बारपाककी सुचिना हत्याका अभियुक्त सार्वजनिक
गोरखा : गत मंसिर १५ गते जंगलमा मारेर गाडिएको अवस्थामा भेटिएकी सुचिनाको हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन्। बलात्कारको प्रयास असफल भएपछि आफूले हत्या गरेको पक्राउ परेका अभियुक्त मन सम्जेर गुरुङले प्रहरीमा बयान दिएका हुन्।
नौ दिनको अनुसन्धानपछि ४३ वर्षीय गुरुङलाई प्रहरीले सोमबार बिहान तीन बजे घरबाट पक्राउ गरेको थियो। प्रहरीले मंगलबार उनीबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
मङ्सिर १५ गतेदेखि हराइरहेकी १८ वर्षीया सुचिना गुरुङको शव प्रहरी र बारपाकका स्थानीयवासीको संयुक्त खोजी टोलीले १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा फेला पारेको थियो।
यसअघि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले सोमबार बिहान स्थानीय एक विद्यालयका शिक्षक मन सम्जेर गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। घटना स्थलमा भेटिएका कम्ब्याट टोपी, उनीको टोपी, डोको, नाम्लोका आधारमा सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार समेत गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा प्रहरीले अभियुक्तको खोजी गर्न र नियन्त्रणमा लिन सहयोग गरेकामा बारपाकका बासिन्दालाई धन्यवाद दिएको छ।
मृतककै हँसिया प्रहार गरी हत्या गरेको स्वीकार
काशिगाउँ माइत भएकी सुचिना घले गत वैशाखमा बिहे गरी बारपाक पुगेकी थिइन्। उनी मंसिर १५ गते घाँस काट्न भनी गाउँबाट डेढ घण्टाको उकालो हिँडी मैखर्क जंगल पुगिन्। साँझसम्म पनि घर नफर्केपछि गाउँलेहरु खोज्न गए, तर भेटेनन्। भोलिपल्ट पनि फेला पार्न नसकेपछि उनीहरुले सोमबार मात्र बारपाक प्रहरी चौकीमा निवेदन दिए। स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय जौवारी र बारपाक प्रहरी चौकीको टोलीले खोजी कार्यलाई तीव्र बनायो। स्थानीय र प्रहरीको संयुक्त टोलीले मंसिर १८ गते जंगलमा खाडल खनेर पुरेको अवस्थामा सुचिनाको शव क्षतविक्षत अबस्थामा फेला पर्यो।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली घटनास्थलतर्फ लाग्यो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विज्ञ टोली पनि घटनास्थलमा खटियो। केही दिनमा फेरि प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धानका विज्ञहरुको टोली त्यहाँ खटियो।
नौ दिनसम्म लगातार अनुसन्धान गरेपछि गत सोमबार बिहान तीन बजे प्रहरीले मन सम्जेरलाई पक्राउ गर्यो। सोधपुछको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरे। प्रहरीमा दिएको बयानअनुसार उनी पनि त्यो दिन घाँस काट्न सोही जंगलतर्फ गएका थिए। बीच बाटोमा उनले सुचिनालाई भेटे। एक्लो युवतीलाई एकान्त जंगलमा देखेपछि उनले करणीको प्रयास गरे। दुईपटकसम्म प्रयास गर्दा असफल भएपछि उनले बल प्रयोग गर्न खोजे। तर सुचिनाको कडा प्रतिकारपछि सुचिनालाई भुईमा लडाएर उनको मुखमा घाँस, गोबर र माटो कोचेर मारेको स्वीकार गरेका छन्।
घटनास्थलदेखि करिव ५० मिटर माथि खाडल खनेर सुचिनाको शव पुरेको पनि उनले स्वीकार गरे। सुचिनाको शव बोक्न मृतककै ज्याकेट र नाम्लोको सहारा लिएको पनि उनले स्वीकार गरे। घटनापछि आफूले दुई पटकसम्म सुसाइड नोट लेखेर आत्महत्याको प्रयास गरेको पनि उनले प्रहरीसामु जनाएका छन्।