चुनाव चिन्हमा एकाधिकार
चिन्हको एकाधिकार भन्जन आगामी विमर्शको प्रमुख एजेन्डा हो ।
सौन्दर्यको मूल्य सामाजिक, राजनीतिक एवं सांस्कृतिक परिवेशमा आउने बदलावले निर्माण गरेको हुन्छ । सौन्दर्यात्मक मूल्य पनि स्थिर नभई बदलिन्छ । यो समाजको ऐतिहासिकताअनुसार पृथक पृथक हुन्छ । तसर्थ, हामीले अभ्यास गरेको राजनीतिमा पनि नवीन चेतना र सौन्दर्यको खोजी गर्नु जरुरी भएको छ ।
सौन्दर्यको स्रोत मान्छेको आत्मा हो र मान्छे आफैंले सौन्दर्यको सिर्जना गर्छ भन्ने मान्यता चिन्तकहरू क्रोचे, जाँपाल सात्रलगायतको देखिन्छ । मान्छेले निर्माण गर्ने सौन्दर्यानूभूति अब बदलिनुपर्छ । त्यसैले कुनै पार्टीविशेषको चुनाव चिन्ह नै प्रधान बन्ने स्थितिको अन्त्य गरेर पार्टीको नीतिकार्यक्रम र त्यसलाई संवहन गर्ने नेताको गुण–अवगुण र चरित्र मूल्यांकन गरेर मतदान नगर्ने किन ? आकर्षण चुनाव चिन्हमा होइन, नीति, सिद्दान्त, कार्यक्रम, विचार र त्यसको प्रवाह गर्ने नेतृत्व क्षमतामा हुनुपर्छ भनेर विमर्शको थालनी गरियो भने अन्यथा हुने छैन । बहुलवादी समाजमा निषेध र प्रतिशोधलाई स्थान नहुने हुँदा नवीन सोचबारे घोत्लिनुलाई सकारात्मक अर्थमा ग्रहण गरी यसका गुण–अवगुणबारे तर्क खुला गरिनु सान्दर्भिक हुनेछ ।
पार्टीको चुनाव चिन्हको आधारमा लौरो उठाए पनि जित्छ भन्ने अवधारणालाई गलत सिद्ध गर्न पनि सचेत मतदाताले उमेदार हेर्ने उसको शैली, जीवन–चरित्र, निष्ठा, समाजप्रतिको समर्पण, आफ्नो चुनावी क्षेत्रको ज्ञान महत्वपूर्ण र मूल्यवान् पक्ष हो । चुनाव चिन्हको आधारमा मात्रै चुनाव जित्ने र चिन्हका लागि आफैंमा मारामार गर्ने लड्ने प्रवृत्तिको अन्त्य आजको आवश्यकता भएको छ ।
कुनै पनि छनोटमा विवेक प्रयोगको नमुना देखिनुपर्छ । चुनाव चिन्ह नै सर्वेसर्वा होइन भन्ने कुरा कांग्रेस २०१५ सालमा चुनाव लड्दा उसका लागि रूख चिन्ह पहिलोपल्ट प्राप्त गरेको र त्यसैमा दुईतिहाइ मत ल्याएको यथार्थबाट स्पष्ट हुन्छ । त्यस्तै, २०६४ सालको ऐतिहासिक संविधानसभाको चुनावमा पनि नेकपा माओवादीले प्रत्यक्षमा प्राप्त सिट चुनाव चिन्हका कारण नभएर उपे्रतीको आकर्षणको कारण सम्भव भएको हो ।
यदि चिन्ह नै मूल विषय हुन्थ्यो भने २०१५ सालदेखि रुख चिन्ह लिएको नेपाली कांग्रेस र सूर्य चिन्ह लिएको एमालेभन्दा गोलाकारभित्र हँसिया हथौडा चिन्हले किन सबैलाई आश्चर्य चकित हुने गरी चुनावी परिणाम हात लायो ? यसैगरी, गत २०७९ मंसिरको चुनावमा रास्वपाको घन्टी चुनाव चिन्हले प्राप्त गरेको मतले परम्परागत चुनाव चिन्ह बोक्ने दलहरूलाई बेस्सरी झस्काइदिएको छ । लौरो चुनाव चिन्ह लिएर काठमाडौं र धरानमा विजयी भएका क्रमशः बालेन र हर्कको विजयले चुनाव चिन्ह स्थायी नै हुनुपर्छ भन्ने मान्यतामा ‘पब्लिक डिस्कोर्स’को माग गरेको छ ।
चुनाव चिन्ह सदा एकै हुने परिपाटी त्याग्न बौद्धिक बहस आवश्यक छ। चित्रप्रधान होइन, चरित्रप्रधान समाज निर्माण गरौं। चुनाव विचार योग्यता इमान र एजेण्डाले जित्ने हो, चुनाव चिन्हले होइन।
