बर्दिबासमा घरेलु कार्यालय स्थापना गर्न माग
बर्दिबास : महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा घरेलु कार्यालय स्थापना गर्न माग गरेको छ। कमर्सको तर्फबाट सुधिर अग्रवालले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउदै बर्दिबासमा घरेलु कार्यालय सञ्चालन गर्न माग गरेका हुन्।
महोत्तरीको बर्दिबास वरिपरि ६ हजार घरेलु उद्यमी तथा साना व्यवसायीहरू छन्। तर, घरेलु कार्यालयको सेवा लिन उनीहरूलाई ४२ किलोमिटर टाढा जलेश्वर धाउनु पर्छ।
‘ससाना कामका लागि टाढा धाउनु पर्छ। व्यवसायी र उद्यमीहरूको खर्च पनि उस्तै हुन्छन्। समय पनि धेरै लाग्छ। त्यो पनि एक दिनमा काम हुँदैन’, अध्यक्ष अग्रवालले मुख्यमन्त्रीसँग भने, ‘त्यसैले बर्दिबासमै प्रदेश सरकारले घरेलु कार्यालय स्थापना गरेर हप्तामा एक दिन भएपनि सेवा दिनुपर्छ। ’
बर्दिबासका व्यवसायीहरूको समस्या समाधान गर्न आफू सकारात्मक रहेको मुख्यमन्त्रीले प्रतिबद्धता जनाए। बर्दिबास मधेस प्रदेशको मुख्य व्यापारी हब हो। जहाँबाट चिन र भारत दुवै तर्फको व्यापारिक पहुँच छ।