भैरहवाबाट उडान झिक्दै वायुसेवा

भैरहवाबाट उडान झिक्दै वायुसेवा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान झिक्ने गरी वायुसेवा कम्पनीहरूले पहल थालेका छन्। जजिरा, फ्लाई दुबई र कतारले भैरहवामा गर्दै आएको अन्तर्राष्ट्रिय उडान रोक्न पहल थालेका हुन्। यो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। सञ्चालनमा आएपछि एकैपटक चार वायुसेवा कम्पनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका हुन्। 

मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान झिक्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। प्राधिकरणको विन्टर (जाडो) महिनाको उडान तालिका (२७ अक्टुबरदेखि ३१ मार्च) मा ५ अन्तर्राष्ट्रिय वायुसेवाले उडान भर्दै आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाका लागि आंशिक रूपमा बन्द भएपछि नेपाल एयरलाइन्ससहित कतार, फ्लाई दुबई, एयर एसिया र जजिराले भैरहवाबाट उडान सुरु गरेका हुन्। 

भैरहवामा हप्तामा २४ अन्तर्राष्ट्रिय उडान हुँदै आएका थिए। कतारले पहिला नै नोभेम्बर ३० सम्ममात्र उडान गर्ने भनेको थियो। बाँकीले मार्च ३१ २०२५ अर्थात् विन्टर तालिकाको पूरै अवधिभर नै उडान गर्ने भनेका थिए। सोही अनुसार उडान भइरहेका थिए। तर, भैरहवा विमानस्थलमा बिहानको मौसममा भिजिबिलिटी कम हुँदा उडानमा असर गरेको गुनासो वायुसेवाहरूको रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘मौसमका कारणले उडान होल्ड हुने, डाइभर्ट हुने कारणले गर्दा सञ्चालन खर्च बढेको छ। त्यसै त भैरहवाबाट यात्रु कम छन्। मौसमको कारणले फ्लाइट डाइभर्ट भएर काठमाडौं आउनुपर्ने र फेरि भैरहवा जानुपर्ने अवस्था भयो,’ भुलले भने। 

यसले एकातिर काठमाडौंको एयर ट्राफिक डिस्टर्ब भइरहेको छ भने यात्रुले पनि धेरै समय पखिर्नुपर्ने अवस्था रहेको छ। अहिलेको लागि जजिराले पहिला नै जनवरीमा उडान नभर्ने गरी बीचमा अप्लाई गरेको र उक्त विमानको सेडियुल त्यही तरिकाले स्वीकृत भएको भुलले बताए। उनका अनुसार जजिरालाई बीचमा बे्रक नगर्न प्राधिकरणले भनेको छ। थाई एयर एसिया र फ्लाई दुबईले केही समयका लागि उडान झिक्ने गरी प्राधिकरणलाई पत्र पठाएका छन्। 

जनवरी अन्तिमबाट मौसममा सुधार भएपछि फेरि सुरु गर्ने भनेको भुलले बताए। भैरहवामा उडान रोक्ने सम्बन्धमा सम्बन्धित वायुसेवा कम्पनी र प्राधिकरणबीच सोमबार छलफल भएको छ। 

प्राधिकरणले सबै कम्पनीहरूलाई उडान नरोक्न आग्रह गरेको छ। यसमा कम्पनीहरू पनि सकारात्मक नै भएको भुलले बताए। मौसमका कारणले उडान रद्द नै गर्नेभन्दा पनि मौसमी जानकारी लिएर सही समयमा उडान गर्ने गरी उडान तालिका परिवर्तन गर्न प्राधिकरणले सुझाएको छ। 

प्राधिकरणले भैरहवामा भइरहेको भिजिविलिटीलाई कम गर्न यही जनवरी २३ मा रिक्यायर्ड नाभिगेसन पर्फमेन्स अथोराइजेशन रिक्वायर्ड (आरएनपीएआर) जडान गर्ने तयारी गरेको जानकारी दिएको छ। अहिले भैरहवामा भीओआरडीएमी एप्रोचबाट विमान उडान तथा अवतरण भइरहेको छ।  भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा यस एप्रोजबाट भएको अवतरण हुँदा भिजिबिलिटी १८ सय मिटर चाहिन्छ। भैरहवामा इन्स्टु«मेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) छ। तर, भारतीय अनुमति नपाएर यो प्रणाली लागू हुन सकिरहेको छैन। त्यसको विकल्पको रूपमा आरएनपीएआर एप्रोच लागू गर्न लागेको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्।

यो भनेको सेटेलाइट बेस नेभिगेसन प्रणाली हो। ग्राउन्डमा कुनै पनि प्रविधि जडान गर्नु नपर्ने र प्रणाली (प्रोसिडियर) को कार्यान्वयनमा मात्र ध्यान दिनुपर्ने हुँदा यसलाई प्रयोगमा ल्याउन सकिने भूलले बताए। ‘प्रोसिडियर डिजाइनअन्तर्गत जहाज कसरी ल्यान्ड गर्ने, कुन एप्रोचमा गर्ने, कसरी टेकअफ गर्ने त्यसको एप्रोज प्रोफाइल कस्तो हुने,स्ट्यान्डर्ड इन्टु«मेन्ट डिपाचर सिटलगायत सबै डिजाइन भइसकेको छ,’ उनले बताए। आरएनपीएआर जडानपछि भैरहवामा ८ सय देखि ९ सय मिटरको बीचको भिजिबिलिटीमा ल्यान्ड गर्न सकिने भुलले जानकारी दिए। जाडो समयमा बिहान हुन सक्ने कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न यो उपयोगी हुन सक्ने भनिएको छ। यसले फ्लाइट डाइभर्सनलाई पनि कम गर्ने अपेक्षा गरिएको छ। 

काठमाडौं विमानस्थल बन्द हुँदा प्राधिकरणले अन्य २ अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि विकल्प दिएको थियो। त्रिभुवन विमानस्थलमा हुने ३० प्रतिशतको उडान कटौतीलाई २० प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट र बाँकी १० प्रतिशत पोखराबाट उडान गराउने प्राधिकरणले विकल्प दिएको थियो। गौतमबुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन सरकारले पनि ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट र अन्य ल्यान्डिङ, पार्किङलगायत सबैमा निःशुल्कको व्यवस्था गरेको छ। सरकारले २०८३ सालसम्म यस्तो छुटको घोषणा गरेको छ। यात्रुहरूको सन्दर्भमा पनि यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा ३ हजार विमानस्थल शुल्क, १ हजार पर्यटन शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि छुट दिइएको छ। सुरुमा नै भैरहवा र पोखरामा यात्रु नपाउन सकिन्छ भनेर नै कम्पनीहरूको सहजताका लागि सरकारले छुट दिएको सूचना अधिकारी भुल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.