सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो, लिखित बाँकी

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो, लिखित बाँकी
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयमा झण्डै ४ घण्टा बयान लिइएको छ ।  

मंगलबार बिहान ९:१५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई प्रहरीले लगेको थियो । त्यहाँ सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग झण्डै ४ घण्टा बयान लिएका हुन्। मंगलबार बयानका क्रममा लामिछानेलाई १७ वटा प्रश्न सोधिएको प्रहरी श्रोतले जनाएको छ । त्यसपछि लामिछानेलाई दिउँसो १.३० बजे सरकारी वकिलको कार्यालयबाट फेरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको छ । 

पर्साको सरकारी वकिलको कार्यालयमा मंगलबार लामिछानेसँग करिब ४ घण्टा बयान लिइएको र अब यसपछि उनीसँग लिखित बयान हुने मुख्य न्यायाधिवक्ता निरौलालले जानकारी दिए । लामिछानेलाई मंगलबार पनि प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा राख्ने र बुधबार मात्रै पोखरा फिर्ता पठाउने जानकारी आफूले पाएको रास्वपाका जिल्ला संयोजक हरि पन्तले जानकारी गराए । 

सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकमपनि हिनामिना गरेको आरोपमाा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । 

सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा पनि लगिएको थियो। वीरगन्जको सानो पाइला  सहकारीमा बचतकर्ताले जम्मा गरेकोमध्ये साढे ८ करोड बढी रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि सोमबार साँझ ५ बजेतिर वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याइएका लामिछानेलाई सोमबार रातभर जिल्ला प्रहरी कार्यालयमै राखिएको थियो । 

यस्तै सानो पाइला सहकारी प्रकरणमै अनुसन्धानका लागि सोमबार बिहान वीरगन्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशी र राम बहादुर खनाललाई भने सोमबार नै बयान लिने काम सकाएर मंगलबार बिहान स्थलमार्ग हुदै पोखरा फिर्ता पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको थियो ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटकर्वको खातामा सानो पाइलाबाट सात पटक गरी ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो। अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो। संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए। त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ। प्रहरी अनुसन्धानपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन्। सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए। प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन्।

रास्वपाका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

मंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयबाट बयान सकाएर रास्वपा सभापति लमिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउने क्रममा प्रहरी कार्यालय अगाडि रास्वपा र प्रहरीबीच घम्साघम्सी भएको छ ।
 
लामिछानेको समर्थनमा वीरगन्जको घण्टाघर चोकबाट मंगलबार दिउँसो प्रदर्शन सुरु गरेका रास्वपाका नेता–कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुग्नु अगावै प्रहरीले लामिछानेलाई सरकारी वकिल कार्यालयबाट बयान सकाएर प्रहरी कार्यालयमा ल्याइसकेको थियो । 

लामिछानेलाई प्रहरी कार्यालयमा पुर्याएको केहिबेरमै नाराबाजी गर्दै आएका रास्वपाका कार्यकर्ताहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो । रास्वपाका कार्यकर्ताहरु प्रहरीको बेरियर छिचोलेर प्रहरी कार्यालय तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा दुवै पक्षबीच केहिबेरसम्म घम्साघम्सी नै भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.