ड ५ लाख ५७ हजार ३० क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता एवं डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। पानीको बहाब प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि ‘खतरा’ मानिन्छ। कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ति बालिएको छ।
लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाब ५६ वर्षपछि बढेको उनको भनाइ छ। पानीको बहाब बढेर १८ नम्बर ढोकाको पुलमाथिबाट बग्न थालेको छ। पानीको बहाबले सतह पार गरेपछि कोशी ब्यारेजमा यातायातका साधन संचालनमा रोक लगाइएको डीएसपी भण्डारीले बताए। कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्।
सप्तरी र सुनसरी जिल्लाको बीचमा रहेको कोशी ब्यारेज पानीको बहाबले हल्लाउन थालेको छ। जसका कारण यातायातका साधन आवतजावतमा रोक लगाइएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। पानीको बहाब बढेपछि बाढीबाट हुने सम्भाबित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। उनले सप्तकोशी आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरि जनताको जिउधनको सुरक्षा गर्न टोली परिचालन गरिएको बताए।
श्रीलंका टापुमा १७ जना अलपत्र
सुनसरीको बराहक्षेत्रको वडा नम्बर ६ को ठाकुरबारीमा गोठालो गएका १७ जना बाढीका कारण अलपत्र परेको स्थानीय सन्तोषचन्द्र बङ्सीले बताएका छन। सप्तकोशीको बीचभागमा पर्ने श्रीलंका टापुमा गाई–भैंसी, गोरु, बाख्रा र खसी पालेर बसेकाहरू अलपत्र परेका हुन्। सप्तकोशी नदीको बाढीले श्रीलंका टापु डुबानमा परेपछि उनीहरू अलपत्र परेका हुन्। अलपत्र परेकाहरूलाइ सकुशल उद्दार गर्न सकिएको छैन। बाढीमा फसेकाहरूलाइ उद्धार गर्न हेलिकप्टर झिकाएको भए पनि प्रतिकूल मौसमका कारण उद्दार गर्न नसकिएको डीएसपी भण्डारीले बताए।
सप्तकोशी नदीमा पानीको बहाब उच्च भएका कारण सुनसरीको श्रीलंका टापु डुबानमा परेको छ। बाढीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय त्रसित भएका छन। ०६५ भदौ ५ गते राति सप्तकोसी नदीले पूर्वी तटबन्ध कटान गर्दा सप्तकोशी नदीमा पानीको बहाब १ लाख ६८ हजार क्युसेक रहेको थियो। त्यतिबेला सुनसरीको साबिकका हरिनगरा, श्रीपुर, हरिपुर र भ्यान्टाबारीमा हजारौं बिघा खेतीयोग्य जमिन कटान गर्नुका साथै ५ हजार सर्वसाधारणको घर बगाएको थियो। कोशी सम्झौताअनुसार भारतले पश्चिमतर्फ सप्तकोशीमा बाध नबाँधेपछि यस क्षेत्रमा बर्सेनी सयौ घरपरिवार बिस्तापित हुनु परेको कांग्रेस बराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठले बताए। उनले सप्तकोशी पीडितहरूलाइ भारतले क्षतिपूर्ति नदिएका कारण पीडितहरूले कस्टकर जीवन बिताउन बाध्य हुनुपरेको बताए। कोशी सम्झौताअनुसार सप्तकोशीबाट बिस्तापित भएकाहरूलाई भारत सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ।
रोशी र कोशीको बीचमा फसेकाको ३० घण्टापछि उद्धार
लगातारको वर्षातसँगै आएको बाढीले रोशी र सुनकोसी नदीको विचमा करिब ३० घण्टादेखि फसिरहेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। रोशी र सुनकोशी नदीमा लगातार पानीको बहाव बढेका कारण स्थलमार्गबाट कठिनाइ भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सिन्धुलीका सांसद राजन दाहालले जानकारी दिए।
सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको आदि लिंगेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ बटुकसहित ३३ जना रोशी र सुनकोसीको बीच भागमा शुक्रबार दिउँसोदेखि फसेका थिए। ‘३३ जनालाई नै हेलिकप्टरमार्फत उद्धार गरेर सुनकोसी गाउँपालिका १ कै गजुरी दहमा सुरक्षित स्थानमा सारिएको छ,’ सांसद दाहालले भने।
रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण कुशेश्वर दुम्जामा रहेको आदि लिंगेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ जना बटुक, ३ जना शिक्षक, २ जना कर्मचारी र अन्य दुई जना गरी ३३ जना शुक्रबार दिउँसोदेखि बाढीमा फसेका थिए।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार शुक्रबार दिउँसो बाढी बढिरहेका कारण समस्या थियो र राति बत्तीको समस्याका कारण उद्धार गर्न कठिनाइ भएको थियो। रोशीमा आएको बाढीले मन्दिर प्रवेश गर्ने मार्ग बगाएर पूर्णरूपमा क्षति पुर्याएको छ।
यस्तै रोशी खोलामा आएको बाढीले पाँच घर बगाएको छ। स्थानीय पार्वती श्रेष्ठको साढे दुई तलाको पक्कीघर शुक्रबार आएको बाढीले बगाएको छ। यस्तै प्रमिला श्रेष्ठ, ज्ञानीमाया तामाङ, माया तामाङ र ठूलाकान्छा तामाङको घर तथा होटल र किराना पसल बगाएर पूणरुपमा क्षति भएको छ। त्यस क्षेत्रका आधादर्जन बढी घरहरू जोखिममा परेका छन्।
सिन्धुलीको कमला, मरिण, सुनकोशी र बागमती नदी तटिय क्षेत्रमा त्रास बढेको छ। बाढीको सतह बढ्दै जाँदा नदी किनारामा बस्ने स्थानीयमा त्रास बढेको हो।
