सराये नाचको उद्गमस्थल अर्घा दरबार
अर्घाखाँची : सराये नाच अर्घाखाँचीको मौलिक नाच हो। कोजाग्रत पूर्णिमाको दिन अर्घामा सराये नाच हुने गर्छ। अर्घाको सरोये नाँच देशभर प्रसिद्ध छ।
यस नाचमा महिला र पुरुषहरू हातमा तरवार, खुडा आदि लिएर वाख्यै भाइ हो वा भन्दै हतियार प्रदर्शन गरेर सराये नाच्ने गर्छन्। दसैंमा जिल्लाका अधिकांश मन्दिरहरूमा नाचिने सराये नाच चैते दसैंमा पनि नाचिने गरिन्छ। आसुरी शक्तिमाथि दैवीक शक्तिले युद्धमा विजयी भएको खुसीयालीमा सराये नाच नाचिने परम्परा छ। अर्घाको सराये नाच पञ्चांग पात्रोमा समेत समावेश गरिएको र नेपालकै प्रसिद्ध नाच रहेको अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए। सराये नाचको उद्गमस्थलका रूपमा अर्घा भगवती मन्दिर र अर्घा दरबार रहेको छ।
हिन्दूहरूको महान् पर्व बडादसैंमा नाचिने सराये नाच एकादशीको दिन सन्धिखर्क, द्वादशीको दिन शितगंगा नगरपालिकाको ठाडा, भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भूमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, चत्रुदशीको दिन मालारानी गाँउपालिकाको हंसपुरको रागामारे, सन्धिखर्कको कुर, र पुर्णिमाको दिन अर्घा भगवती मन्दिर अर्घा दरबारमा नाचिन्छ।
तरवार, खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरू आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरवार, खुडा र हतियार प्रदर्शनसहित आलम देवीका साथमा नाचिने यो नाचले देवी खुसी हुने मान्यता रहेको पाणिनि बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीले बताए। हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ। सराये महिला, पुरुषमात्र एक भएर होइन, सबै जातजातिहरू एकैठाउँ भएर नाचिने नाच हो।