महको उत्पादन बढाउन चिउरीका बिरुवा रोपण
कृष्णपुर (कञ्चनपुर) : कञ्चनपुरको कष्णपुर नगरपालिका वडा नम्बर १ मा पर्ने ऐश्वर्य सामुदायिक वनमा चिउरीका २५ सय बिरुवा हुर्किरहेका छन् । स–साना (२ पाते) हुँदा नै रोपिएका चिउरी चारपाते भएका छन् । कृष्णपुर नगरपालिकाले वडा नम्बर १ लाई मह पकेट क्षेत्र पनि घोषणा गरेको छ । त्यहाँका किसानले परम्परागत रुपमा माहुरी पालन गरिरहेकोमा नगरपालिकाले उनीहरूलाई व्यवसायिक माहुरीपालनको तालिम पनि दिएको छ भने माहुरीमा अनुदान पनि दिँदै आएको छ ।
माहुरीका लागि चिउरी महत्वपूर्ण बिरुवा हो । चिउरीको फूलबाट बनेको मह स्वास्थ्यका लागि राम्रो मानिन्छ। ‘ऐश्वर्य सामुदायीक वनको एउटा भागमा बनमारा प्रजातीको झाडी सफा गरेर यसपाली मात्रै २५ सय चिउरीका बिरुवा रोपिएका छन् । नगरपालिकाले सामुदायिक वनका उपभोक्तालाई चिउरीका बोट उपलब्ध गराएको हो । उपभोक्ताले आफै सामुदायिक वनमा रोपेका छन् । अहिले बिरुवा हुर्किन थालेका छन्’ कृष्णपुर नगरपालिकालका प्रमुख हेमराज ओझाले भने ।
कृष्णपुर नगरपालिकाले कञ्चनपुरको बाणीमा रहेको सबडिजिभन वन कार्यालयलाई चिउरीका बोट उत्पादनको जिम्मा दिएको हो । सब डिभिजनले १० रुपैयाँ बोटका हिसाबले चिउरीका बोट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । ‘सब डिभिजनलाई बोट उत्पादनको जिम्मा दियौं, १० रुपैयाँमा वनले बोट उपलब्ध गराएपछि सस्तो परेको छ,’मेयर ओझाले भने ।
कृष्णपुरमा पर्ने चुरेको माथिल्लो बेल्टमा चिउरीको राम्रो उत्पादन हुन्छ । ‘चिउरी फल्यो भने यसका तीनवटा फाइदा छन् । पहिले भनेको माहुरीका लागि फूलको रस मह बनाउनका लागि प्रयोग हुनेभयो । दोस्रो भनेको दाना लागेपछि वनमा रहेका बाँदरजन्य पशुहरूका लागि आहारा पनि हुने भयो । तेस्रो भनेको चिउरीको बिँया संकलन गरेर त्यसबाट चिउरीको घिउ पनि बनाउन सकिने भयो,'स्थानीय शिक्षक राजेन्द्र विष्टले भने ।
नगरपालिकाले ऐश्वर्य सामुदायीक वनमा चिउरी मात्रै होइन,२० हजार बेलका विरुवा पनि यसैपाली रोपेको छ । ‘स्थानीयबासीको आयआर्जन होस् भनेर नगरपालिकाले विरुवा उपलब्ध गराएपछि बेलका बिरुवा रोपेका हौं । बेलबाट भविष्यमा जुस उत्पादन गर्न सकिन्छ भनेर यस्तो गरिएको हो,'ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाले भने ।
बनमाराले जेलिरहेको ऐश्वर्य सामुदायिक वनमा यसै वर्ष चिउरी, बेल, दालचिनी, कागती, अमला, बेत, बास, डालेघाँस र नेपीयर घास गरी ४४ हजार विरुवा रोपण गरिएका कृष्णपुर नगरपालिकाले जनाएको छ ।
१० हजार विरुवा कागती, ७ हजार बिरुवा दालचिनी, २ हजार विरुवा अमला, २ हजार बेतका विरुवा, १ हजार बिरुवा नेपीयर जातको घाँस र २ हजार विरुवा बास रोपीएका छन । ‘सामुदायिक वनमा जेलिएर बसेको बनमारा फडानी गरेर यत्तीका विरुवा रोपिएका हुन् ।
स्थानीय उपभोक्ताको आयआर्जनमा यी बिरुवाले सहयोग गर्ने अपेक्षा गरिएको छ,’स्थानीय उपभोक्ता दामोदर जोशीले भने । सामुदायिक वनमा ठूलो संख्यामा नेवीयर जातको घाँस लगाइएको छ । ‘स्थानीय उपभोक्ताहरूलाई पशुपालनका लागि सहज हुने गरी यसो गरिएको हो । यो घाँसले दुधालु जनावरले अझ बढि दूध दिने गर्छन् । पशुका लागि नेपीयर प्रजातीको घाँस पोषिलो हुन्छ, पशुहरूले पनि यसलाई राम्रो मानेर खान्छन्’उपभोक्ता जोशीले भने ।
सामुदायिक वनभित्र ८ हजार र उपभोक्ताको घरमा २ हजार गरी १० हजार बिरुवा कागती पनि रोपिएका छन् । ‘कागती बहुउपयोगी फल हो । स्थानीयको आयआर्जनमा यसले टेवा पुगाउने छ भने बनभित्र लगाइएको कागती फल्यो भने सामुदायिक वनको आम्दानी बढनेछ । सामुदायिक वनको आम्दानी बढनु भनेको उपभोक्ताको पनि आम्दानी बढनु हो,'वनका अध्यक्ष बुढाले भने ।