बर्दिया कप क्रिकेटको उपाधी राजापुरलाई
गुलरिया: बर्दिया कप क्रिकेट टी–२० प्रतिस्पर्धाको उपाधी राजापुर नगरपालिकाले उचालेको छ । बर्दियाको गुलरिया नगरपालिका स्थित कबर्ड हलमा आयोजित प्रतिस्पर्धाको फाइनल खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए) लाई पराजित गर्दै राजापुर नगरपालिकाले उपाधी चुमेको छ ।
जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा गराइएको प्रतिस्पर्धाको फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ३ ओभरमा १० वटै विकेट गुमाएर ९१ रनको टार्गेट दिएको थियो । ९२ रनको विजयी लक्ष्य पाएको बर्दिया क्रिकेट एकेडेमी (ए) ले १८ दशमलव ३ ओभरमा ७० रन जोड्दै राजापुर नगरपालिकासँग २१ रनले पराजित भएको जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले बताए । प्रतियोगिताको विजेता टिम राजापुर नगरपालिकाले ५० हजार रुपैयाँ र उपविजेता बर्दिया क्रिकेट एकेडेमी (ए) ले २५ हजार राशी प्राप्त गरे ।
विजेता टिम राजापुरको तर्फबाट ब्याटिङ गर्दै सिद्धान्तराज शाहीले १७ बलमा २० रन बनाए । सुलभ चौधरीले १६ बलमा १३ रनको योगदान दिएका थिए । राजापुरको तर्फबाट बलिङ गर्दै सौगात खत्रीले ४ ओभरमा १४ रन दिँदै ४ विकेट लिन सफल भए । त्यस्तै अजय साहनीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिएका हुन् । उपविजेता बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट समिर आचार्यले चार ओभरमा १८ रन दिंदै ३ विकेट लिन सफल भए ।
रुपेश बस्यालले ४ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । त्यस्तै बिरु मगरले ४ ओभरमा १४ रन दिएर २ विकेट लिन सफल भएका थिए । बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट ब्याटिङ गर्दै समिर आचार्यले २९ बलमा नटआउट २७ रन बनाउन सफल भए ।
त्यस्तै अश्विन गिरीले १४ बलमा ११ रन जोडे । बर्दिया क्रिकेट एकेडेमीको चार विकेट लिन सफल भएका राजापुर नगरपालिकाका सौगात खत्री म्यान अफ द फाइनल घोषित भएका छन् । प्रतियोगिता भरीकै म्यान अफ द सिरिज राजापुर नगरपालिकाका सिद्धान्तराज शाही घोषित भए । प्रतियोगिता भरीकै बेस्ट बलरमा १३ विकेट लिन सफल बनेका राजापुर नगरपालिकाका अजय साहनी बने । यस्तै गरी बेस्ट ब्याट्सम्यानमा राजापुर नगरपालिकाकै सन्दीप नेपाली भए उनले प्रतियोगिताभरि १ सय १७ रन जोडेका हुन् । जनजागृति युवा क्लबका दीपक भण्डारी उदयमान खेलाडी घोषित भए ।