दिवा खाजामा विद्यार्थीले उत्पादन गरेको तरकारी प्रयोग
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र रहेको थाङ्पालभ्याली माध्यमिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेको छ।
विद्यालयमा रहेका इको क्लब र स्वास्थ्य क्लबका विद्यार्थीले टनेलभित्र उत्पादान गरेको तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गरिँदै आएको विद्यालयका प्रधानाध्यापक राजु तामाङले जानकारी दिए। ‘हामीले खाजामा प्रयोग गर्ने गरेको तरकारी यहीँ उत्पादन भएका तरकारीहरू हुन्। विद्यार्थीले उत्पादन गरेको तरकारी प्रयोग गर्दा विद्यार्थीलाई पनि आय आर्जन हुने र ताजा तरकारीले खाजा ग्रहण गर्ने विद्यार्थीलाई पनि फाइदा हुने भएकोले यसो गरेका हौं’, प्रधानाध्यापक तामाङ भन्छन्, ‘ज्ञानलाई सीपसँग जोड्ने र सीपलाई श्रमसँग जोड्दै आत्मनिर्भर बनाउने राज्यको नीति अनुसार विद्यार्थीलाई सीपसँग जोडेर आयआर्जनको बाटो बनाउन सुरु गरेका छौं।’
दिवा खाजालाई अर्गानिक बनाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएका स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित विद्यालय करेसाबारी कार्यक्रमलाई लागू गरिएको उनले बताए। विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका तामाङको भनाई छ। यस कार्यक्रमले विद्यालयमा विद्यार्थीहरूलाई कृषि सम्बन्धी थप ज्ञान र सीप प्रदान गरेको विद्यालयले जनाएको छ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले कार्यक्रम प्रभावकारी भएको बताए। विद्यालयमा जंकफुड निषेध र विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको अध्यक्ष सापकोटाले जानकारी दिए। विद्यालयलाई नमुना बनाउन साथै प्राविधिक विद्यालय बनाउनका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारसँग पनि कार्यक्रम माग गरी विद्यालयलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा मार्फत गुणस्तरीय शिक्षा प्रदान योजना रहेको जनाए।
विद्यार्थीहरूलाई तरकारी उत्पादन सम्बन्धी तालिम दिनुका साथै नर्सरी व्यवस्थापन, सिजन अनुसार तरकारी उत्पादन, झोल मल तयारी लगायतको तालिम कोईका संस्थाको इआरसिएन परियोजनाले प्रदान गर्दै आएको छ। विद्यार्थीहरूलाई ज्ञान सँगसँगै सीपको लागि विद्यालय करेसाबारी कार्यक्रम मार्फत काम गरिरहेको कोइकाका फिल्ड संयोजक कुमार भट्टराईले जानकारी दिए।
विद्यार्थीहरुले सिकेको सीप र ज्ञान आफ्नो घरको करेसाबारीसम्म पुग्ने र आमा बुबाको आय आर्जन समेत बृद्धि हुने हुँदा यस कार्यक्रम प्रभावकारी रहेको संस्थाले जनाएको छ। विद्यालयमा उत्पादित तरकारीबाट विद्यालयले बाल क्लबको कोषमार्फत विभिन्न सन्देश र जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ।
बिदा र छुट्टीको समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटा आफैँले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्ने गरेको विद्यालयले जनाएको छ। कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ। बन्दा, काउली, साग, धनियाँ, चम्सुर, खुर्सानी प्रजातिका तरकारी विद्यार्थीले लगाएका छन्। उनीहरूले लगाएको तरकारी विद्यालयले खरिद गरी दिवा खाजामा प्रयोग गर्ने गरेको छ।