मोरङबाट स्रोत नखुलेको साढे ४७ लाख बरामद
विराटनगर : मोरङको रंगेली नगरपालिका–८ दर्वेसाबाट स्रोत नखुलेको साढे ४७ लाख रुपैयाँ बरामद भएको छ। दर्वेसाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रुपैयाँ बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनका अनुसार व्यक्तिको घरबाट मंगलबार दिउँसो १ हजार र ५ सय दरका नेपाली रुपैयाँ बरामद भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा दिउँसो ३ बजेतिर छापा हानेको थियो। घरको कोठाबाट स्रोत नखुलेको रकम बरामद भएको चिमरियाले बताए।
उनका अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो। घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएपछि घरधनी अग्रवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धान सुरु भएको जानकारी एसपी चिमरियाले दिए।