विवाह भएको एक महिनामै श्रीमतीसँगै झ्याप्लेखोलामा अस्ताए प्रकाश

विवाह भएको एक महिनामै श्रीमतीसँगै झ्याप्लेखोलामा अस्ताए प्रकाश

गुल्मी : बिहीबारदेखि लगातार परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। वर्षाका कारण गएको पहिरोमा परेर सयौं नागरिकको ज्यान गुमाएका छन् भने कति घरपरिवार विहीन भएका छन्। बाढीले काठमाडौं लगायतका ठूला सहर नै डुबानमा परे। दुईदिन देशभरका नागरिकको जनजीवन नै प्रभावित बन्यो। 

अविरल वर्षासँगै गएको पहिरोले दर्जनौं गाडी र घर बगायो। अकस्मात् आएको प्राकृतिक विपत्तिमा सरकारले नागरिकको सुरक्षामा ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना नै खेप्नु पर्यो। खोलामा आएको बाढीले केही नागरिक र सवारी बगायो भने सडकमा खसेको पहिरोले दर्जनौं गाडी पुर्यो। शनिबार बिहानैदेखि सुरक्षाकर्मी खोजी र उद्धार कार्यक्रममा सरिक छ। स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा केही यात्रुको शव फेला परेका छन् भने कतिपयको सकुशल उद्धार समेत गरिएको छ। 

अविरल वर्षाको प्रभाव र क्षतिबाट गुल्मी जिल्ला समेत अछुतो रहन सकेन। जिल्लामा अप्रिय घटनाबाट मानवीय मृत्यु नभए पनि बाढीले केही स्थानमा घरगोठ पुर्ने,बगाउने गर्दा ठूलो क्षति नै बेहोर्नु पर्यो। गुल्मीमा त्यति ठूलो घटना नभएपनि अनेत्र ठाउँमा आधा दर्जन गुल्मेली नागरिकले पहिरोमा पुरिएर ज्यान गुमाएका छन्। नौबीसे नागढुगां सडक खण्डको झ्याप्ले खोलामा पुरिएर गुल्मीका दुई परिवारका छ जनाले ज्यान गुमाएका छन्। शनिबार झ्याप्ले खोलामा पुरिएर उनीहरू सहित एउटै बसमा यात्रा गरिरहेका १४ जनाले ज्यान गुमाएका थिए। धादिङको नौबीसे सडकको खोलामा गएको पहिरोमा पुरिएर गुल्मीका दुई गाउँपालिकाका ६ जनाले ज्यान गुमाएका हुन्।

जिल्लाको मदाने गाउँपालिका-६ घिउपानी चामागाउँका ३४ वर्षीय प्रकाश कुँवर ,३१ वर्षीय अनु कुँवर र २७ वर्षीय सिर्जना कुँवरले ज्यान गुमाएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन्। अनु प्रकाशकी श्रीमती र सिर्जना बहिनी हुन्। 

रोजगारीका लागि दक्षिण कोरिया पुगेका प्रकाश एक महिना अगाडि स्वदेश आएर विवाह गरेका थिए। उनको परिवार केही समयदेखि काठमाडौंमा बस्दै आएको छ। अनु र प्रकाश वैवाहिक सम्बन्धमा जोडिएको महिना दिनमै यो संसार छाडेका छन्। कोरिया फर्किएर पैसा कमाउने र परिवारलाई खुसी दिने उनको सपना सधैंका लागि टुंगिएको छ। यतिबेला यो घटनाले सिंगो गाउँनै शोकमा डुबेको छ। गाउँपालिका उपाध्यक्ष खड्काले सिंगो गाउँपालिकालाई नै मर्माहत बनाएको बताइन्। उनले यो दुःखको घडीमा मृतकलाई स्वर्गावासको कामना गर्दै परिवारजनलाई सम्हालिन आग्रह गरेकी छन्। 

त्यस्तै सोही पहिरोमा पूरिएर गुल्मीदरबार गाउँपालिका-७ लामडाडाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ६३ वर्षीय जुद्ध बहादुर रायमाझी, ३१ वर्षीय बुहारी प्रमिता रायमाझी भुसाल र उनका नाती ३ वर्षीय छोरा कृषव रायमाझीको मृत्यु भएको गुल्मीदरबार गाउँपालिका-७ का वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए। प्रतिमाका श्रीमान् विवेक रायमाझीले काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल वर्कशप सञ्चालन गर्दै आएका छन्। बुबा श्रीमती र छोरा उतै बसोबास गर्नका लागि शुक्रबार बिहान बुटवलबाट हिंडेका थिए। 

बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको बस धादिङको नौविस सडकमा राती नै पुरिएको थियो। अविरल वर्षाका कारण शनिबार बिहान मात्रै पहिरोले पुरिएको अवस्थामा उनीहरूको शव र गाडी भेटिएको थियो। अविरल वर्षाका कारण रेसुंगा नगरपालिकाको देउरालीमा पहिरोका कारण दुईतले पक्की घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। त्यस्तै धुर्कोट गाउँपालिका-४ जैसिथोक गोपेमा बालकृष्ण पोखरेलको टिनले छाएको बंगालो भत्किएर एउटा भैंसी मरेको छ। छत्रकोट गाउँपालिका-५ खज्र्‍याङका कृष्ण विकको ढुगां माटोले बनेको कच्ची घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। पानी र पहिरोबाट अवरुद्ध सडक सञ्चालनमा आएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.