फोक्सीनटारको आर्क पुल नै बगायो सुनकोशीले
उदयपुर र खोटाङ जिल्लालाई जोड्ने फोक्सिङटारको पक्की पुल सुनकोशी नदीले वगाएको छ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुल कोशीको बाढीले बगाएको हो।
लगातारको वर्षाले सुनकोशीमा पानीको वहाव बढेपछि पुलको बीचको भाग सबै बगाएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। दिउँसो ३ः३० बजे नदीले पुल बगाएको बताए। सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएपछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल १० वर्ष लगाएर निर्माण गरिएको थियो।
स्थानीयका अनुसार १ सय २० मिटर लम्बाइ रहेको पुलको एक सय मिटर भाग बगाइसकेको छ। खोटाङ सदरमुकाम दिक्तेल र पूर्वी भागका सर्वसाधारणलाई संघीय र प्रदेश राजधानीसँग जोड्ने गरी दुई वर्षअघि पुल निर्माण सम्पन्न भएको थियो।
पुल बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात सम्र्पक टुटेको छ। स्थानीय प्रशासनले पैदलयात्रीलाई समेत रोक लगाएको छ।
तानसेनको देउराली बस्ती जोखिममा
तीन दिनदेखि परेको अविरल वर्षाको कारण तानसेन नगरपालिका–५ स्थित कैलाशनगर देउरालीबस्ती जोखिममा परेको छ। पहिरोले १५ घरबस्ती बगाउने जोखिम बढेको छ। बस्तीको मुनिबाटै लेदो सहितको पहिरो झरेको छ। पहिरो ँंगै पानीको मुल बगेकोले झनै जोखिम बढाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनिधीहरू बस्ती क्षेत्रमा पुगेर पहिरो क्षेत्रमा त्रिपाल ढाकेर रोक्ने प्रयास गरे पनि जोखिम कम नभएकाले १५ घर बस्तीका मानिसहरू यत्रतत्र सरेका छन। बस्ती जुनसुकैवेला पनि बग्न सक्ने अवस्था रहेकोले सरसामान सहित बासिन्दाहरू घर छोडेर छिमेकीहरूको शरणमा पुगेका छन्। पहिरो पीडितलाई तानसेन नगरपालिकाले जनप्रतिनिधिमार्फत त्रिपाल व्यवस्थापन गरेको छ। सिद्धार्थ राजमार्गको बर्तुङलामडाँडा क्षेत्रमा पनि सडक विस्तारको क्रममा सडक माथीका घरहरू पहिरोको जोखिममा परेका छन।
५ वटा पालिकाको पानी पाल्पाको अन्नभण्डार मानिने माडी फाँटमा एकत्रित हुँदा अधिकाश क्षेत्र डुवानमा परेको छ। अविरल वर्षाको कारण पानी निकास नहुँदा माडी फाँट डुवानमा परेको हो। डुवानबाट सयौं हेक्टरमा लगाइएको धान खेतीमा नोक्सानी पुगेको छ।
यस्तै, पाल्पामा शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन सकेको छैन। बुटवलबाट आउने ३३ केवीको प्रशारण लाईन पाल्पाको बसन्तपुर झुम्सा क्षेत्रमा समस्या आएकोले मर्मतको लागि कठिनाई भएको नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ। बसन्तपुर क्षेत्रमा मर्मतको लागि ३ घण्टा उकालो हिँडेर जानुपर्ने अवस्थाको कारण काम गर्न कठिनाई भएको पाल्पा वितरण केन्द्रले जनाएको छ। पाल्पा वितरण केन्द्रले बुटवल क्षेत्रको प्रशारण लाइन सुचारु नहुँदा सम्मको लागि गुल्मी क्षेत्रको लाईन वितरणका लागि प्रयास गरिरहेको जनाएको छ।
तानसेन–पोखरा सडक अवरुद्ध
सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक खण्डको अगाँहा खोला क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। पहिरोबाट झरेको लेदो २० घरमा पसेको छ। पहिरोले एक सवारी साधनको एक भाग पुरिएको अवस्थामा रहेको छ। सडक डिभिजन कार्यालय पाल्पाले लोडर स्काभेटरको प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।
भक्तपुरमा डुबान
शुक्रबार देखि परेको अबिरल वर्षाका कारण हनुमन्ते खोला, मनोहरा खोला र सहायक खोलाहरूले सतह पार गरेपछि भक्तपुरका बिभिन्न स्थान डुबानमा परेका छन। हनुमन्ते खोला, मनोहरा खोला र सहायक खोलाहरूले सतह पार् गरेपछि भक्तपुर जिल्लाका ४ ओटा नै पालिकाका बिभिन्न स्थानमा बाढी पसेर जलमग्न भएको छ।
भक्तपुर नगरपालिकाको बाराही स्थान, लिवालीस्थित भित्री सडक खण्ड,राम मन्दिर, टुरिजम मार्केट, हनुमान घाट, सिद्धि स्मृति अस्पताल आसपासका क्षेत्र डुबानमा परेका छन्।
त्यसैगरी मध्यपुर थिमि नगरपालिकाका कौशलटार, कौशलटारस्थित सागबारी क्षेत्र, लोकन्थलीस्थित लघलेश्वर खोला किनार बस्ती र राधे राधे क्षेत्र डुबानमा परेका छन् भने चांगुनारायण नगरपालिकाको वडा नम्बर २ स्थित कासंखुसी पुल वरिपरिका स्थान डुबानमा परेका छन। त्यस्तै सूर्यविनायक नगरपालिकाका दधिकोट स्थित सिर्जनशील टोल, मगरगाउँ, गोदावरी खोला किनारको बस्ती क्षेत्र, वडा नंबर २ र ३ बालकोट क्षेत्र जलमग्न भएको छ।
भक्तपुरमा हनुमन्ते र मनोहरा खोला मुख्य खोलाको रूपमा बग्ने गर्छन्। हनुमन्ते, मनोहराबाहेक घट्टे खोला, गोदावरी खोला, खास्राङ खुस्रुङ खोला सहायक नदी हुन्। भक्तपुर जिल्ला प्रशासन कार्यालयले डुबानका कारण ५ जनाको मृत्य भएको जनाएको छ। भक्तपुर जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मृत्यु हुने व्यक्तिमा १ गर्ववती महिलासहित ५ जना रहेको बताईन। यस्तै ५६ जना उद्धार गरिएको छ। जसमा १ घाइते छन्। घाइतेको भक्तपुरको दुधपाटी स्थित भक्तपुर अस्पतालमा उपचार भईरहेको श्रेष्ठले जानकारी दिइन्। डुबानमा परेका बिभिन्न स्थानमा उद्धारका लागि स्थानीय सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटेको थियो।
