कोशीमा यात्रुवाहक बसका लागि ‘टाइम कार्ड’

कोशीमा यात्रुवाहक बसका लागि ‘टाइम कार्ड’

विराटनगर : दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्य राखेर कोशी प्रदेशमा शनिबारदेखि यात्रुवाहक बसका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ। 

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले झापा, मोरङ र सुनसरी जिल्लालाई केन्द्रित गरी ‘टाइम कार्ड’ लागू गरिएको जानकारी दिए। उनका अनुसार सवारी दुर्घटना अत्यधिक बढेपछि छुट्ने र पुग्ने समय तोकेर प्रदेशमै पहिलोपटक सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो। 

यो नियम लागू भएपछि अब यात्रुवाहक बस तोकिएको समयभन्दा अगावै गन्तव्यमा पुग्न पाउँदैनन्। नियमको उल्लंघन गरे कारबाही हुने एसपी घिमिरेले बताए। उनका अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको समन्वय तथा प्रहरी अधिकारी, यातायात व्यवसायी, ट्राफिक प्रहरी र सवारी चालकको उपस्थितिमा ‘टाइम कार्ड’ प्रणालीको सुरुवात गरिएको हो। 

तत्काललाई बसका लागि मात्रै ‘टाइम कार्ड’को सुरुवात गरिएको बताउँदै एसपी घिमिरेले त्यसको प्रभावकारिता हेरेर अन्य सवारीसाधनमा विस्तारै लागू गर्दै लैजाने योजना रहेको सुनाए। ‘टाइम कार्ड’को पालनाका लागि जिम्मेवार बनाउन बसका चालकहरुलाई प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गराइएको जानकारी उनले दिए। उनले चालकहरूलाई ‘टाइम कार्ड’को महत्व र जिम्मेवारीका बारेमा पनि जानकारी गराइएको बताए। 

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी ‘टाइम कार्ड’ लागू गरिएको छ। विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ। इटहरीदेखि धरानसम्मको २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि छुट्याइएको छ। 

काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ। झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि १ घण्टाको समय निर्धारण गरिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछिया चोकमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले ‘टाइम कार्ड’ लागू भएको घोषणा गरेका हुन्। ‘टाइम कार्ड’ले सवारीसाधनको प्रभावकारी व्यवस्थापन हुने र दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। सवारी चालकले नियमको पालना गर्नुपर्ने र विभिन्न स्थानमा परिचालित ट्राफिक प्रहरीले त्यसको निगरानी एवं नियमन गर्ने डीआईजी खापुङले बताए। 

उनका अनुसार ट्राफिक नियमको पालना गर्ने, निर्धारित समयतालिका अनुसार सवारीसाधन सञ्चालन गर्ने र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने लिखित प्रतिबद्धता चालकहरूले जनाएका छन्। डीआईजी खापुङले सवारी दुर्घटना अत्यधिक बढेकाले न्यूनीकरणका लागि सरोकारवाला निकायलगायत सबै जिम्मेवार हुनुपर्ने बताए। 

‘टाइम कार्ड’ले प्रदेशको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्। ‘टाइम कार्ड’ लागू गर्न आयोजित कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ‘ज्वाला’, यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रमुख तथा प्रतिनिधि, सवारी चालक, ट्राफिक प्रहरीलगायतको उपस्थिति थियो। 

कोशी प्रदेशमा सवारी दुर्घटना हुँदा पछिल्लो २ सातामा मात्रै २५ जनाको मृत्यु भइसकेको ट्राफिक प्रहरीले जनाएको छ। सवारीसाधनको तीव्र गति, यात्रु उठाउने होडबाजी, चालकको लापरबाही, ट्राफिक नियमको उल्लंघन र सडकको खराब अवस्थालगायतका कारण दुर्घटना बढेको ट्राफिकको विश्लेषण छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.