लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती मनाइयो
काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । देवकोटाको १ सय १६ औँ जन्मजयन्तीका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रहेको उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो ।
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य,निबन्ध,कथा,नाटक,उपन्यास,गीत,समालोचना र फुटकर कविता प्रकाशित छन् ।
देवकोटाको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(पद्य/काव्य) विभागले देवकोटा सङ्ग्रहालयमा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो । कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिका साथै विभिन्न प्रसंगका साथ कविता वाचन गरेका थिए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । २०१६ सालमा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए।
देवकोटाको घरलाई सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरेको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।