डुबानका कारण डुबान भएका क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ। सहरी क्षेत्रमा सञ्चालित बिभिन्न ब्यापरिक घर, पसल, सटरहरूमा खोला पसे पछि लाखौंको धनमाल क्षति भएको छ। बस्तीमा बाढी बसे पछि अधिकांस घरको भुइँ तला पानीले भरिएका छन। नदीको जलसतह पार गरेपछि आसपासका कृषि बालीहरू पूर्णरूपमा नष्ट भएका छन।
बीपी राजमार्ग पूर्णरूपमा अबरुद्ध
बिहीबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले पक्की सडक नै बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अबरुद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपाल थोकनजिक रोशी खोलाले विपी राजमार्ग भत्काएर क्षती पुर्याएको छ।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार उक्तस्थानमा झन्डै ५० मिटर सडक रोशीको बाढीले पूर्णरूपमा बगाएको छ। सडक डाइभर्सन नबनाएसम्म कुनै पनि सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नरहेको उनले जनाए।
यस्तै बीपी राजमार्गको नेपालथोक, आँपघारी, भ्याकेरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षति पुर्याएको छ। यि स्थानमा सडक डाइभर्सन गर्न पनि केही दिन लाग्ने छ।
‘खोला तथा नदीमा बाढी कम नभएसम्म डाइभर्सन बनाउन सक्ने अवस्था छैन। डाइभर्सन बनाउन पनि केही दिन लाग्छ। सडक पूर्णरूपमा सडक मर्मत गर्न कम्तीमा छ महिना लाग्ने अवस्था आएको छ,’ स्थानीयले भने।
यस्तै मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गसमेत बाढी र पहिरोका कारण अबरुद्ध भएका छन्। मदन भण्डारी राजमार्गको सिन्धुलीमाढी–हरिहरपुरगढी खण्डमा समेत पहिरो खस्दा समस्या आएको छ भने मध्यपहाडी लोकमार्गमा समेत पहिरो खस्दा सडक अबरुद्ध भएको स्थानीयले जनाएका छन्।
राजमार्गहरू अबरुद्ध हुँदा सिन्धुलीमाढी र खुर्कोटमा सवारीसाधन रोकिएका छन्। राजमार्ग अबरुद्ध हुँदा बिहिबारदेखि सयौं सवारी साधन र हजारौं यात्रुबीच सडकमै अलपत्र परेका छन्। उनिहरूलाई सुरक्षित स्थानमा बस्न र सवारी साधनलाई सुरक्षित गर्न प्रहरीले आग्रह गरेको छ।
सौराहा जलमग्न
बाढीले पर्यटकीय नगरी सौराहा डुवानमा परेको छ। राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट र आसपासका होटल डुवानमा परेका छन्। राप्ती नदी, बुढी राप्ती, ढुंगेखोला र चित्रसारी पुलले सौराहा घेरिएको छ। शनिबार बिहानको वर्षात र बाढी सौराहा डुबेको थियो। बाढीको खतरा देखेपछि ब्यवसायीले सामान भने सुरक्षित स्थानमा राखेका थिए। करिब १० वटा रेष्टुरण्टले नदी किनाारमा बनाएका मचान पनि बाढीले बगाएको छ। बाढीका कारण नदी क्षेत्र मात्रै डुबानमा परेको क्षेत्रीय होटल संघका पूर्वसचिव दामोदर रेग्मीले बताए। राप्ती नदीमा ड्याम लगाएको भएपनि पानीको वहाव बढेको कारण बाढी आएको हो। बाढीले समान्य क्षति पुर्याएको रेवा सौराहाका पुर्व अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। नदी किनार डुबानमा भएपनि सौराहा सुरक्षित रहेको क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले बताए।
रत्ननगरका मेयरले नै उद्धार गरे दुई महिनाका बालक
रत्ननगरको रमाइलो बस्तीमा शनिबार बिहान तीन बजेदेखि बाढी पस्न सुरु भयो। खगेरी खोलाको दोभानमा रहेको रमाइलो सुकुम्बासी बस्तीमा डुबान बढ्दै गएपछि मानिसहरू त्रसित थिए। ज्यान जोगाउन नजिकैको साुमदायिक भवनको माथिल्लो तल्लामा बसेका थिए। बिहानसम्म कोही सम्पर्कमा आएका थिएनन्। नगरका बासिन्दा बिचल्लीमा परेको थाहा पाए, रत्ननगरका मेयर प्रल्हाद सापकोटाले । मेयर सापकोटाले आफैं पौडिने सुरु गरे। आत्तिएका नगरवासीको उद्धारमा तत्कालै उद्धार गर्न उनी पौडिएरै पुगे।
पौडिएर पुगेका सापकोटाले आमाको पोल्टामा रहेकी १० महिनाकी बालिका देखँे। सामुदायिक भवनमा बस्नेमा दुई महिनाकी सुत्केरी आशिका चौधरी पनि थिइन्। चिसोमा कठाङ्ग्रिएर बसेकी आशिकाको पोल्टामा थिए, दुई महिनाको छोरा साइमन चौधरी। मेयरले आमाको पोल्टाबाट साइमनलाई समाते र उद्धारमा लागे।
तत्काल उनले डुंगाा खोजे। मेयर पौडिन थालेपछि वडा अध्यक्ष सजना महतो, पत्रकार होमनाथ सापकोटा र स्थानीय सोनाम तामाङ पनि मेयरसँगै पौडिन थाले। उनीहरूले १ सय २५ जनाको उद्धार गरेर सुरक्षित स्थानमा पुर्याए। केहीलाई डुंगामा र हात्तीको प्रयोग गरेर बाहिर ल्याइयो। उद्धार गर्नेमा मेयर सापकोटा पनि सक्रिय रूपमा लागेका थिए। ‘डुबानमा परेर क्लब घरमा बसेको थाहा पाएपछि जतिसक्दो उनीहरूसमक्ष पुग्नु थियो। आत्तिएर डराएर बसेको थाहा पाएँ। जतिसक्दो छिटो पुग्नपर्छ भनेर डुंगा कुर्न नलागी अरू केही नसोची पौडिन थालें,’ सापकोटाले भने, ‘त्यहाँ पुगेपछि पहिलो नजर नै चिसोमा दश महिनाकी बालिका देख्दा झन् नरमाइलो लाग्यो। जनता भगवान हुन्। त्यसैले भगवान् आपतमा पर्दा मैले आफैंलाई बिर्सिएँ।’
