पुराना पिङ संरक्षणमा सक्रियता
नुवाकोट : पुराना पिङ संरक्षणमा नुवाकोटमा स्थानीयको सक्रियता बढेको छ। लोपोन्मुख पिङ संरक्षणमा त्यहाँका युवा एवं स्थानीयले सक्रियता बढाएका हुन्।
मुख्य पर्वका सन्दर्भमा नुवाकोटको ग्रामीण भेग तारुकामा परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले लोप हुँदै गएको विभिन्न प्रकारका पिङहरू बनाइएका छन्। यसबाट सर्वसाधारणलाई निकै सुविधा पुगेको छ। विशेषगरी काठबाट बनाइएको रोँगटे, लिंगे र डोरेलगायतका पिङहरूमा स्थानीयले थप मेहनत गरेका छन्। डोरे र लिंगे पिङ भने बर्सेनि बनाउने भएकोले मानिस यसमा अभ्यस्त छन्।
नुवाकोटको तारकेश्वर गाउँपालिका—२ सातदोबाटेमा रोंगटे पिङ निर्माणसँगै गाउँघरमा सर्वसाधारणमा चाडपर्वको रौनक छाएको छ। शदीयौंदेखि मनोरञ्जनका साधनको रूपमा विशेषगरी चाडपर्वको बेला गाउँघरतिर काठको रोंगटे र घना बाँस उठाएर बाबियोको डोरी बाटेर सामूहिक रूपमा लिंगे पिङ बनाउने चलन चल्दै आएको छ।
यसले एकातिर मनोरञ्जनका लागि निकै सहयोग पुग्ने र गाउँघरमा भएका साथीहरूसँगको सम्बन्ध बढ्ने र भेटघाट गर्ने अवसर जुट्ने गरेको स्थानीयवासी जनकमान प्रधानको भनाइ छ। स्थानीय तहले परम्पराको जगेर्ना गर्नका लागि तारुकामा पिङ निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराएका छन्।
डेढ लाख रुपैया खर्च गरेर तारकेश्वर गापाले रोंगटे र डोरे पिङ निर्माण गरिदिएको छ। काठको बलियो खाँबो र काठकै पिर्काहरूको प्रयोग गरी रोंगटे र डोरे पिङ बनाइएको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाइ छ।
काठबाट बनाइने रोंगटे पिङ बनाउन विशेष सीप भएको मानिसको आवश्यक पर्ने र अहिलेको युवा पुस्तामा त्यस्ता खालका सीप भएको मानिसहरूको कमीका कारण पनि रोंगटे पिङ लोप हुँदै गएको कारण यसको संरक्षण सुरु गरिएको अध्यक्ष अधिकारीको भनाइ छ।
पछिल्लो समय काठको समेत अभावले गर्दा रोंगटे र जाँते पिङ हराउँदै गएको भनाइ बुढापाकाको छ। लिंगे र डोरे पिङहरू भने थोरै देख्न पाइन्छ।
रोगटे पिङ अन्य पिङभन्दा खर्चिलो पनि हुने भएका कारण स्थानीय तहले यसको संरक्षणको सुरुवात गरेको तारकेश्वर–२ का वडाध्यक्ष शिवप्रसाद पनेरुको भनाइ छ। खासगरी चाडपर्वमा पिङमा बसेर एक पटक धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहेकोले पिङको महत्त्व अझै बढी जोडिएको उनको भनाइ छ।
तारकेश्वर गापा र वडाले पिङ निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएको थियो। मुख्य चाडपर्वहरू बडादसैं र तिहारको रौनक बढाउने विभिन्न पिङ हराउँदै गएको कारण त्यसको संरक्षण सुरु गरिएको तारकेश्वर गापा कार्यालय दाङसिङले जनाएको छ।
केही वर्ष अघिसम्म बडादसैंको घटस्थापनादेखि नै गाउँ टोलमा रांगेटे र लिंगे पिङ हालेर गाउले रमाउने गर्थे। बडादसैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ दसैंमा नौरथा लागेसँगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो। अहिले यो प्रचलन नै लोप हुँदै गएको छ। नेपालीको मुख्य पर्व बडादसैं र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशकअघिसम्म नुवाकोटमा जताजतै देख्न पाइन्थ्यो। तर, आजभोलि निक्कै कम भएको छ।