देश विकासको वैश्विक मनोविज्ञान
राष्ट्रिय विकासमा अन्तर्राष्ट्रिय मनोविज्ञानले विभिन्न राष्ट्रका विकास लक्ष्य, चुनौती, सम्भावना र समाधानलाई बुझ्न मद्दत गर्छ।
चिन्न, बुझ्न र खोज्न सक्नुमात्र पर्छ, चुनौतीभित्र अवसरसँगै आएका हुन्छन्। संकटको समयमा पनि सकारात्मक दृष्टिकोण विकास गर्न सक्यौं भने त्यही संकटलाई स्वर्ग बनाउन सकिन्छ। मात्र एउटा उदाहरण मनन् गरौं, कोभिड–१९ त्यसबेला विश्व महामारीका रूपमा आयो, जुन समयमा ‘अवसरको खडेरीमा नवप्रवर्तन’ अर्थात् ‘इनोभेसन इन क्राइसिस’ मनोविज्ञानले धेरै देशलाई डिजिटल स्वरूपमा पुर्यायो अनि अभ्यस्त पनि बनाइदियो।
संकटमा नेतृत्वको मनोविज्ञान : विश्वका विभिन्न राष्ट्रहरूको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक उन्नति गर्ने प्रक्रियालाई असर पार्ने मनोवैज्ञानिक दृष्टिकोण र सोचाइको अध्ययन नै देश विकासको वैश्विक मनोविज्ञान हो। राष्ट्रिय विकासमा अन्तर्राष्ट्रिय यो मनोविज्ञानले विभिन्न राष्ट्रहरूको विकासका लक्ष्य, चुनौती, सम्भावना र तिनको समाधानका प्रक्रियाहरूलाई समग्रमा बुझ्न मद्दत गर्छ। विश्वका अधिकांश देशभित्र गरिबीको नराम्रो चित्रण छ। धनी र विकसित भनिएका देशभित्रको गरिबी, बेरोजगारी र असमानता झनै डरलाग्दो भेटिन्छ। जसबाट नेपाल पनि अछुतो छैन। यस्तो अवस्थामा नागरिकको मनोविज्ञान नकारात्मक बन्नु स्वाभाविक नै हो। जसले उनीहरूको क्षमता उपयोग गर्न अवरोध पुर्याउँछ। यस्तो बेला नेतृत्वको मनोविज्ञानले काम गर्नुपर्छ।
को बन्ला नेपालको विकासमा छलाङ मार्ने नेता ?: नेपालको सन्दर्भमा नेतृत्वको मनोविज्ञानमा खडेरीपन छ भन्दा अत्युक्ति नहोला। किनकि नेतृत्वले विकासको गति र दिशा निर्धारण गर्छ। वैश्विक परिवेश नियाले पुष्टि मिल्छ कि प्रभावकारी नेताले मात्र आफ्नो मुलुकलाई सही मार्गमा लगेका छन्। दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाले हरेक अप्ठ्यारा चिर्दै विश्वमा उदाहरणीय बनाएर आफूलाई उभ्याए। छिमेकी भारतका महात्मा गान्धी हुन् वा चीनका राष्ट्रपति सी जिनपिङ, यी नेताहरूले जनताको मनोविज्ञानमा परिवर्तन ल्याई देशलाई नयाँ दिशा दिएका छन्। सिंगापुर होस् वा दक्षिण कोरिया अनि जापान, एसियामा आफूलाई अब्बल साबित गर्न सफल भएका छन्, जुन देशका नेताको नेतृत्वमा छचल्किएको मनोविज्ञानले नै हो यिनले विकासमा छलाङ मार्न सकेका।
नागरिकको मानसिकतामा परिवर्तनको बीज: देशको समग्र विकासमा मानसिकताले सबैभन्दा ठूलो भूमिका खेलेको हुन्छ, चाहे त्यो नेताको होस् चाहे नागरिकको। त्यसैले भन्न सकिन्छ– कुनै पनि देशको विकासको पहिलो सर्त हो, त्यहाँका नागरिकको सोच, दृष्टिकोण र मानसिकता परिवर्तन गर्नु। नागरिकलाई सपना देखाउने नेताले नै परिवर्तन गर्ने। सपनासँग संघर्ष पनि जोड्न सक्नुपर्छ। त्यसअघि विकासमुखी सोच उमार्न सक्नुपर्छ। अनिमात्र नागरिकलाई परिवर्तनप्रति सकारात्मक बनाउन सक्छ। ‘हामी गरिब हौं’ भन्ने सोचबाट यदि नेतृत्व पंक्तिले ‘हामी गर्न सक्छौं’ भन्ने सोचतर्फ परिवर्तन गर्न सक्यो भने त्यहाँ जे पनि सम्भव हुन्छ। माथिका सिंगापुर, कोरिया र जापानको विकासमा नागरिकको मानसिकता परिवर्तनको महŒवपूर्ण भूमिका देख्न सकिन्छ।