साइमनका बुवा गोविन्द चौधरीले मेयर सापकोटाले गरेको कामको प्रशंसा गरे। ‘एउटा मान्छे पौडिदै को आयो भन्ने लाग्यो। तर, मेयर नै आएको देख्दा सुरुमा पत्यार नै लागेन। अचम्म लाग्यो,’ गोविन्दले भने, ‘सुरुमै बच्चा समाएर छिटो उद्धार गरौ भनेर लाग्नुभयो। हाम्रो लागि जे गर्नुभयो साह्ै खुसी छांै।’
उनीहरूलाई सौराहास्थित ग्रिन सोसाइटी नेपालले राखेको छ। सौराहामा सुरक्षित स्थानमा लगिएको छ। महिला र बालबालिका गरेर १ सय २० जनालाई राखिएको सोसाइटीका महासचिव शीरलाल परियारले बताए।
सिन्धुलीमा दुईको मृत्यु
सिन्धुलीमा बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख –एसपी) गोविन्दराज काफ्लेका अनुसार बाढीले बगाउँदा एक जना पुरुष र पहिरोका कारण एक जना बालकका ज्यान गएको हो। जिल्लाको कमलामाई नगरपालिका–९ भिमानस्थित सुके खोलाले बगाउँदा ४६ वर्षका कृष्णबहादुर बोगटीको मृत्यु भएको हो।
काफ्लेका अनुसार बोगटीलाई शुक्रबार राति ८ बजेतिर खोला तर्ने क्रममा बाढीले बेपत्ता बनाएको थियो। ‘बेपत्ता बोगाटीको शनिबार बिहान सुकेखोलाको दोभानमा शव भेटिएको हो,’ उनले भने।
सुकेखोलामा पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ। बीपी राजमार्गको सिन्धुली–बर्दिबास खण्ड अन्तरगत पर्ने उक्त खोलामा हालसम्म पुल छैन। यस्तै घरमाथीबाट पहिरो आएपछि भाग्ने क्रममा सुनकोशी गाउँपालिका १ का १२ वर्षको बालकको मृत्यु भएको छ। बालक घरमाथीबाट आएको पहिरोबाट बच्न भाग्नेक्रममा पहिरोमा परेका हुन्।
उत्तरी गोरखामा हिमपात, त्रिशूलीले पुल र हाइड्रोपावरमा क्षति
बेमौसमको झरीले गोरखाको तल्लोभेगमा बाढी पहिरोको बितण्डा छ भने उत्तरी गोरखामा हिमपात भएको छ। तल्लो भेगमा बाढीले झोलुङ्गे पुल, सुपर त्रिशूली जलविद्युत् आयोजनास्थल बगाएको छ भने चुमनुब्री १ साम्दोमा झण्डै एकफिट हिउँ परेको स्थानीयको भनाइ छ।
साम्दोमा शुक्रबार रातिदेखि हिमपात भएको त्यहाँस्थित बोर्डर आउटपोस्ट(बीओपी)का प्रमुख विश्वराज त्रिपाठीले जानकारी दिए। ‘शनिबार कतै आधाफिट, कतै एकफिट हिउँ पर्यो’, उनले भने, ‘जाडो बढेपछि जनजीवन प्रभावित भएको छ। घरबाहिर कोही निस्केका छैनन्। सुनसान जस्तै बनेको छ।’ लार्केपास गर्ने पदमार्ग हिउँले ढाकेपछि लार्केपास गर्न साम्दो पुगेका विदेशी पर्यटक पनि रोकिएको उनले बताए।
बिओपी कार्यालयका सशस्त्र प्रहरीले हिउँ पन्छ्याएर बाटो खुलाउने प्रयास गरिररहेको उनले बताए।
मनास्लु क्षेत्रमा पर्ने साम्दो समुद्री सतहदेखि ३८७७ मिटर(१२,७१३ फिट) उचाइमा रहेको गाउँ हो। यो सिजनमा विदेशी पर्यटकहरू साम्दो हुँदै हिउँ लार्केपास यात्रा गर्ने गर्दछन्। हिमपात भएपनि पर्यटकहरू भने सुरक्षित छन्। उनीहरू रमाउँदै तस्वीर लिइरहेको बीओपी साम्दोका प्रमुख इन्स्पेक्टर त्रिपाठीको भनाइ छ।
ठूलो वर्षापछि त्रिशूली नदीमा आएको बाढीले गोरखा र पृथ्वीराजमार्ग जोड्ने एउटा पुल बगाएको छ भने अन्य तीन फुल काम नलाग्ने गरी क्षतिग्रस्त पारेको छ। साथै त्रिशूलीको बाढीले सय मेगावाटको सुपरत्रिशूलीको निर्माण स्थलमा राखिएका तीनवटा ट्रिपर, दुईवटा एक्साभेटर र एउटा ब्याक हो लोडर बगाएको छ।
सहिद लखन गाउँपालिका ४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुलजीपसहित बगाएको प्रहरीले जनाएको छ। त्यस्तै सहिद लखन ४ सिलिङ र पृथ्वीराजमार्ग जोड्ने, गण्डकी गाउँपालिका ६ को हिक्लुङ र पृथ्वीराजमार्ग जोड्ने र गण्डकी गाउँपालिका ७ धवादी र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल बाढीले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
‘सुपर त्रिशूली हाइड्रोपावरको कार्यक्षेत्रमा रहेको बाग्मती प्रदेश ०३–००१ क ६८५ नंबरको ट्रिपर, मधेश प्रदेश ०३–००१ ख ७५४२ नम्बरको ट्रिपर, मधेश प्रदेश ०३–००१ ख ७५४८ नंबरको ट्रिपर, बा २ ख १४२७ नम्बरको जेसिबी र दुइटा नम्बर खुल्न नसकेका एक्साभेटर बगाएको छ’, डीएसपी श्रेष्ठले भने, ‘त्यस्तै चारवटा झोलुङ्गे पुलको स्पान बाढीले लछारेर क्षतिग्रस्त बनाएको छ।’
त्यस्तै बाढी पहिरोले चुमनुब्री २ स्योमा एक स्थानीयको घर बगाएको छ। शनिबार बिहान सातबजेतिर आएको पहिरोले स्यो रिपगाउँका छिरिङ लामाको घर बगाएको वडाअध्यक्ष मिङ्ग्युर दोर्जे लामाले जानकारी दिए।
पहिरोले घरभित्र रहेका सबै सामग्री पनि लगेको उनले बताए। त्यस्तै ल्हो र स्यालाको बीचमा झरेको पहिरोले विद्युत् प्रशारण लाइनका चारवटा पोल र तार पनि क्षतिग्रस्त बनाएको छ। शुक्रबार साँझतिर पहिरोले पोल ढलाएपछि विद्युत प्रशारण लाइन अबरुद्ध बनाएको अध्यक्ष लामाले बताए। विद्युत् अबरुद्ध भएपछि ल्हो, स्यो, ल्ही, स्याला र हिनाङका २ सयभन्दा धेरै घरधुरी अन्धकारमा बस्न बाध्य भएका उनको भनाइ छ।
