अमेरिकाको पेनसिल्वेनियामा तिहारलाई मुख्य पर्वको मान्यता
पेनसिल्वेनिया (अमेरिका) : हिन्दुहरूको महान् पर्व दीपावलीले अमेरिकाको पेनसिल्वेनिया राज्यमा समेत मान्यता पाएको छ । पेनसिल्वेनिया राज्यको गभर्नर जोश शापिरोले दीपावलीलाई पेनसिल्वेनियामा आधिकारिक बिदाको रूपमा स्वीकृति दिएसँगै दीपावलीले मान्यता पाएको हो । दीपावलीलाई मान्यता दिँदै बिदा दिने कानुन ९ अक्टोबरमा पेनसिल्वेनिया सामान्य सभाद्वारा पारित गरिएको थियो ।
गभर्नर शापिरोले ह्यारीसवर्गमा भएको दीपावली डिनरमा त्यसमा हस्ताक्षर गरेका थिए । भुटनीज कम्युनिटी इन ह्यारीसवर्गका बोर्ड अफ डाइरेक्टर चियरम्यान तिलक निरौलाले दिपावलीलाई मान्यता दिनु पेनसिल्वेनियामा बसोबास गर्ने नेपाली समुदायका लागि ठूलो उपलब्धि भएको बताए ।
‘यो हाम्रो समुदायको समृद्ध सांस्कृतिक धरोहरको मान्यता दिने एउटा महत्वपूर्ण कदम हो,'उनले भने, ‘हामी यस ऐतिहासिक क्षणमा संलग्न भएकोमा वास्तवमा सम्मानित सहित प्रकाशको चाडको सौन्दर्य र महत्त्वको उत्सव मनाउन पाउँदा गर्वित छौं।’