साझेदारी र विश्वासको मनोविज्ञान: विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहयोग आवश्यक हुन्छ। उसो त आफ्नै बलबुताले देश विकास गरेका उदाहरण नभएका होइनन्। तर ‘ग्लोबल भिलेज’को यो दुनियाँमा नयाँ प्रविधि जोड्दै सोहीअनुसारको स्रोतसाधनको प्रयोगबाट देश विकास गर्नु उपयुक्त हुन्छ। वैदेशिक सहायता, दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूको मनोविज्ञान पनि यसमा महŒवपूर्ण हुन्छ। यस सन्दर्भमा एउटा उदाहरण काफी छ, दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्न संयुक्त राष्ट्रसंघले राष्ट्रहरूबीचको विश्वास र सहकार्यलाई दिएको प्राथमिकता। कैयन् यस्ता परियोजना हुन्छन्, जसमा विदेशी दक्ष जनशक्ति, सामग्री र अन्तर्राष्ट्रिय विचारको संयोजनले नसोचेको परिणाम दिएका छन्। जसलाई नेपाल जस्तो देशले आत्मसात् गर्नु आवश्यक देखिएको छ।
सामाजिक मनोविज्ञान: सामाजिक रूपान्तरणका लागि जनताको व्यवहार, मूल्य र मान्यतामा परिवर्तन भइरहनु आवश्यक हुन्छ। समाजमा भइआएका लैंगिक असमानता, जातीय विभेद र धार्मिक कट्टरताको अन्त्यबिना कुनै पनि देशको विकास सम्भव छैन, हुँदैन। नेपालले आफूलाई यस सन्दर्भमा धेरै फड्को मारेको छभन्दा अत्युक्ति नहोला। सामाजिक मनोविज्ञानका दृष्टिले हेर्ने हो भने नेपालको ‘सामाजिक समावेशीकरण’ अभियानले देश विकासमा सकारात्मक भूमिका खेलिरहेको देखिन्छ। विकासोन्मुख देश नेपालले यसमा दिन दुई गुणा, रात चार गुणाले यी विषयमा सुधार गर्दै नागरिकको जीवन गुणस्तरीय बनाउनुको विकल्प पनि छैन।
वैश्विक मनोविज्ञानका सिद्धान्तहरू
मस्लोले ‘हाइआर्की अफ निड्स’मा भन्छन्, गाँस, बास र कपासजस्ता नागरिकका आधारभूत आवश्यकताहरू पूरा भएमात्र ऊ आत्मसन्तुष्टिको उच्च तहमा पुग्छ। यसकारण नेपालले पनि मूलतः गरिब नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकता दिनुपर्छ। गरिबी निवारणमा गरेको चीनको सत्प्रयास विश्वमै उदाहरणीय बनेको छ। नेपालजस्तो मुलुकले पनि शिक्षा, स्वास्थ्य, सशक्तीकरण र नवप्रवर्तनलाई जोड दिनु आजको आवश्यकता हो। आत्मनिर्भरताको मनोविज्ञानले भन्छ, जबसम्म कुनै देश आत्मनिर्भर हुन सक्दैन, तबसम्म उसले बाह्य सहायता र अनुदानमा निर्भर रहनुपर्छ। सरकार स्थायी र स्थिर नहुँदा नेपालले विगतमा निर्यात गर्दै आएका कैयौं उत्पादन पछिल्ला केही दशकमा आयात गर्न परिरहेको छ। खासमा नेपालसँग आत्मनिर्भर अर्थतन्त्र नभएको होइन। बिदेसिएका दक्ष र अदक्ष दुवै खालका युवालाई परिचालन गर्ने हो भने आत्मनिर्भर मनोविज्ञानको उदाहरणको रूपमा नेपाललाई विश्वमा चिनाउन सकिन्छ।
