तनहुँ जलविद्युत् निर्माण प्रगति ६३ प्रतिशत

तनहुँ जलविद्युत् निर्माण प्रगति ६३ प्रतिशत
सुन्नुहोस्

काठमाडौं : तनहुँस्थित सेती नदीमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निर्माणको प्रगति ६३ प्रतिशत पुगेको छ। १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ आयोजनाको २०८३ साल असारमा सम्पन्न गर्ने योजना रहेको छ। एसियाली विकास बैंक (एडीबी) को मुख्य ऋण लगानीमा निर्माणाधीन उक्त आयोजनाको एडीबी र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ। 

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएका हुन्। 

टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरू, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो।

कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत रूपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो। तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराए। 

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन) मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँग पनि छलफल गरेको थियो। जग्गासम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरियो। 

आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरूको कार्यान्वयन र प्राविधिक पक्षमा एडीबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न आग्रह गरे। 

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए। 

विद्युत्गृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई निर्देशन दिए। प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ। क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ। मुख्य बाँध निर्माण छिट्टै सुरु गर्न लागिएको छ। प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ। प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपाल जेभीले गरिरहेको छ। 

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। 

विद्युत् गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ। स्विजयार्ड निर्माण, विद्युत्गृहमा रहने उपकरणहरू जडानलगायतका कार्यहरू भइरहेका छन्। टेलरेस निर्माण सम्पन्न भएको छ। यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ। 

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ। ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ वटामध्ये ७८ टावरहरूको जग हालिएको छ भने ६९ वटा खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.