पूर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा दुर्घटना: १० दिनमा ८ जनाको मृत्यु
विराटनगर : पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको चाप अत्यधिक हुन्छ। सवारी चाप बढेकैले सडक साँघुरो हुन थालेको छ। उक्त राजमार्ग स्तरोन्नतिको काम पनि भइरहेको छ। धमाधम सडक स्तरोन्नति भइरहँदा सवारी दुर्घटना पनि त्यत्तिकै बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङ खण्डमा पछिल्लो समय सवारी दुर्घटना तीव्र गतिमा बढिरहेको हो। दुर्घटना अत्यधिक हुँदा मानवीय र भौतिक क्षति धेरै भइरहेको छ।
मोरङको सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा पछिल्लो १० दिनभित्र १७ वटा सवारी दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार यो तथ्यांक मंसिर १ देखि १० गतेसम्मको हो। विभिन्न दुर्घटनामा परेर ८ जनाको मृत्यु भइसकेको जानकारी उनले दिए।
उनका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। ‘घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी जोशीले भने, ‘अधिकांश दुर्घटनामा मोटरसाइकल परेका छन्।’ सडकको खराब अवस्था र तीव्र गति एवं लापरबाहीका लागि दुर्घटना बढेको पाइएको उनको भनाइ छ।
पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा मंसिर १ गते दिउँसो २:३० बजेतिर बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भयो।
पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा मंसिर २ गते बिहान ११:२० बजेतिर अर्को दुर्घटना भयो। पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई बिहान ११:२० बजेतिर ठक्कर दियो। अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भइन्। उनको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मंसिर ६ गते अपरान्ह ४:४५ बजेतिर दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो। पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा पथरीशनिश्चरे–४ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र झापाको दमक नगरपालिका–१० का २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको हो। मोटरसाइकलमा सवार पथरीशनिश्चरे–५ का ४२ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन्। उनको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्तालालमा उपचार भइरहेको छ।
सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायस गाडीले मंसिर ९ गते अर्थात आइतबार दिउँसो ३ बजेतिर ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भयो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डनजिक मंसिर १० गते अर्थात सोमबार साँझ ७ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरे सवारी चालकको असावधानीका कारण पूर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा धेरै दुर्घटना भइरहेको बताउँछन्। उनका अनुसार पछिल्लो समय दुर्घटनाको अवस्था भयावह बनेर गएको छ। ‘राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ। सवारीसाधन कुद्नलाई बीचमा २ लेनको पिच सडक मात्रै छ। दुवैतर्फ ठूलठूला खाल्डा बनाइएका छन्। सडक निर्माण चलिरहेको छ। त्यहाँमाथि चालकले लापरबाही गरिदिन्छन्,’ उनले भने।
एसपी घिमिरेका अनुसार साँघुरो सडक, सवारीसाधनको तीव्र गति तथा चालकको असावधानी दुर्घटनाको मुख्य कारण हुन्। दुर्घटना धेरै भएका र हुनसक्ने सम्भावित स्थानमा सडक विभाग तथा निर्माण कम्पनीसँग समन्वय गरेर ‘स्पिड ब्रेकर’ लगाउने तयारी भइरहेको उनले बताए। अधिकांश दुर्घटना मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ (अर्को सवारीसाधनलाई उछिन्ने) गर्दा भइरहेको ट्राफिक प्रहरीको विश्लेषण छ। ‘अधिकांश दुर्घटना गलत ठाउँको ‘ओभरटेकिङ’ले भइरहेको छ। मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ गरिदिँदा मानवीय र भौतिक क्षति हुने गरी दुर्घटना भइरहेका छन्,’ घिमिरेले भने।
उनका अनुसार ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। विभिन्न जनचेतनामूलक कार्यक्रमदेखि सवारी चालकलाई प्रशिक्षण दिने कामलाई तीव्र पारिएको उनको भनाइ छ। एसपी घिमिरेले मोटरसाइकललाई लक्षित गरी चालकलाई प्रशिक्षण दिने काम भइरहेको जानकारी दिए।