चुनावमा चिन्हभन्दा पार्टीको नीति र सो नीति अवलम्बन गर्ने पात्र, व्यक्ति र चरित्र आकर्षक हुनुपर्छ । व्यक्ति भौतिक रूपमाभन्दा मानसिक र वैचारिक रूपमा शोभनीय हुनु वान्छनीय हुन्छ । चुनाव चिन्हभन्दा विचार, दल र व्यक्तिको चरित्र छनौट गर्ने अवस्था हुन्थ्यो भने २०४८ सालदेखि मादल चिन्हलाई सर्वस्व ठान्ने भक्तपुरका मादलवादीको सट्टा अर्काे मान्छे र पार्टीले जित्ने सम्भावना पनि उत्तिकै रहन्थ्यो । त्यतिमात्र हैन, रुख चिन्हमार्फत २०४८ देखि डडेल्धुराबाट अनवरत विजयी बन्दै आएका देउवा प्रतिस्थापित बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
देउवा कहिल्यै पराजित बन्नु नपरेका कारण उनको देश, लोकतन्त्र, जनता र विकासप्रतिको समर्पणले मात्र पक्कै होइन । सधैं र निश्चित चुनाव चिन्हले गर्दा आफ्नो पार्टीको चिन्ह नै पूज्यदेवता सम्झने मनोवृत्ति र परम्पराले गर्दा कतिपय नयाँ सम्भावना र सिर्जनात्मक क्षमतालाई निषेध गरेको देखिन्छ । संसद्लगायत नीतिनिर्माणको थलोमा पुग्ने योग्य र स्वतन्त्र व्यक्तिलाई पार्टीहरूको स्थायी चुनाव चिन्हका कारण व्यवधान परेको देखिन्छ । चुनाव चिन्हको असमान वितरणले मर्का पर्ने नयाँ उमेदारहरू पनि छन् । फलानो चिन्हबाहेक आजसम्म अन्यत्र हात परेको छैन भनेर चुनाव चिन्हलाई माया गर्दा नयाँ र योग्य उमेदारलाई असहज भएको स्थिति पनि विद्यमान छ ।
पार्टी पुरानो र सो पार्टीको चिन्ह पुरानो भएका कारण नुतन सम्भावनालाई छेक्ने रोक्ने तगारो भएको कारण प्रखर सम्भावना र बुलन्द क्षमता भएका व्यक्ति राज्यको नीतिनिर्माण तहमा पुग्न रोकिने, विकास निर्माण कार्यान्वयनको थलोमा पुग्न वञ्चित भएको आजको टड्कारो अवस्था हो । चुनाव चिन्हको सिन्डिकेट र एकाधिकारको कारण सहभागितामूलक लोकतन्त्रमा प्रत्यक्ष÷परोक्ष घात गरेको छ । त्यसैले यसबारे गम्भीर बहस पैरवी र छलफल चलाउनु सान्दर्भिक छ ।
नयाँ सम्भावना चिचिलोमै निमोठिएको छ । चुनाव चिन्ह वर्णानुक्रम र कालक्रमिक वा आलोपालो एवं वैज्ञानिक वितरण प्रणालीबाट हुनुपर्छ । चुनाव चिन्ह एक चुनावका लागिमात्र हुने वैज्ञानिक मापदण्ड निर्धारण गरिनुपर्छ । दलहरूको चुनाव चिन्हको एकाधिकार र जबर्जस्ती रोक्नमात्रै सकियो भने पनि बहुदलीय व्यवस्थामा सीमित पार्टी सिन्डिकेट र एकाधिकार समाप्त भएर व्यक्तिको नीति र उसले अख्तियार गर्ने सिद्दान्त चुनिने प्रबन्ध सहज सरल र सम्प्रेष्य बन्न सक्ने सम्भावना बढ्छ ।
‘कम्फर्टेबल’ र ‘कन्फीडेन्ट हेल्दी’ र ‘इजी गोइङ’ नै उम्मेदारको लक्षण र विशेषता हुनुपर्छ । शासक बन्ने मानसिकता त्यागेर सेवक र व्यवस्थापक बन्ने प्रतिबद्धता र सामाजिक रूपमा परीक्षित व्यक्ति नै जनताको सच्चा उत्तराधिकारी बन्न सक्छ । जनतालाई पार्टीहरूले प्रशासन होइन, सेवा, शासक होइन, सेवक र प्रबन्धक उपलब्ध गराउनु पर्छ ।
विश्वव्यापी चिनिएको चुनाव चिन्ह र कहिल्यै नसुनिएको, नचिनिएको वा कम चिनिएको चुनाव चिन्हमा मतपत्रको सिरानमा सधैं रहने चुनाव चिन्ह र पुछारमा या बिचतिर रहने चुनाव चिन्हमा प्रतिस्पर्धा गराउनु एउटालाई हातखुट्टा बाँधिएका र खुला छोडिएका दुई भिन्न क्षमताका बिचको प्रतिस्पर्धा जस्तो हुन्छ, न्यायोचित बन्न सक्दैन । चुनाव चिन्हमा दलीय एकाधिकार अन्त्यमात्रै गरिन सकियो भने पनि अनुत्पादक क्षेत्र चुनाव चिन्हमा पार्टीहरूले गर्ने ठूलो धनराशी जोगिन्छ ।
