भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथको दर्शन
जोमसोम : नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन्। नेपाली सेनाको हेलिकोप्टर मार्फत मुस्ताङ आएका द्विवेदीले मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन्।
भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार बिहान ८:४० बजे मुक्तिनाथ हेलिप्याण्डमा अवतरण गरेका थिए। सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए। द्विवेदीलाई मुस्ताङको जोमसोम स्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए।
दिवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको सैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेको छ। निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ।
मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सहयोग पुर्याएका थिए।
मुक्तिनाथको दर्शनका लागि भारतीय सेनाध्यक्ष द्विवेदीले १ घण्टा ५० मिनेट बिताएका थिए।
काठमाडौंबाट सैनिक हेलिकोप्टर मार्फत बिहान ८: ४० बजे मुक्तिनाथ पुगेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गरेर बिहान १०:३० बजे मुक्तिनाथबाट हेलीमार्फत काठमाडौं फर्किएका छन्।