पासाङल्हामु मार्ग अवरुद्ध, जालपादेवी जलमग्न
तीन दिनदेखि परेको अविरल वर्षाका कारण पासाङल्हामु मार्ग अन्र्तगत काठमाडौं–ककनी–त्रिशूली सडकखण्ड अवरुद्ध भएको छ। सो सडकमार्गको ककनी गाउंपालिका १ मा पहिरो गएर पासाङल्हामु मार्ग अवरुद्ध भएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले वताए। निरन्तर वर्षात्का बीच पनि पहिरो पन्छाउने कार्य भइरहेको छ। बाढी र पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
पहिरोले नुवाकोटका झन्डै एक दर्जन स्थानमा विभिन्न सडकहरू अवरुद्ध भएका थिए। बाढीपहिरोले किस्पाङ गापा ५ मा रहेको एउटा रिसोर्ट वगाएको छ। बाढी पहिरोले स्थानीय जलविद्युत् योजनाका संरचनाहरूमा समेत क्षति पुर्याएको छ। बाढीपहिरोले अन्य दुई घर पुरिएको नुवाकोट प्रहरीले जनाएको छ। बेलकोटगढी नपा ७ स्थित भवनेश्वर खतिवडाको दुई तल्ले घर पहिरोमा परेको छ।
पहिरोमा परी ४० वर्षीया सरस्वती खतिवडा घाइते भएको डीएसपी भारतीले जानकारी दिए। खतिवडाको चार बाख्रा, दुई गाइसमेत पहिरोमा पुरिएर मरेका छन्।
पहिराले ककनी गापा ४ सिस्नेरीमा ४० वर्षीया सुनिता तामाङको एक तल्ले घर वगाएको छ। ककनी १ मा घरटहरो बगाउँदा रामबहादुर वलामीका चारवटा वाख्रा मरेको प्रहरीले जनाएको छ। त्रिशूली र तादी नदीमा आएको बाढीले विदुर नपा ५ देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर जलमग्न भएको छ। दुई नदीको संगमस्थलमा मन्दिर रहेको र बाढी आएको कारण मन्दिर जलमग्न हुनुका साथै भौतिक संरचनाहरूमा क्षति पुगेको छ। त्रिशूली नदीमा बाढी आउँदा विभिन्न सामानहरू ओछ्याउने म्याट, कपडाहरू, ग्यास सिलिण्डर, ठूलाठूला रुख तथा अन्य सामानहरू वगाएर ल्याएको स्थानीय प्रत्यक्षदर्शी प्रज्वल सापकोटाले बताए। त्रिशूली नदीमा ३० वर्षपछि यति ठूलो बाढी आएको बुढापाकाहरू बताउँछन्।
उदयपुरका तीनवटै लोकमार्ग अबरुद्ध
लगातारको वर्षाका कारण उदयपुरका प्रमुख तीनवटै लोकमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। सिद्धिचरण, मदन भण्डारी र सगरमाथा लोकमार्गका विभिन्न खण्डमा क्षति पुर्याउँदै सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीका अनुसार सबैभन्दा बढी सिद्धिचरण लोकमार्गमा क्षति पुगेको छ। पहिरो पन्छाउन सडक डिभिजनसँग समन्वय भएपनि पानी नरोकिएकाले सुचारु गर्न कठिनाइ भएको उनले बताए।
सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डको उदयपुरको कटारी नगरपालिका ८ गेरुडाँडा, वडा नम्बर १४ को चनौटेमा सडक माथिको लेदोमाटो पहिरोमा परिणत हुँदा बिहानैदेखि सडक अवरुद्ध भएको उनले बताए।
त्यस्तै सोही लोकमार्गको कटारी नपा २ स्थित अमाही खहरेखोलामामा आएको बाढीले कटारी–बेलसोत सडकखण्ड अबरुद्व भएको छ। अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी राखे पनि पानी नरोकिएकाले सुचारु गर्न नसकिएको एसपी योगीले बताए। यसैगरी मदन भण्डारी लोकमार्गको बेलका नपा ४ लालबजारस्थित सिसुवा खोलामा बाढी आउँदा आवतजावत गर्ने कजवेमा रोक लगाइएको छ। खोला तर्नेक्रममा कजवेमा चिप्लियर लड्ने खतरा बढेकाले रोक लगाइएको उनले बताए।
त्यस्तै सगरमाथा लोकमार्गको रानीबास–फोक्सीन्टार खण्डमा ठाउँठाउँमा पहिरो गएको समाचार प्राप्त भएको छ। जताततै पहिरोले सडक अवरुद्ध हुन थालेपछि यात्रुलाई हुन सक्ने जोखिम, अलपत्रलाई मध्यनजर गरी ट्राफिक प्रहरीको सहायतामा जिल्ला प्रहरी कार्यालयले हेल्पडेक्स स्थापना गरी सवारी साधन आवतजावतमा रोक लगाउन अनुरोध गरिएको एसपी योगीले बताए। प्रहरी हुन सक्ने सम्भावित जोखिम ठाउँमा आवतजावत रोक लगगाउँदै स्थानीयलाई सचेतना जगाएको छ।
मुख्य लोकमार्ग सँगै ग्रामीण सडकहरूसमेत अवरुद्ध भएका छन्। पानीले ठाउँ–ठाउँका ग्रामिण सडकहरू कामै नलाग्ने गरी भत्काएपछि सबै सडकहरू अवरुद्ध भएका हुन्। चाडँपर्व नजिकिदैगर्दा सडकहरू कामै नलाग्ने गरी भत्किन थालेपछि सर्वसाधरणमा चिन्ता बढेको छ।
सप्तकोशीले उदयपुरतर्फको बाँध भत्कायो
उदयपुर र सुनसरीको सिमानाबाट बग्ने सप्तकोसी नदीले उदयपुर खण्ड कटान गर्न सुरु गरेको छ। तीन दिनदेखि परेको नरोकिएपछि नदीले उदयपुरको बेलका नगरपालिका ८ सोमबारेबाट कटान सुरु गरेको हो।
दैनिकजसो पानीको वहाव बढेपछि नदीले सोमबारे नजिकको शिशौलीघाटको करिव २५ मिटर बाँध कटान गरेको जिल्ला प्रहरी कायालयका प्रमुख एसपी हरीहरनाथ योगीले बताए। नदी कटानले करिव बीस घरमा क्षति पुग्ने देखिएको उनले बताए।
उनले भने, ‘नदी बस्तिमा पस्ने खतरा बढेकाले सुरक्षित स्थान्तरण र नियन्त्रणका लागि स्थानीय तह र विपद्व्यवस्थापन समितिसँग समन्वय भइरहेको छ। कटान गरेको खवर पाए लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा १० जना र अस्थाई प्रहरी पोष्ट कोठुका प्रहरी सहायक निरीक्षक आदित्य तिवारिको नेतृत्वमा ३ जनाको प्रहरी टोली परिचालन गरिएको उनले बताए।
