बसको टिकटै पाउन हम्मे

बसको टिकटै पाउन हम्मे
फाइल तस्बिर।

काठमाडौं : असोजको दोस्रो साता आएको बाढीपहिरोले सर्वसाधारणको आवतजावत अस्तव्यस्त बन्न पुगेको छ । बीपी राजमार्ग बन्द भएकाले दसैं मनाउन लामो यात्रा गरेर घर जानुपर्ने धेरै सर्वसाधारणहरू चाहेर पनि घर जान सकिरहेका छैनन् । 

सिन्धुलीकी सम्झना रम्तेलले दुई तीन वटा टिकट काउन्टर धाएको धेरै दिन भइसक्यो । तर पनि आफूले घर जाने गाडीको टिकट पाउन नसकेको उनले गुनासो गरिन् । अघिल्लो वर्ष बीपी राजमार्गबाट घर जाँदा रम्तेलले टिकटका लागि प्रतिव्यक्ति ६०० रुपैयाँ हालेकी थिइन् । तर यस वर्ष वैकल्पिक बाटो प्रयोग गरेर जाँदा भने ४ हजार रुपैयाँ लाग्ने भएकाले घर जान आँट्नै नसकेको बताइन् । ‘अरु बेला सजिलो गरी गएकै हो । यो वर्ष खै के आइलाग्यो यस्तो !’, रम्तेलले दुःखेसो पोखिन् । 

गाडीको टिकट पाए पनि वैकल्पिक बाटो प्रयोग गरेर जानुपर्दा समय बढी लाग्ने तथा महिला र साना नानीहरूलाई दुःख हुने रामेछापका राजकुमार श्रेष्ठ बताउँछन् । श्रेष्ठ शंकालु भावमा भन्छन्, ‘जान त जाउँला, फेरि बाटो बन्द भएर फर्किनै नसक्ने पो हो कि ?’

पैसा बढी नै तिर्न परे पनि घर जाने उनको चाहना छ । ‘चार वटा टिकट काउन्टर धाइसकेँ टिकट कतै छैन भन्छन्’, सिन्धुलीका सुदीप दुुलालले भने । हाल भक्तपुरमा बस्दै आएका दुलालले दुई जनाको टिकट पनि पाउन नसकेको गुनासो गरे । ‘कोटेश्वरको काउन्टरमा जाँदा जडीबुटीको काउन्टरमा जानु भने अनि जडीबुटीको काउन्टरमा जाँदा फेरि कोटेश्वरमै जानु भन्छन्’, टिकट काउन्टरवालाले आफूलाई घुमाइरहेको दुलालले गुनासो गरे । आफू र दिदीसँगै दुई जना स–साना नानीहरूलाई पनि घर लानुपर्ने भएकाले आफूहरूलाई गाडीको टिकटको आवश्यकता परेको दुलालले जनाए । दुलाल भन्छन्, ‘टिकट पाइएन भने बाइकमै दुई पटक ओहोरदोहोर गरेरै भए पनि घर जानुपर्ला ।’

बीपी राजमार्ग बन्द भएकाले घर जान चाहने सर्वसाधारणमात्र होइन पुर्‍याइदिने यातायात व्यवसायी पनि समस्यामा परेका छन् । मूल राजमार्ग बन्द हुँदा दसैंमा घर जाने व्यक्तिहरूको संख्या कम भएकाले आफूहरूलाई घाटा बेहोर्नु परिरहेको यातायात व्यवसायीहरू बताउँछन् । 
‘अघिल्लो वर्ष हामीले घटस्थापनादेखि फूलपातीसम्म १२ हजारदेखि १५ हजारसम्म मानिसलाई घर पुर्‍याएका थियौं । यसपालि सय, डेढ सय जति पनि सकिएन’, शिवशंकर तीर्थयात्रा सेवा प्रालिका सञ्चालक प्रकाश थापाले बताए ।

बाढीले राजमार्ग नै बन्द भएका कारणले सर्वसाधारण डराएर जान नखोजेको हुन सक्ने थापाको अनुमान छ । थापाले राजमार्ग बन्द भए पनि जान चाहने व्यक्तिहरूलाई वैकल्पिक बाटोबाट सुरक्षित रूपले घर पुर्‍याइदिने व्यवस्था गरिएको जनाए । थापा भन्छन्, ‘घाटा भएकोमा केही चित्त दुखाइ त छैन तर सरकारले चाँडै बाटोको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने इच्छा छ ।’ 

गणेश हिमाल तराई यातायात प्रालिका काउन्टर इन्चार्ज सुनीलकुमार तोलाङ्गे गुनासो गर्दै भन्छन्, ‘प्राकृतिक प्रकोपले त दुःख दियो दियो, सरकारी प्रशासनहरूले पनि विपद्को बेला दुःख दिइरहेका छन् ।’

रामेछापको सुनापति नगरपालिका र काभ्रेपलाञ्चोकको तेमाल नगरपालिकाले मिलेर खोलेको वैकल्पिक बाटोमा पनि प्रशासन निकायले आफूहरूको गाडीलाई जान नदिएको तोलाङ्गेको भनाइ छ । अघिल्लो वर्षहरूमा दसैंको समयमा टिकट लिने मानिसको लाइन नै बाटोसम्म हुने गरेको तर यो वर्ष भने निकै कम संख्यामा यात्रु टिकट काट्न आएको उनले जानकारी दिए । 

लक्मी तामाङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.