अझै सुचारु भएनन् नौ वटा राजमार्ग
काठमाडौं : यस वर्षको दसैं सुरु भइसक्यो । चाडपर्व नजिकिँदै गर्दा राजधानीबाट जिल्लासम्म पुग्ने नौ वटा राजमार्ग भने पूर्णरूपमा अवरुद्ध छन् । दुई वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् । देशभरका धेरै सडकहरूमा ठाउँठाउँ अवरुद्ध छन् । अवरुद्ध हुने र तत्कालै खुलाउने गर्दैे यो पटकको दसैंमा घर जाने यात्रुहरू तुलनात्मक रूपमा लामो समय लगाएर जान बाध्य छन् ।
असोज १४ गतेदेखि २० गतेसम्म चाडपर्व मनाउनका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या साढे ५ लाखभन्दा बढी पुगिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारदेखि दिनहुँ ५० हजारको संख्यामा यात्रु उपत्यकाबाट बाहिरिन्छन् । दसैं नजिकिँदै गर्दा यो संख्या बढ्न सक्ने ट्राफिक कार्यालयको अनुमान छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता रविन क्षेत्रीका अनुसार राजधानीबाट जिल्ला जाने यात्रुको संख्या उल्लेख्य रूपमा बढिरहेको छ । सोमबार बिहानमात्रै ५० हजार हाराहारीमा काठमाडौंबाट बाहिरिएका छन् । यस्तै मंगलबारसम्म यो संख्या ५ लाख ५० हजार पुग्ने अनुमान छ ।
यो संख्या अघिल्ला वर्षहरूको तुलनामा केही कमी हो । दसैंको घटस्थापना सुरु भएपछि यसअघि दैनिक ५० हजारदेखि १ लाखसम्म यात्रुहरू काठमाडौंबाट बाहिरिने गरेका थिए ।
कुन कुन राजमार्ग अवरुद्ध छन् ?
नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार, उपत्यकाको लेलेदेखि टीकाभैरव जाने बाटोमा अवरुद्ध भएको छ । पहिरो हटाएर यो एकतर्फी सञ्चालनमा ल्याइएको छ । यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने तेह्रथुमको लालीगुराँस नगरपालिका तीनघरेमा सडक एकतर्फी सञ्चालनमा छन् ।
कान्ति लोकपथमा पर्नेे मकवानपुरको भीमफेदीमा अवरुद्ध हुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आएको छैन । यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेपाल्चोकको रोशी गाउँपालिकाको वडा नम्बर ८ ४ सय २० मा १२ किमि सडक अवरुद्ध हुँदा उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सोही राजमार्गको रोशी गाउँपालिका— ११ को कालढुंगा र १२ को प्याकुरेल सडक अवरुद्ध हुँदा निकै दिनदेखि यात्रुहरूले दुःख पाइरहेका छन् ।
सिन्धुपाल्चोकमा पर्ने बाह्रबिसे तातोपानी सडक पनि पुर्ण रूपमा अवरुद्ध छ । उक्त सडकको भोटेकोशी— २ मा पहिरो खस्दा अवरुद्ध भएको हो । मन्थली नगरपालिका— ६ रामेछापमा रहेको रामेछाप- सिन्धुली सडकखण्ड पनि पहिरोको कारण पुर्ण रूपमा अवरुद्ध छ ।
अरनिको राजमार्गमा पर्ने काभ्रे पाँचखाल नगरापालिका— ५ हनुमानगढीमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ ।
पृथ्वी लोकमार्गमा पर्ने धादिङको बेनीघाट— ७ कृष्णभिरमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ । जयपृथ्वी राजमार्गमा रहेको बझाङको छबिसपाथीभेरा— १ बालुवाटारमा पहिरो जाँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालका अनुसार केही दिनअगाडि परेको अविरल वर्षाका कारण यसपटक सडक अवस्था निकै दयनीय छ । बाढी, पहिरोबाट भौतिक संरचनाहरू नष्ट भएका छन् । पाँच वटा ठूलाठूला पुलहरू भत्किएका छन् । मुख्य पाँच वटा सडकहरू अवरुद्ध भएका छन् । नागढुंगा मुग्लिङ सडक यही असोज १३ गतेदेखि नै एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । चितवन बुटवलको दाउन्नेमा सडक भासिँदा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बीपी राजमार्ग तत्कालै सञ्चालन हुन सक्ने अवस्था छैन । यही राजमार्गमा पर्ने रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । मन्त्रालयका अनुसार तत्कालै सडक खोल्नका लागि दुईदेखि तीन अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । दसैंअगाडि कान्ति राजपथ खोल्ने प्रयास गरिएको छ । बीपी राजमार्गबाहेकका सडकहरू दसैं अगाडि नै खोल्ने सरकारको तयारी छ । तातोपानी जाने अरनिको राजमार्ग खोल्नको लागि काम भइरहेको छ । तातोपानीमा ६ सय कन्टेनर अडकएको मन्त्रालयले जानकारी दिएको छ । बीपी राजमार्गको १२ किलोमिटरबाहेक अन्य वैकल्पिक मार्ग दसैंअगाडि नै खोल्ने सरकारको तयारी छ ।
अवरुद्ध सडकहरू खुलाउन स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले काम गरिरहेका छन् । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार देशैभरको सडक अवस्था अत्यन्तै दुरवस्था छ । ग्रामीण सडकहरू ५० प्रतिशत सबै खराब अवस्थामा रहेका छन् । जहाँ सवारीसाधन पठाउन नै सकिएको छैन । मुख्य राजमार्गका विभिन्न ठाँउमा पहिरो जाने, बाटो भास्सिने तथा सडक बिग्रँदा ३० देखि ४० प्रतिशत खराब रहेको छ । यस्तो अवस्थामा समयमा सवारीसाधन पुर्याउन र काठमाडौं ल्याउन सकिएको छैन ।
सिटौला अगाडि भन्छन्, ‘एक्कासि आएको प्राकृतिक विपत्तिले गर्दा अग्रिम टिकट बुकिङ पनि गर्न सकिएको छैन । यसअघि जे जतिले टिकट लिए, लिए, तर अब सही समय तोकेर टिकट दिन सक्ने अवस्था नै छैन । सकभर सबैलाई म्यानेज गर्ने कोसिस गरिरहेका छौं । सडक अत्यन्तै धेरै बिग्रेकाले व्यवसायीले पनि केही गर्न नसक्ने सिटौलाको दाबी छ ।
सडक बनाउन सरकारका विभिन्न निकाय खटिरहेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष सिटौलाले, केही राजमार्गहरूको दयनीय अवस्था हुँदा सवारीसाधन पठाउन नसकिएको बताए । मौसममा सुधार आए र थप पानी नपरे सडकको समस्या छिटो समाधान हुने आशा रहेको उनले बताए ।