सहकारीको पैसा उठाइदिने भन्दै टिकटकमा विज्ञापन गर्ने ५ जना पक्राउ

सहकारीको पैसा उठाइदिने भन्दै टिकटकमा विज्ञापन गर्ने ५ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : ‘दलालहरूले विदेश पठाउँछु भनेर रुवाएको छ भने, सिधै मलाई इनबक्समा कुरा राख्नुहोस्। जिडिएफ क्लबले त्यसको असली हैसियत देखाइदिन्छ। जय स्वतन्त्र युवा।’ 

यस्तै जिडिएफ क्लबको अर्को पोस्टमा लेखिएको छ, पाटी छोड्नुहोस्, स्वतन्त्र भएर नेताको गिदीमा खेलौं, देश बन्ने भिजन हामीसँग छ। क्लबका एमडी रिदम मगरले यस्तै विभिन्न स्टाटस सहितका भिडियो पोस्ट गर्ने गर्छन्। हेर्दै डरलाग्दा मोटा घाटा, खेलाडी जस्ता पाँच जनाको समूहले गोर्खा डिफेन्स फोर्स अर्थात् जिडिएफ क्लब भन्दै टिकटकमा भिडियो बनाउँछन्।

उनीहरूकै पोस्ट हेर्ने हो भने पनि उनीहरूको मुख्य काम भनेकै विभिन्न ठाउँमा फसेको पैसा उठाउनु हो। कोही सहकारीको पैसा फसेको उठाउन परोस् वा कोही व्यक्तिसँग दिएको पैसा उठाउन पर्‍यो। हामीलाई सम्झनुस् भन्दै उनीहरूले टिकटक पोस्टमै विज्ञापन गर्ने गर्छन्। 

यो टिकटक भिडियो र उनीहरूका गतिविधि प्रहरीले निगरानी गरिरहेको थियो। पैसा उठाउन भन्दै समूह नै मिलेर धरपकड गर्नु कुनै पनि बहानामा कानुन संगत थिएन। यसैले पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यो क्लबका पाँच जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ पर्नेमा  दाङका रिदम भन्ने रेखा बहादुर पुन मगर, ललितपुरका डीबी भन्ने फुर्वा तामाङ, भोजपुरका विक्रम तामाङ, ललितपुरका सुमन लो, सिन्धुलीका उत्तर वाइबा रहेका छन्। 

उनीहरूको टिकटक र फेसबुक पोस्टमा लेखिएको विवरण अनुसार बेरोजगार व्यक्तिहरूलाई रोजगार दिने, देश चलाउने भिजन भएका र पैसा फसेर पीडित भएका व्यक्तिलाई सहयोग गर्नका लागि उनीहरूले क्लब नै दर्ता गरेका थिए। 

केही युटुबर तथा पत्रकारलाई बोलाएर समेत जानकारी दिएका थिए। उनीहरूको मुख्य टार्गेट भनेकै सहकारीमा फसेको पैसा उठाउने, वैदेशिक रोजगारका लागि पैसा फसाएका युवाको पैसा उठाउने रहेको थियो। पैसा उठाइसकेपछि पीडित र क्लबले आधा आधा रकम बाँडेर लिने गरेका थिए। अर्थात् पीडितकै रकमलाई उनीहरूले कमाइको श्रोत बनाएका थिए।
 
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यले भने, ‘यसरी पैसा उठाउन भन्दै समूह गठन गरिनु गैरकानुनी हो। उनीहरूको समूहले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको छ।’ उजुरीका विषयमा अनुसन्धान भइरहेको र जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ। उनीहरूले सार्वजनिक गरेको भिडियो र फोटोमा उनीहरूमध्ये कोही जिम सिकाउने ट्रेनर, कोही ट्रक चालक त कोही क्लबमा काम गर्ने बाउन्सरका रूपमा काम गरेका युवा छन्। 

उनीहरूको समूह बेलाबेला हुने आन्दोलनमा पनि संलग्न भएको थियो। दुर्गा प्रसाईको आन्दोलनमा होस या हर्क साम्पाङको कार्यक्रममा होस या बालेन शाह उपस्थित हुने कार्यक्रममा होस यो समूहले सहभागिता जनाएर बडिगार्ड जस्तो काम गरिरहेको भिडियो पनि सार्वजनिक गरेको छ। 

उनीहरूको समूहले कपनमा रहेको एक सहकारीमा गएर त्यहाँका म्यानेजरलाई धम्काएर रकम उठाएका थिए। कपनको सहकारीमा आफ्नो ४ लाख ९१ हजार फसेको भन्दै एक पीडितले उनीहरूसँग सम्पर्क गरेका थिए। ती पीडितसँगै सहकारी कार्यालय पुगेको यो क्लबका व्यक्तिहरूले म्यानेजरलाई धम्काएर ९० हजार उठाएको र त्यहाँको मोटरसाइकल समेत उठाएर ल्याएका थिए। मोटरसाइकल पीडितलाई दिएका थिए।

उठेको पैसा मध्ये ४० हजार यो समूहका सदस्यले राखेका थिए। सहकारीले पुरै पैसा दिएपछि मात्रै मोटरसाइकल फिर्ता गर्नका लागि उनीहरूले पीडितलाई भनेका थिए। उक्त सहकारीका म्यानेजर अभद्र व्यवहारको उजुरी लिएर प्रहरी कहाँ पुगेको थियो। यो घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार फसेको पैसा उठाइदिन भन्दै यो समूहसँग तीन सयभन्दा बढी व्यक्तिहरू सम्पर्कमा पुगेका थिए। उनीहरू मध्ये कतिको पैसा उठाए, पैसा उठाए बापत कति रकम लिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.