जहाँ पुगे रवि, त्यही प्रदर्शन
काठमाडौं : सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अहिले बयान भइरहेको छ। सरकारी वकिल कार्यालय पर्सामा उनको बयान भइरहेको छ। उनको बयान जारी रहेकै बेला बाहिर रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उनका समर्थकहरुले पर्साको बीरजंगमा प्रदर्शन गरिरहेका छन्।
उनीहरूले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरले रवि लामिछानेलाई न्याय दे,जनता झुक्काउन पाइँदैन,राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार पर्सा पुर्याएको हो। सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई अनुसन्धानका लागि काठमाडौं,चितवन र बुटवल पुर्याएको थियो। त्यहाँ अनुसन्धान सकिएपछि उनलाई पर्सा ल्याएको हो। अनुसन्धान सकेपछि उनलाई पुन: कास्की लैजाने प्रहरीको तयारी छ।