बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा चट्टान खोपेर बाटो चौडा गरिंदै
जोमसोम : राष्ट्रिय गौरवको (बेनी-जोमसोम)७४ कि.मी .सडक अन्तर्गत पर्ने जोखिमयुक्त सडक काभ्रेभीरमा चट्टान खोपेर सडक चौडा गर्न थालिएको छ। बेनी-जोमसोम-दोस्रो खण्डको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीले मुस्ताङ प्रवेशद्वार काभ्रेभीर सडकमा चट्टान खापेर सडक चौडा गर्न थालेको हो।
भौगालिक रूपले निकै नै कठिन मुस्ताङ प्रवेशद्वार काभ्रे भीरमा सडक माथिको चट्टान काटेर सडक चौडा गर्न सम्भव नभएका कारण सडक तल चट्टान खोपेर त्यहाँबाट एङ्करिङ ब्लक निर्माण गरी सडक फराकिलो बनाउन थालिएको शर्मा गजुरमुखि जेभीको प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए।
काभ्रे भीर सडकमा ११ मिटरको सडक विस्तार गर्ने कुनै ठाउँ नभएको र सडकको डाईभर्सनसमेत नभएकाले वैकल्पिक प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रोजेक्ट म्यानेजर न्यौपानेको भनाइ छ।
म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने काभ्रे भीर प्रवेश गर्न पहिलो प्वाइटनमा सडक फराकिलो बनाउन एङ्करिङ ब्लकको सहयतबाट सडकको लेवलसम्म आरसीसी वाल उठाएर फिलिङ गरी करिव ८० मिटर सडक चौडा गरिने प्रोजेक्ट म्यानेजर न्यौपानेको भनाइ छ। यो प्रविधि अपनाउँदै काभ्रेभीरको ८० मिटर सडकको तल ३० मिटर र कालिगण्डकी नदीको सतहदेखि १५० मिटर माथि चट्टान खोपेर एङकरिङ ब्लक निर्माण गरी सडकको बेस तयारी गरिन लागिएको हो।
कम्प्रेसरबाट ड्रिल मेसिनको सहायताले निकै जोखिम मोलेर त्यहाँ एङ्करिङ ब्लकका लागि चट्टान खोपेर दर्जनौं प्वालहरु पारिएका छन्। सडक फराकिलो पार्न कुनै विकल्प नहुँदा सडक तलको चट्टानमा २५ दखि ३० एम एमको प्वाल पारेर २५ मिटर रकको प्वालमा २५ एम एमको रड फिटिङ गरी आरसीसी सडक बेस निर्माण गरिने प्रोजेक्ट मेनेजर न्यौपानेले बताए।
म्याग्दीको दोस्रो खण्डमा शर्मा गजुरमुखी जेभीले यो प्रविधि अपनाएर ५ स्थानको सडकमा काम गरिसकेको उनले जनाए। यस्तै म्याग्दी खण्डको बैसरीमा पनि शर्मा युनाइटेड जेभीले एङ्करेज ब्लकको प्रविधि अपनाएर सडक माथिको पहिरो रोकथामको उपाय अपनाएको छ।