के पान्छेन लामालाई नेपाल ल्याउने प्रयास भएको हो ?
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले नियुक्त गरेका विवादास्पद धर्मगुरु पान्छेन लामा नेपाल आउन लागेको बताइएको छ। धर्मगुरू लामालाई नेपाल ल्याउने प्रयास भएको विभिन्न स्रोतहरूले पुष्टि गरेको छ । पान्छेन लामा अर्थात् ग्यात्सेन नोर्बु आगामी शुक्रबार नेपालमा आयोजना हुने 'नानहाई बुद्धिज्म राउन्ड टेबल'मा सहभागी हुन आउने तयारीको विषय नेपाल र भारतका बौद्धधर्मावलम्बीहरूबीच फैलिरहेको छ। उनको संभावित भ्रमणले अमेरिका, भारत, र तिब्बतका पर्यवेक्षकहरूको ध्यान खिचेको छ । बेइजिङको राजनीतिक उद्देश्यहरू पुनः एकपटक प्रस्ट रूपमा देखिएका छन् । तर ,नेपालमा उनको आगमनको विषयलाई लिएर चौतर्फी विरोध भएपछि चीनले उनलाई ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न समेत उठेको छ ।
‘नोर्बुलाई चीन बाहिर ल्याउन गरिएको यो स्पष्ट र रणनीतिक प्रयास केवल आध्यात्मिक पहुँचको सामान्य कदम होइन,'यो तिब्बती बौद्ध धर्ममाथि आफ्नो नियन्त्रण बलियो बनाउने र विश्वव्यापी बौद्ध समुदायहरूमा आफ्नो प्रभाव विस्तार गर्ने चीनको सुनियोजित प्रयास हो,'यो संयोग मात्र होइन् स्रोतले अन्पूर्णसँग भन्यो ।’
डिसेम्बर १२ देखि १५ सम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्डटेबलमा करिब २० देशका सरकारी अधिकारीहरू, भिक्षुहरू, र विद्वानहरू भेला हुँदैछन् । उक्त कार्यक्रममा बेइजिङले चयन गरेको धार्मिक प्रतिनिधि ग्यात्सेन नोर्बुले धार्मिक सद्भावको वहानामा आफूलाई वैध बौद्ध नेता भनेर प्रकट हुने तयारी गरेका हुन् । उनी नेपाल आएर उक्त कार्यक्रममा हुनु भनेको आस्थाका लागि नभइ नियन्त्रणका लागि भएको बताइएको छ ।
विश्वभर सम्मानित ८९ वर्षीय दलाई लामाले आफ्नो पुनर्जन्मको अधिकार आफूमा निहित राखेका छन् । तर,चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले आफ्नो मनोनित उत्तराधिकारीलाई थोपर्ने आधार तयार पारिरहेको उमाथि आरोप लागेको छ । परम्परागत तिब्बती प्रक्रियामा नोर्बुलाई पान्छेन लामाका रूपमा प्रयोग गरेर आगामी दलाई लामालाई निस्तेज गर्ने र तिब्बतको आध्यात्मिक सम्पदामाथि बेइजिङको नियन्त्रणलाई वैधता दिने प्रयास भइरहेको बताइएको छ ।
सन् १९९५ मा वास्तविक पान्छेन लामा गेदुन छोएकी न्यिमाको अपहरणपछि नियुक्त गरिएका ग्यात्सेन नोर्बु सीसीपीको मात्र राजनीतिक उपकरण बनेको चीनमाथि आरोप लाग्दै आएको छ । गेदुन,जसलाई परम पावन दलाई लामाद्वारा मान्यता दिइएको थियो । नोर्बुको वैधता पूर्णरूपमा नास्तिक चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सिर्जना गरिएको बताइएको छ।
