प्राकृतिक विपद्मा सञ्चारकर्मीको सुरक्षा
प्राकृतिक विपद्को समयमा हुने तनाव र आघातले सञ्चारकर्मीको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ।
पत्रकारिता स्वाभाविक रूपमा जोखिमपूर्ण पेशा हो। विशेषगरी प्राकृतिक विपद् र विषम मौसमी घटनाहरूको रिपोर्टिङ गर्ने क्रममा पत्रकारहरूले प्रतिकूल अवस्थाहरू झेल्नुपर्ने हुन्छ। यस्ता परिस्थितिहरूमा पत्रकारहरूको भौतिक सुरक्षा प्राथमिकता हुनु आवश्यक छ। बाढी, डढेलो, आँधीबेहरी, भूकम्प, पहिरो र अत्यधिक गर्मीजस्ता विपद् पत्रकारहरूको जीवनमा ठूलो खतरा पुर्याउन सक्छन्। जसकारण तिनीहरूले सुरक्षा प्रोटोकलको पालन गर्नु र उचित तयारी गर्न अनिवार्य छ।
विपद्को समयमा रिपोर्टिङ गर्दा पत्रकारहरू प्रायः खतरनाक वातावरणमा सुरक्षा मानकहरूको अवहेलना गर्दा उनीहरूको जीवनलाई गम्भीर जोखिममा पार्न सक्छ। विपद्को क्रममा रिपोर्टिङ गर्दा समग्र सुरक्षा मापनहरूको पालन गर्नु अत्यन्त महत्त्वपूर्ण छ। स्थानीय परिस्थितिको बुझाइ, सम्भावित जोखिमहरूको मूल्यांकन र तदनुरूप तयारी गर्नु पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण कदम हो।
पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न कमिटी टु प्रोटेक्ट जर्नालिस्टस ( सीपीजे) को दिशानिर्देशअनुसार, सञ्चार संस्थाहरू र स्वतन्त्र पत्रकारहरूले खतरनाक घटनाहरूको रिपोर्टिङका लागि विशेष सुरक्षा प्रोटोकलहरू बनाउनुपर्छ। यी दिशानिर्देशहरूले तयारी, सुरक्षा उपकरण, र वातावरणको ज्ञानलाई जोखिम घटाउनका लागि प्रमुख पक्षको रूपमा जोड दिन्छन्।
बाढीको रिपोर्टिङ गर्दा पत्रकारहरूले बाढीको पानीको गतिको र अनपेक्षिततालाई ध्यानमा राख्नुपर्छ। तीव्र गतिको पानी चाँडै बढ्न सक्छ जसले पत्रकारलाई निकै खतरामा पार्न सक्छ। पत्रकारहरूले बाढीको पानीमा नपर्नु र सुरक्षित स्थानमा रहनु अनिवार्य छ। डुब्ने जोखिमसँगै बाढीले पानीबाट हुने रोग र विषाक्त पदार्थ फैलाउन सक्छ। पत्रकारहरूले प्रदूषित पानीको सम्पर्कमा आउनेबारे सचेत रहनुपर्छ।
डढेलोका जोखिम : डढेलोको रिपोर्टिङ गर्दा आगोको गतिको र हावाको अवस्थाको निरन्तर अनुगमन गर्नुपर्छ। डढेलो चाँडै फैलिन सक्छ र हावाको दिशा परिवर्तन हुनसक्छ । जसले पत्रकारलाई जोखिममा पार्न सक्छ। सुरक्षित दूरीमा रहनु र आगो प्रतिरोधी कपडा र मास्कजस्ता व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। सीपीजेका दिशानिर्देशले पत्रकारहरूले भाग्नका लागि मार्गहरू चिन्नु र तिनीहरूको टोलीसँग सञ्चार कायम राख्न सिफारिस गर्छ।
भूकम्पको समयमा संरचनाहरू र अन्य भवनहरूबाट टाढा रहनु महत्त्वपूर्ण छ। पत्रकारहरूले परकम्पको निरन्तर जोखिमको बारेमा जानकार रहनुपर्छ। जसले थप क्षति निम्त्याउन सक्छ। ठूलो भूकम्पको पछि खुला क्षेत्रमा रहनु र अस्थिर संरचनाबाट टाढा रहनु सुरक्षा सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण हुन्छ।
पहिरोको जोखिम : पहिरोको रिपोर्टिङ गर्दा, पत्रकारहरूले थप पहिरो खस्न सक्ने सम्भावनाबारे सजग रहनुपर्छ। सुरक्षित दूरीमा रहेर सम्भावित पहिरो पहिचान गर्न सजिलो स्थानमा खस्न सक्ने स्थलहरूको अनुगमन गर्नु महत्त्वपूर्ण हुन्छ। अत्यधिक गर्मीको अवस्थामा रिपोर्टिङ गर्दा, निर्जलीकरण, गर्मीको मार र अन्य स्वास्थ्य समस्याको जोखिम हुन्छ। पत्रकारहरूले पानीको पहुँच सुनिश्चित गर्नु, छायामा विश्राम गर्नुपर्छ। र दिनको सबैभन्दा गर्मी समयमा फिल्डमा काम गर्नु हँुदैन। सीपीजेको सिफारिसअनुसार पत्रकारहरूले पर्याप्त पिउने जलयोजनको सामग्री बोकेर जानुपर्छ। अत्यधिक तापमानमा काम गर्दा शारीरिक थकानका लागि तयार रहनुपर्छ।