एसपी योगीले संभावित हुने विपद्लाई मध्यनजर गरी जिल्लामा २५ जना र इलाका प्रहरी कार्यालय रामपुर, बेल्टार र कटारीका दश जनाका दरले गरी ५५ जना सुरक्षाकर्मी उद्धार सामग्रीसहित तैनाथ अवस्थामा राखिएको बताए।
वर्षा नरोकिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवश्थामा राखेको जनाएको छ। अझै पानी केही दिन पर्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी नदी आसपास र कमसल माटो भएको भिरालो जग्गामा पहिरो जानसक्ने खतरा रहेकाले सुरक्षित भएर बस्न प्रशासनले आग्रह गरेको छ।
मुक्तिनाथ र कोरला सडक अबरुद्ध
शुक्रबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण मुक्तिनाथ र कोरला सडक अवरुद्ध छ। सडक माथिबाट पहिरो खस्ने र सडक भासिने समस्याका कारण मुक्तिनाथ सडक र कोरला सडक अवरुद्द बनेको हो। मुस्ताङका सहायक प्रजिअ रामप्रसाद सुवेदीका अनुसार कोरला नाका जोड्ने स्याङ्चेमा र कागखोलामा वर्षाले सडक क्षति भएको छ। “स्याङ्वचेमा पहिरो खसेर सडक अवरुद्ध छ,कागखोलामा पुल छैन, खोलो उच्छ छ, सहायक प्रजिअ सुवेदीले भने, मुक्तिनाथ जाने कागबेनी देखि माथिको स्थानमा वर्षाले सडक क्षति पुर्याएको छ।’
निरन्तरको वर्षाले कालीगण्डकीको वहाव उच्च भएको र तटीय क्षेत्रका बस्तीलाई सावधानी अपनाउन अनुरोध गरिएको सहायक प्रजिअ सुबेदीले बताए।
अबिरलको वर्षाका कारण मुक्तिनाथ दर्शन गर्ने र कागबेनी श्राद्ध गर्न आउने भक्तजनका साथै विदेशी पर्यटकसमेत समस्यामा परेका छ्न। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा बिहीबारदेखि अवरुद्ध छ। पर्यटक अनुकूल समयका साथै दसैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा अबिरल वर्षाले मुस्ताङको पर्यटन प्रभावित बनेको होटल मेजस्टिका सञ्चालक निसान तुलाचनले बताए। यस्तै वर्षाले मुस्ताङबाट स्याउ ढुवानी गरी बजार पुर्याउन अप्ठ्यारो परेको छ। मुस्ताङ प्रशासनले वर्षा नरोकिएसम्म मुस्ताङ भ्रमण नगर्न अपिल गरेको छ।
कालुपाण्डे सडक अवरुद्ध
धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ६ बजेतिर घरमाथिबाट पहिरो खस्दा थाक्रे गाउँपालिका– ६ महादेवबेंसीका ४५ वर्षीय सानु राईको मृत्यु भएको प्रहरीले बताएको छ। यसैगरी धादिङको सदरमुकाम धादिङबेंसीलाई पृथ्वीराजमार्गसँग जोड्ने कालु पाण्डे राजमार्ग पहिरोले अवरुद्ध भएको छ। धादिङको नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साँघुटारमा सडक माथीबाट खसेको ढुंगा माटो सहितको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ। त्यस क्षेत्रमा सवारी आवागमन पुर्ण रुपले अवरुद्ध छ। ढुंगा र रुखहरू खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकाले जोखिम अत्याधिक रहेको प्रहरीले जनाएको छ।
गोरुसिंगे–सन्धिखर्क सडक अबरुद्ध
अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिराले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ। गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शीतगंगा नगरपालिका र शीतगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिरोले शुक्रबार रातिदेखि सडक अबरुद्ध बनेको हो।
जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपन कार्कीले बताए। सडक अबरुद्ध बनेपछि यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्। गाडी सडकमै रोकिएका छन्।
सन्धिखर्क ढोरपाटन सडक बैकल्पिक बाटो पनि अबरोध भएको छ। सन्धिखर्क गोरुसिङ्गे सडक खन्डको सन्धिखर्क ६ जगतादेखि नरपानि सम्म १२ ठाउँमा पहिरोले बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। नरपानि बाट असइको कमाण्डमा ४ जना जेसिवी सहित खटिएर काम सुरु भएको प्रहरीको भनाइ छ। शीतगंगा नगरपालिका १२ बसेरीदेखि शीतगंगा २ सीतापुरसम्म ३ ठाउमा बाटो अबरोध भएको छ। यस्तै सितगंगा १२ हिलेखोलाको अवरोध हटाउन पनि प्रहरी खटिएका छन।
एक बालिकाको मृत्यु
अबिरल वर्षा सँगै आएको बाढीले शनिबार उदयपुरमा एक बालिकाको ज्यान गएको छ।
रौतामाई गाउँपालिका १ स्थित ओडारे खोलामा आएको बाढीले बगाएर सोही वडाको माझखर्ककी अन्दाजी १५ वर्षीया हिसिला तामाङको ज्यान गएको हो।
घाँस काटेर घर फर्कने क्रममा दिउँसो बगाएको वडाअध्यक्ष रुद्र कार्कीले जानकारी दिए। उनको शव बगाएको केही तल फेला परेको स्थानीय गन्जु शेर्पाले जानकारी दिए। घटनाको जानकारी आए पनि घटनास्थल बिकटक्षेत्र भएको र भेलबाढीले सडक अबरुद्ध भएकाले जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राजधानीमै ३४ को मृत्यु
उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा सुरु भयो। बागमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका नदी÷खोला नै बस्तीमा पसेपछि घर टहरा भत्किए। बाढी र डुबानमा परी ३४ जनाको ज्यान गयो। बल्खु क्षेत्रमा सबैभन्दा बढी क्षति भयो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार अविरल वर्षाले सबैभन्दा बढी क्षति ललितपुरमा गरेको छ। उनका अनुसार बाढी र डुवानका कारण ललितपुरमा मात्रै १८ जनाले ज्यान गुमाए। १५ जना बेपत्ता छन्। ८ जना घाइते छन्। यस्तै बाढीमा फसेका ५ सय ७१ जनाको उद्धार गरिएको छ। बाढी र डुवानका कारण काठमाडौंमा ११ जनाले ज्यान गुमाए। २ जना बेपत्ता भएका छन् भने १० जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
१ हजार १ सय ६० जनाको सकुशल उद्धार गरिएको छ। बाढीले भक्तपुरमा ५ जनाको मृत्यु भयो। २ जना घाइते छन् भने ५६ जनाको उद्धार गरिएको छ।
उपत्यकाका खोलाकिनारका बस्तीहरू डुबानमा परेका थिए। गृह मन्त्रालयका विपद् तथा द्वन्द्व महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन्। काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भीमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको ।
त्यस्तै, बीपी राजमार्ग, मध्यपहाडी, पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर सवारी साधन र यात्रु सडकमै रोकिएका छन्। भुसाल भन्छन्, उपत्यकामा धेरै पानी परेको र रातिको समयमा डुवानमा पर्दा क्षति बढी भएको हो। उपत्यकाको नदी किनारमा बस्ती भएको र उनीहरूलाई तत्कालै स्थानान्तरण गर्न नसक्दा क्षति बढी भएको हो।
उपत्यकाका खोलाकिनारका बस्तीहरू डुबानमा परेका थिए। गृह मन्त्रालयका विपद् तथा द्वन्द्व महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन्। काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भीमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको ।
त्यस्तै, बीपी राजमार्ग, मध्यपहाडी, पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर सवारी साधन र यात्रु सडकमै रोकिएका छन्। भुसाल भन्छन्, उपत्यकामा धेरै पानी परेको र रातिको समयमा डुवानमा पर्दा क्षति बढी भएको हो। उपत्यकाको नदी किनारमा बस्ती भएको र उनीहरूलाई तत्कालै स्थानान्तरण गर्न नसक्दा क्षति बढी भएको हो।
२३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका २३ राजमार्ग अवरुद्ध छन्। ती राजमार्गका ६४ स्थानमा पहिरो र सडक भासिएको छ। मुलुकमा ८० राष्ट्रिय राजमार्ग छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षाका कारण राजधानी जोड्ने लाइफलाइनका रूपमा रहेको नागढुंगा–नौबिसे–मुग्लिन सडकको विभिन्न स्थान अवरुद्ध छन्।
मन्त्रालयले पानी पर्न कम भएपछि नागढुंगा मुग्लिन सडकको धादिङको कमेरे, मलेखु, शीतलाबजार लगायतका स्थानका अबरोध हटाइ सवारी आवागमन सञ्चालनमा आएको जानकारी दिइएको छ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलतर्फ रोकिएका यात्रुवाहक तथा मालवाहक सवारीसाधानहरूलाई निर्माणाधीन सुरुङमार्गको सुरुङ प्रयोग गरी काठमाडौं भित्राउने कार्यमा सहजीकरण गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। मुग्लिन–पोखरा सडकखण्ड तथा मलेखु–मुग्लिन नारायणघाट सडकखण्डका पहिरोहरू पन्छाइ सडक सुचारु गरिएका छन्।
बीपी राजमार्गको भुरुंगे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मंगलटार लगायतका विभिन्न स्थानमा भएका अवरोधलाई हटाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
पुष्पलाल मध्यपहाडी राजमार्गको सिन्धुलीको रिठ्ठावोट, फिक्कल, कुखुरेटार र खोटाङको खोक्सेली लगायतका स्थानमा भएको अवरोधलाई छिट्टै खुलाउनेतर्फ प्रयत्न भइरहेको मन्त्रालयले जानकारी दिएको छ। यसका साथै, कान्तिराजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया कटारी घुर्मी, सहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझण्डी सन्धिखर्कलगायतका सडकका विभिन्न स्थानमा आएका पहिरोलाई हटाइ छिट्टै यातायात सुचारु गर्ने प्रयास भइरहेको छ।
अविरल वर्षाले विभिन्न स्थानका बेलिब्रिज पनि बगाएको छ। मेची राजमार्गको हेवा खोलाको बेलिब्रिज र अरनिको राजमार्गको लार्चास्थित बेलिब्रिज पूर्णरूपमा बगाई आवागमन अवरुद्ध भएको छ। दोलखा र रामेछाप जिल्लालाई तराईका जिल्लासँग जोड्ने लाइफ लाइनको रुपमा रहेको खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्णरूपमा क्षति भएको छ। क्षति भएका स्थानमा यथाशक्य छिटो बेलिब्रिज जडान गरी यातायात सुचारु गर्ने प्रयत्न गरिने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय राजमार्गमा भएका अवरोधहरू हटाउने कार्यमा सडक विभागका हेभि मेसिन तथा जनशक्तिहरू पूर्ण क्षमतामा परिचालन गर्ने भन्दै मन्त्रालयले नपुग मेशिनहरू भाडामा लिई छिटोभन्दा छिटो अवरुद्ध राजमार्गहरू खुलाउने जनाएको छ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी–पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन्। अबिरल वर्षापछि आएको बाढी–पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुलसमेत बगाएकाले सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उनले निर्देशन दिएका हुन्।
