एकै स्थानमा आमासहित तीनजना झुन्डिएको फेला परेपछि श्रीमान नियन्त्रणमा
नुवाकोट : नुवाकोटको नुचेतमा आमासहित दुई नाबालक छोराहरू एकै स्थानमा मृत अवस्थामा फेला परेपछि एक पुरुष प्रहरीको नियन्त्रणमा परेका छन्। प्रहरीले मृतक महिलाको जेठानी लगायतसँग सोधपुछ सुरु गरी अनुसन्धान सुरु गरेको छ।
किस्पाङ गाउँपालिका-१ नुचेत, भाल्चेमा आइतबार रेशबहादुर घलेको घरभित्र कोठामा उनकी पत्नी र दुई छोराहरू झुन्डिएर मृत अवस्थामा फेला परेका थिए। त्रिशूली अस्पतालमा पोस्टमार्टम गरी शव सोमबार आफन्तको जिम्मा लगाइएको छ।
घरभित्र कोठामा आमा २४ वर्षीया चन्दिमाया तामाङ, ६ वर्षीय छोरा रोशन घले र अर्का छोरा ३ वर्षीय रोमन घले झुन्डिएको अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले महिलाका श्रीमान २५ वर्षीय रेशवहादुर घलेलाई नियन्त्रणमा लिएको छ। प्रहरीले विशेष रूपमा घटनाको अनुसन्धान सुरु गरिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय विदुर नुवाकोटबाट डीएसपी भारतीको एउटा टोली र फिकुरी प्रहरी चौकीबाटप्रहरी अधिकृतको छुट्टै टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीले प्रहरीलाई दिएको जानकारी अनुसार शनिबार मृतक महिला र पति रेशबहादुर घलेबीच घरायसी विवाद भएको थियो।
प्रहरीले महिलाका श्रीमान रेशबहादुर घलेलाई नियन्त्रणमा लिएर हिरासतमा राखेर अनुसन्धान गर्न नुवाकोट अदालतबाट सोमबार पाँच दिनको म्याद थपको अनुमति लिएको डीएसपी भारतीले बताए। मृतक महिलाकी जेठानी २५ वर्षीया प्रेमिका माया र दाजु ३१ वर्षीय चोक्ता लामालाई नुवाकोट प्रहरीले सोमवार बयान लिएको छ।
गाउँमा बिहानको समयमा पति रेशबहादुर बारीमा केराउ टिप्न गएको समयमा घटना घटेको स्थानीयवासीले बताए स्थानीयवासीका अनुसार अघिल्लो दिन मृतक र पतिबीच घरायसी विवाद हुँदा पति रेशबहादुरले पत्नीलाई दुई थप्पड हानेको डीएसपी भारतीले बताए।