विवेक र अन्तःप्रज्ञा भएको सौन्दर्य चेतना विकास गर्न सकियो भने समाज रूपवादी मात्रै भएर बस्दैन र पार्टीको चिन्हलाई मात्र आदर्श भनेर पुज्दैन । तीन पुस्ते कांग्रेस, तीन पुस्ते कम्युनिस्ट, हामी जहिल्यै राजावादी हामीले फलानो चिन्ह बाहेक अन्यत्र भोट हालेको छैन जस्ता अभिव्यक्ति विज्ञान सम्मत र सामाजिक रूपान्तरणका लागि ग्राह्य विषय होइनन् ।
समय र समाजको गतिशील चेत र अवधारणाले अवैज्ञानिक र पक्षपाती मान्यता बोक्न सक्दैन । त्यसैले चित्रमा होइन, चरित्रमा, लघुतामा होइन, व्यापकतामा, संकुचनमा होइन, फैलावटमा समाज विकासको मार्ग सहज बन्छ । चुनाव चिन्हको एकाधिकारवादी हैकम तोड्न नयाँ भाष्य सिर्जना गरेर ‘पब्लिक डिस्कोर्स’ चलाउन जति बिलम्ब गरियो, त्यति नै नयाँ नयाँ सम्भावना र पात्रमाथि अत्याचार थोपरिने क्रम बढ्ने छ ।
चिन्हभन्दा चरित्र व्यक्तिको आनिबानी, स्वभाव उसको दृष्टिकोण विकास योजना, उद्देश्य र लक्ष्य यावत सामाजिक चरित्र निर्णायक र अपरिहार्य हुनुपर्छ, तबमात्र सार्थक र गतिशील बन्छ प्रजातान्त्रिक प्रणाली । चुनाव चिन्हमा गरिने फजुल खर्च नियन्त्रण गर्न पनि स्थायी चुनाव चिन्ह दिने व्यवस्था हटाउनुपर्छ ।
स्थायी चुनाव चिन्ह हुँदा त्यस्तो चुनाव चिन्ह सदाका लागि रहने हुँदा चुनाव चिन्ह अत्यन्त आकर्षक निर्माण गर्ने पर्चा–पम्प्लेट धेरै र पछिसम्मका लागि बनाउँदा अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । तसर्थ स्थायी चुनाव चिन्ह, चुनाव चिन्हमा रहेको मोह र सौन्दर्यचेत बदल्नेतर्फ आगामी बहस मोडिनुपर्छ । सौन्दर्य सही विचार, चिन्तन, आचरण, नैतिकता अनि सामाजिक निष्ठा र निरन्तरतामा खोजिने दर्शनको विकास समयको माग हो ।
त्यसैले चिन्हमा होइन चरित्रमा, आवरणमा नभएर आचरणलाई प्राथामिकीकरण गरौं । विवेक र विचारको सौन्दर्यपान गर्ने वातावरण सिर्जना गर्न नवीन भाष्यलाई केन्द्रमा राखौं । कुनै पनि पार्टीको चुनाव चिन्हमा भन्दा उसको नीति राष्ट्रिय अवस्था र त्यसलाई प्रवर्तन गर्ने नेताको व्यक्तित्व पारख गरेर निर्णयको लाहाछाप लगाउने नवसंस्कृति सिर्जना गर्न लागि परौं ।
चिन्ह अस्थायी प्रयोजन मात्र हो, चरित्र स्थायी व्यवहार अतःएव चरित्रप्रधान संस्कृति प्रबद्र्धनमा ध्यान पुर्यायौं । विवेक बन्धक राखेर होइन, स्वतन्त्र भएर निर्णय गरौं । चुनाव चिन्ह सदा एकै हुने परिपाटी त्याग्न बौद्धिक बहस आवश्यक छ । चित्रप्रधान होइन, चरित्रप्रधान समाज निर्माण गरौं । कुनै पनि एकाधिकार अस्वीकार गर्ने सामाजिक चेतले पार्टीहरूको स्थायी वर्चस्वको चुनाव चिन्हबारे प्रश्न गर्नु अनैतिक, अव्यावहारिक र अपसंस्कृति पक्कै होइन । चिन्हको एकाधिकार भन्जन आगामी विमर्शको प्रमुख एजेन्डा हो । चुनाव विचार योग्यता इमान र एजेण्डाले जित्ने हो, चुनाव चिन्हले होइन । तसर्थ स्थायी चुनाव चिन्हको उपादेयताबारे बहस गरौं ।