जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनुपर्छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनुपर्ने बताएका छन्।
फिलिपिन्सको मनिलामा जारी ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औं उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’लाई मंगलबार सम्बोधनका क्रममा उनले नेपालले समेत बेमौसमी वर्षा र बाढीका कारण ठूलो नोक्सानी व्यहोर्न परेको बताए।
स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन गरी विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवश्यकता रहेकोमा उनको जोड थियो। दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जननमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ।
सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आआफ्नो देशमा भई रहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफलको कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदूषण सम्बन्धी लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ।
मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी रहेका छन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी छन्।
कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरूको आयोजनामा भएको हो। ४ दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ।