बाढी-पहिरोमा फसेका नागरिकहरूको खोज र उद्दारको काम दुई दिनभित्र सकिन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य सुरू भइसकेको बताएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले खोज,उद्धारको कार्य दुईदिनभित्र गरिसकिने दावी गरे।
प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी,सडक,टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनको भनाइ।
प्राकृतिकजन्य विपद्बाट दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको बताए।
बाढी पहिरो र डुबानबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।