परिवर्तन सधैं चुनौतीपूर्ण हुन्छ। अर्कोतर्फ, मानिसहरू परिवर्तनलाई सहजै स्वीकार्न चाहँदैनन्। यही भन्छ, परिवर्तनको मनोविज्ञानले। नेपालमा संघीयता कार्यान्वयनको क्रममा देखिएको विरोध–अवरोध परिवर्तनको मनोविज्ञानको एउटा उदाहरण होभन्दा दुईमत हुने छैन। राष्ट्रिय पहिचान र गौरवको मनोविज्ञानले पनि समग्र देश विकासमा महŒवपूर्ण अर्थ राख्छ। जबसम्म जनतामा आफ्नो देशप्रतिको प्रेम, गर्व र गौरवको भावना जागृत हुँदैन, तबसम्म देश विकासका लागि हातहरू स्वतःस्फूर्त ढंगले जुट्दैनन्। तर जब राष्ट्रिय भावना जागृत हुन्छ, तब देशको विकास तीव्र हुन्छ। यसमा जापानलाई लिन सकिन्छ। जहाँ दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणमा जापानीहरूले सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विकासको बाटो समातेका थिए।
यस्तो होस् देश विकासका लागि वैश्विक मनोविज्ञान
सरकारको नेतृत्व गर्न पुग्ने नेपालका हरेक राजनीतिक दलले नागरिकमा आशावादी दृष्टिकोणको विकास गर्न सक्नुपर्छ। नागरिकको मनोविज्ञानलाई सकारात्मक बनाउने सरकारी नीति त आवश्यक हुन्छ नै। यसमा विभिन्न संघसंस्था र नागरिक समाजका प्रेरणादायी अभियानले अहम् भूमिका खेल्छन्। साथै सञ्चारमाध्यमको भूमिकालाई भरपूर उपयोग गर्नुपर्ने हुन्छ। नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सकारात्मक मनोविज्ञानको दृष्टिले प्रवद्र्धन गरिरहन सक्छ।
विगतलाई बिर्सने हो भने २०४६ पछि नेपालमा प्रजातन्त्र आयो। लोकतन्त्रमा नागरिकको सहभागिता विकासको एउटा अनिवार्य सर्त हो। नेपालको संघीय प्रणाली नै लोकतान्त्रिक सहभागिताको उदाहरण हो, जसले समुदायमा आधारित विकासमा ध्यान दिन्छ। यतिबेला नेपाली गणतान्त्रिक शासन व्यवस्थाको अभ्यासमा छौं। यस अर्थमा विश्व सन्दर्भमा नेपालको यो पक्ष प्रशंसनीय छ। अब यसमा शिक्षा र चेतनाको विकास थप्नुपर्ने हुन्छ। किनकि शिक्षा र चेतना विकासले मात्र जनताको सोच र दृष्टिकोणमा परिवर्तन ल्याउन सक्छ। फिनल्यान्डको शिक्षा प्रणालीले विश्वभरका देश र तिनका नागरिकलाई सोच्न बाध्य बनाएको छ। त्यतिमात्र होइन, निर्णय लिन र समस्या समाधान गर्नसमेत उत्प्रेरित गरेको छ, त्यसैले यो त्यो देशको नागरिक मनोविज्ञानको उत्कृष्ट नमुना हो भनेर मानिन्छ।
नेपालका ७ सय ६१ सरकारले संवेदनशील समूहहरूको सशक्तीकरणमा विशेष ध्यान दिन ढिला भइसकेको छ। महिलाहरू, अल्पसंख्यक समूहहरू र गरिब वर्गको सशक्तीकरणले मात्र देश विकासको गति तीव्र बनाउन सक्छ। यसो गर्न सकियो भने नेपालमा महिला सशक्तीकरण कार्यक्रममार्फत आर्थिक रूपमा समेत सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
निष्कर्ष: देश विकासको वैश्विक मनोविज्ञानले नागरिक, नेतृत्व, सामाजिक मूल्य र विश्वासको प्रणालीलाई समेटेर समग्र रूपले विकासमा प्रभाव पारेको हुन्छ। यसका लागि आमनागरिकको मानसिकता परिवर्तन, विश्वव्यापी सहकार्य र सकारात्मक सोचको विकास आवश्यक छ। नेपालजस्तो विकासोन्मुख देशले आत्मनिर्भरता, सामुदायिक सहभागिता र सकारात्मक सोचको मनोविज्ञानलाई आत्मसात् गर्न सक्यौं भने दिगो विकासको मार्गमा हामी अवश्य अघि बढ्न सक्छौं।