आगलागीका कारण घर जल्दा लमजुङमा एक जनाको मृत्यु
बेसीसहर : आगलागीका कारण घर जल्दा लमजुङमा एक युवाकाे मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ भलामचौर स्थित लुकुमारी गुरूङकाे धनसार घरमा आगलागी हुँदा ४५ वर्षीय धर्ती तामाङको मृत्यु भएको हो । चितवन घर बताउने तामाङ विगत २ बर्षदेखि कामदारको रुपमा लुकुमारीकाे घरमा बस्दै आएका थिए ।
बिहिबार राती करिब ११ बजेतिर लागेको आगो स्थानीयले बिहान सवा २ बजे नियन्त्रणमा ल्याएकाे स्थानीय तेजबहादुर गुरूङले बताए ।
उनका अनुसार आगो नियन्त्रणपछि कामदार तामाङलाई खोजी गर्दा जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । उनी सुतेकाे काेठाबाट आगलागी सुरू भएकाे देखिएकाे स्थानीयले बताएका छन् । उनी चुराेट खाने भएकाले चुराेटकाे ठुटाेबाट आगलागी भएकाे हुनसक्ने स्थानीय बताउँछन् ।
ढुङ्गा माटोले बनेको १ तले धन्सार घर आगोलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । लत्ताकपडा, पराललगायतका सामाग्री जलेकाे र क्षतिबारे आंकलन हुन बाँकी रहेकाे पीडित लुकुमारी गुरूङले बताइन्।
घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।