मन्त्रालयका सचिव केशवकुमार शर्माले देशैभरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभागमार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिए। पहिरो पन्छाइ सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उनले जनाए।
धादिङको पहिरोमा पुरिएको माइक्रोबाट १४ जनाको शव निकालियो
धादिङको झ्याप्लेमा पहिरो आउँदा १४ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका दुई माइक्रोबसबाट १४ जनाको शव निकालिएको हो।
प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले दुई यात्रुवाहक सवारीसाधनबाट १४ जनाको शव निकालिएको जानकारी दिएका छन्। उनका अनुसार लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र नम्बर नखुलेको बसबाट ९ जनाको शव निकालिएको हो।
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
सर्लाहीका बस्तीमा पस्यो बागमतीको बाढी
अबिरल रूपमा परेको पानीका कारण सर्लाहीका ५ वटा स्थानीय तहका केही वडामा नदीको पानी पस्न थालेको छ।
बागमती नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बलरा नगरपालिका, बरहथवा नगरपालिका, रामनगर गाउँपालिका र बसबरिया गाउँपालिका वडाहरूमा पानी पस्न थालेको छ। त्यसैगरी झिमखोलामा आएको बाढी ब्रह्मपुरी गाउँपालिकाको त्रिभवननगरमा पानी पस्न थालेको छ।
बलर नगरपालिकाको वडा नं. १ छन्की टोल, वडा नं. २ हथिऔल र वडा नं. ३ र ९ का केही घरमा पानी पसेको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले जानकारी दिएका छन्। करिब सय घरमा पानी पसेको कुशवाहाले बताएका छन्। बसबरिया गाउँपालिकाको वडा नं. १ र २ मानपुरमा पनि बागमती नदीको पानी पसेको छ। बरहथवा नगरपालिकाको वडा नंं १५ मा बाँध कटान गरी पानी बस्तीमा पसेको स्थानीयवासीले बताएका छन्। बागमती नदीको बाँँध माथिबाट पानी बस्ती तिर पस्न थालेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्।
झिमखोलामा आएको बाढी साँझपख ब्रह्मपुरी गाउँपालिकाको त्रिभूवननगरमा पसेको प्रजिअ अधिकारीले बताएका छन्। बसबरियाको १० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको अधिकारीले बताए। बाढीले गर्दा जिल्लामा कुनै मानविय क्षति अहिले सम्म नभएको र केही घरहरूमा पानी पसेको अधिकारीले बताए।
अहिलेसम्म ठूलो क्षति भएको छैन्। रातमा पानी पर्यो र नदीमा पानीको बहाव बढी भयो भने ठूलो क्षति हुन सक्ने सम्भावना रहेको प्रजिअ अधिकारीले बताए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा बचाउका लागि तयारी अवस्थामा रहेको अधिकारीले बताएका छन्।
बाढीले गर्दा जिल्लाका केही ग्रमिण क्षेत्रका बाटोहरू अबरुद्ध समेत बनेको छ।
घाइतेको निःशुल्क उपचार
सरकारले बाढी–पहिरोमा परी घाइते हुनेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तै निर्णय गरेको हो। बैठकले बाढी–पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय गरेको छ। त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी–पहिरोको नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई दिनुपर्ने क्षतिपूर्ति कानुन मुताबिक चाँडै प्रबन्ध गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै भारी वर्षाका कारण पैदा भएको समस्यालाई मध्यनजर गर्दै हाल जारी भएका परीक्षाहरू स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ। अवरूद्ध रहेका टेलिफोन, बिजुलीका लाइनहरू सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ।
‘खानेपानीका पाइपहरू पनि भत्किएका छन् । सम्बन्धित मन्त्रालयहरूले आफ्नो ठाउँबाट जे समस्या पैदा भएका छन् त्यसमा समन्वयात्मक ढंगले समाधान गर्नका लागि पहल गर्ने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने।
समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपीएफ र गृह मन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि सरकारले अनुरोध गरेको छ।
विपदमा उद्धारका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न बैठकले निर्दशन दिएको छ।
कृष्ण सारु मगर/हेटौंडा
रोजन तामाङ/काभ्रे
भीमकुमार बाँस्कोटा/फिदिम
रत्नप्रसाद आचार्य/धरान
भरत खड्का/उदयपुर
राजन गाउँले/सिन्धुली
शिव उप्रेती/गोरखा
कृष्ण पोखरेल/तानसेन
अनिल ढकाल/सौराहा
देवचन्द्र भट्ट/नुवाकोट
सुन्दरकुमार थकाली/जोमसोम
प्रेमनारायण आचार्य/अर्घाखाँची
विकाश रौनियार/धादिङ
सरोज पौडेल/हेटौंडा
सुनिल ठाकुर/मलंगवा
अजवी पौड्याल/काठमाडौं