आज विवाह पञ्चमी : जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै
जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ सम्पन्न हुँदै छ। साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार मटकोर विधि सम्पन्न भएको छ। धार्मिक तथा ऐतिहासिक गंगासागर पोखरीमा ढोलबाजासहित पुगेका जानकी मन्दिरका महन्थ तथा पूजारीहरूको टोलीले माता सीताको प्रतीकात्मक स्वरूपलाई राखेर मटकोर विधि सम्पन्न गरिएको हो।
मटकोर विधिमा राम र सीताको प्रतिकात्मक रूप बनाइएका बालबालिकालाई पानीले चोख्याउने परम्परा छ। यस विधिमा सहभाहिता जनाउन हजारौंको संख्यामा श्रद्धालुहरू गंगासागरमा जम्मा भएका थिए। मटकोर विधि सम्पन्न भएसँगै रामसीता विवाहको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए। ‘आज मुख्य उत्सव छ। जानकी मन्दिरबाट माता जानकीको डोला र राम मन्दिरबाट भगवान् रामको डोलालाई नगर परिक्रमा गराएर रंगभुमी बाह्रबिघा मैदानमा पुर्याएपछि हामी भव्य स्वम्बर विधि सम्पन्न गर्ने छौं। स्वम्बर सम्पन्न भएर डोला मन्दिरमा फर्केर आउँछ र त्यसपछि साँझको बेलाबाट विवाहको मुख्य कार्यक्रम जानकी मन्दिरको प्रांगणमा बनाइएको मण्डपमा सम्पन्न हुने छ।’
यता, मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको अयोध्याबाट विवाहपञ्चमी महोत्सवमा भगवान् रामको जन्ती बनेर आएका पाहुनाहरूलाई मधेस प्रदेश सरकारको प्रशासनिक भवन मधेस भवनमा स्वागतसहित दिवा भोजन गराएर सम्मान गरेका छन्।
मुख्यमन्त्री सिंहले भारतको अयोध्याबाट रामजन्मभूमि ट्रस्टका महासचिव चम्पत रायको नेतृत्वमा पाँचसयको संख्यामा आएका जन्तीलाई मिथिला भोजन खुवाएर सम्मान गरेका हुन्।
प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने, ‘यस महोत्सवले दुई देशबीचको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्रेतायुगको झझल्को आउने यस महोत्वमा अयोध्याबाट आएका जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय रहेको छ।’
‘मिथिलामा जन्तीका रूपमा आएपछि भएको स्वागत र सत्कारले निकै खुसी र आनन्दित बनाएको छ,’ भारतको अयोध्याबाट जन्तीको नेतृत्व गरि आएका रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायले भने, ‘यस महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाउने छ।’