सुत्केरीसँग मेयर उपमेयर
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले पोषण स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ। आमा र शिशुको स्वास्थ्य अवस्था र वृत्ति विकासका लागि विदुर नगरपालिकाले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत पोषण विशेष तथा पोषण प्याकेज वितरण गरिएको छ। सो कार्यक्रमअन्तर्गत विदुर नगरपालिका १, ३ र ४ मा पोषण तथा सुत्केरी प्याकेज वितरण गरिएको हो।
मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना अन्तर्गत ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो। विदुर नगरपालिकाले सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी सामग्री वितरण तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो। चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत हालसम्म ८४ जना सुत्केरीहरूलाई पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रमसमेत प्रदान गरिएको छ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर खनाल तथा सम्बन्धित वडाका वडाध्यक्षले वडाको स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरीहरूलाई पोषण सामग्रीहरू हस्तान्तरण गरेका हुन्। चालु आवमा पाँच सय जनालाई पोषण सामग्रीहरू हस्तान्तरण गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।
पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म विदुर नगरभित्रका दुई सय जना सुत्केरीहरूलाई पोषणयुक्त सामग्रीहरू हस्तान्तरण गर्ने लक्ष्य अनुसार वडास्तरमा पुगेर पोषण सामग्री वितरण गर्ने कार्य जारी रहेको मेयर राजन श्रेष्ठले बताए। विदुर नगरपालिकामा सो कार्यक्रम निरन्तर जारी रहने उनले बताए।
विदुर नगरका स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सञ्चालन गरिएको उक्त योजनामा सुत्केरी आमाहरूलाई नगद ३ हजार रुपैयाँसहित पोषण सामग्री वितरण गरिएको हो। गत आवमा उक्त कार्यक्रममार्फत् विदुर नगरका पाँच सय ५१ जना आमालाई नगदसहित पोषण सामग्री वितरण गरिएको थियो।