सन् २०१९ मा नोर्बुले विवादास्पद थाइल्यान्ड भ्रमण गरेका थिए । बेइजिङले तिब्बती बौद्ध धर्मलाई चिनियाँकरण गर्ने ठूलो रणनीतिका कारण विवादास्पद धर्मगुरुलाई बेला बेला चीनले विभिन्न मुलुक पुर्याउने गरेको छ । सीसीपीद्वारा नियन्त्रित चिनियाँ बौद्ध संघको उपाध्यक्षका रूपमा उनको भूमिका आध्यात्मिक सिद्धान्तहरूमा होइन,पार्टीको एजेन्डामा उनको निष्ठा रहेको स्पष्ट रहेको छ ।
नोर्बुको नानहाई राउन्डटेबलमा उपस्थिति गराउने योजना संयोग मात्र नभएको जानकारहरू बताउँछन् । यो बेइजिङको नेपाल र भारतलाई बौद्ध धर्मको आध्यात्मिक केन्द्रका रूपमा चुनौती दिने र दलाई लामाको वैश्विक बौद्ध समुदायमा रहेको प्रतिष्ठालाई कमजोर बनाउने व्यापक प्रयासको हिस्सा रहेको सो विषयका अनुसन्धानकर्ता बताउँछन् । चिनियाँ कम्युनिष्ट पार्टीले नोर्बुलाई तिब्बतमा गरेको क्रूर दमनलाई छोपछाप गर्न, गेदुन छोएकी न्यिमालाई बलपूर्वक वेपत्ता बनाउन र तिब्बती संस्कृतिको विनाश गर्न उद्धत रहेको उनीहरू बताउँछन् ।
जानकारहरूका अनुसार,गत सेप्टेम्बरमा बेइजिङबाट नेपालमा एक चार्टर्ड विमान अवतरण गराइएको र उक्त प्रयास नोर्बुलाई नेपाल भ्रमण गराउने तयारी स्वरुप थियो । सुरक्षा विशेषज्ञहरू अनुसार, नोर्बुलाई नेपाल ल्याउने प्रयास गरिनु उनको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने सुनियोजित प्रयासको हो । चीनले जति मेहनत,प्रचारप्रसार र दबाब दिएपनि तिब्बतीहरूले नोर्बुलाई सत्य पान्छेन लामा स्वीकार्न अस्वीकार गरिसकेका छन् । सन् २०२३ मा चाम्दो भ्रमणका क्रममा नोर्बुको आशीर्वाद कार्यक्रममा सहभागी हुन तिब्बतीहरूलाई प्रतिव्यक्ति १०० युआन तिर्ने सीसीपीले उर्दी जारी गरेको र त्यसले सक्कली तिब्बती समुदायमा नैराश्यता छाएको थियो । बेइजिङले दलाई लामा र वास्तविक पान्छेन लामाका तस्बिरहरूको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउँदै आए पनि तिब्बतीहरूले ती तस्बिहरू पवित्र मान्दै आएका छन् ।
गेदुन छोएकी न्यिमा, जो ६ वर्षको उमेरमा चीनको अपहरणमा परेका थिए । उनी लगभग तीन दशकदेखि हराइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले चीनको उक्त कदमको विरोध गरेपनि उनको अवस्था अझै अज्ञात छ । बेइजिङले अस्पष्ट र प्रमाणित गर्न नसकिने दावीहरू प्रस्तुत गर्दै आएको छ ।
तिब्बती निर्वासित सरकारका अध्यक्ष पेन्पा त्सेरिङले चीनले तिब्बती बौद्ध धर्ममा हस्तक्षेप गरिरहेको र उनले त्यसको बारम्बार आलोचना समेत गरेका छन्। उनले वास्तविक पान्छेन लामा जेलमा रहेको र चीनले आफ्नो कठपुतलीलाई पान्छेन लामा भन्दै संसारभर झूट फैलाउँदै घुमाइरहेको बताए ।
- सम्बन्धित विषय विज्ञहरूसँगको कुराकानीका आधारमा।