झापाको सताक्षीधाममा ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग बनाइँदै
झापा : झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा धमाधम निर्माण गरिँदैछ।
श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा हुन लागेको गोरक्षा महोत्सव तथा महायज्ञको अवसरमा रुद्राक्षको सवा करोड दानाबाट ५१ फिट अग्लो शिवलिंग बनाउन लागेको गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले बताए।
सताक्षीधाममा मार्बल, ढुङ्गा वा सिमेन्टीको शिवलिंग पनि बनाउन सकिन्थ्यो। ‘तर, त्यसको महत्त्व भन्दा पनि रुद्राक्षको महत्त्व बढी छ,’ आचार्य भारद्वाजले भने, ‘हाम्रो देशको रुद्राक्षको महत्त्व विश्वभरि चिनाउनु पर्यो, त्यसैले रुद्राक्षको शिवलिंग बनाउन लागेको हो।’
पर्यटन वर्षको विशेष आकर्षणका रुपमा पनि रुद्राक्षको शिवलिंग रहनेछ। विगत एक महिनादेखि निर्माण भइरहेको शिवलिंगका लागि झापा, मोरङ र सुनसरी गरी तीनै जिल्लाका भक्तजनहरूले रुद्राक्षका माला बनाइरहेका छन्। केही भक्तजनहरू यहाँ आएर पनि माला बनाउँदैछन् । त्यही रुद्राक्षको मालाबाट शिवलिंग बनाउने काम धमाधम भइरहेको उनले बताए।
यही मंसिर १४ गतेदेखि २४ गतेसम्म हुने महोत्सवमा शिवलिंगको विशेष पूजाआर्चना गरिनुका साथै ७१ जना ब्राम्हनहरुले ९ दिनसम्म पाँच कुण्डमा रुद्र महायज्ञ गर्ने उनको भनाई छ।
उनका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम सङ्कीर्तन प्रारम्भ, १५ गते बाल चतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन्। त्यस्तै मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक विद्यालयका छात्रहरूबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक विचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्रम सम्पन्न हुनेछ।
लिंग महापुराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा पाठपारायण आचार्य पं. मदनमोहन अधिकारी रहने जनाइएको छ। महायक्षको तयारी अन्तिम चरण पुगेको र पूर्व–पश्चिम राजमार्गमा गेट निर्माणको काम भइसकेको समितिका सचिव मदनमोहन अधिकारीले जानकारी दिए। महोत्सवमा करिब ४०० का हाराहारीमा अन्तर्राष्ट्रिय विद्वान वर्ग सहभागी हुने उनको भनाइ छ।
हाल सताक्षीधाम गौशालामा ६६२ वटा गाईबाछा छन् भने बाहिर २१ सय ६० वटा रहेका छन्। गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुने गरेको समितिले जनाएको छ।