प्राकृतिक विपद्को रिपोर्टिङ गर्ने पत्रकारहरूले अनिवार्य सुरक्षा उपकरण र सामग्रीहरू बोकेर जानु आवश्यक छ। यसमा नबिग्रिने खानेकुरा, सफा पानी, पीपीई (जस्तै फेस मास्क र सुरक्षात्मक कपडा), फ्ल्यास लाइट र स्याटलाइट फोनजस्ता सञ्चार उपकरणहरू समावेश छन्। विशेषगरी विपद्को समयमा सामान्य सञ्चार नेटवर्कहरूसँग प्रायः सम्पर्कविहीन हुने हुँदा विश्वसनीय सञ्चार उपकरणहरूको प्रयोग गर्ने सुविधा हुनु आवश्यक छ।
विपद्ग्रस्त क्षेत्रहरूमा पत्रकारहरूले आपत्कालीन प्राथमिक उपचार किटको पहुँच सुनिश्चित गर्नु र प्राथमिक उपचारका आधारभूत सीपमा प्रशिक्षित हुनु आवश्यक छ। सही उपकरण र तयारीले महत्त्वपूर्ण परिस्थितिहरूमा जीवन र मृत्युको बीचको भिन्नता हुन सक्छ।
सीपीजेका सुरक्षा सिफारिसहरूले खतरनाक स्थितिमा पत्रकारहरूको तयारी र प्रशिक्षणको आवश्यकता पनि जोड दिन्छ। पत्रकारहरूले आफ्नो वरिपरिका वातावरणसँग परिचित हुनु र आपत्कालीन स्थितिमा वैकल्पिक योजना बनाउनुपर्छ।
विपद्को समयमा सञ्चार नेटवर्क विफल हुने सम्भावनालाई ध्यानमा राख्दै, पत्रकारहरूले स्याटलाइट फोन वा अन्य वैकल्पिक सञ्चार उपकरणहरू प्रयोग गर्नुपर्छ। जसले उनीहरूको टोलीसँग सम्पर्कमा रहन मद्दत गर्दछ। सीपीजेले उच्च जोखिमका घटनाहरूको रिपोर्टिङ गर्दा नियमित रूपमा विशेष टोली सदस्य वा समाचार कक्षसँग सम्पर्कमा रहन सिफारिस गर्दछ।
एक प्रमुख सुरक्षा उपाय भनेको स्थानीय सहयोग खोज्नु हो। स्थानीय गाइडहरू वा सहजकर्ताहरूसँग सहकार्य गर्नाले भौगोलिक, मौसमको प्रवृत्तिहरू र जोखिमहरूको बारेमा बुझ्न सजिलो हुनुका साथै पत्रकारहरूलाई खतरनाक क्षेत्रहरूबाट टाढा रहन र महत्त्वपूर्ण जानकारी सुरक्षित रूपमा संकलन गर्न मद्दत पुर्याउँछन्।
भौतिक सुरक्षा अत्यन्त महत्त्वपूर्ण हुनुका साथै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। प्राकृतिक विपद्को समयमा हुने तनाव र आघातले पत्रकारहरूको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ। सीपीजेका सिफारिसअनुसार समाचार कक्षहरूले घटनाहरूको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई मनोवैज्ञानिक टेवा प्रदान गर्नुपर्छ। यस्तो टेवाले उनीहरूलाई उनीहरूको कामको भावनात्मक प्रभावलाई बुझेर रिपोर्टिङ प्रक्रिया मद्दत गर्न सक्छ।
पत्रकारहरूले आफ्नो मानसिक स्वास्थ्यको ध्यान राख्नु र आवश्यक परेको समयमा सहयोग खोज्नु महत्त्वपूर्ण छ। विपद्को रिपोर्टिङको समयमा र पछि आत्मकेयर गर्नु दीर्घकालीन भावनात्मक र मनोवैज्ञानिक तनाव रोक्न सक्छ।
प्राकृतिक विपद्को रिपोर्टिङ गर्दा पत्रकारहरूले जनतालाई जानकारी गराउने जिम्मेवारी र आफ्नै जीवनको सुरक्षाबीच सन्तुलन कायम राख्नुपर्छ। विपद्को रिपोर्टिङका साथमा आबद्ध जोखिमहरू बुझ्न सहयोग गर्छ। कमिटी टु प्रोटेक्ट जर्नलिस्टसद्वारा उल्लेखित सुरक्षा प्रोटोकलहरूको पालन गर्दा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्न सक्छ। सही उपकरण, तयारी र सहयोगको साथ पत्रकारहरूले यस्ता महत्त्वपूर्ण घटनाहरूको रिपोर्टिङ गर्न सक्छन्।