प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी
काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी प्रदान गरिएको छ। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्।
नेपाल-भारत बीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ।
प्रधान सेनापति सिग्देलले आजै भारतका माननीय रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन्। त्यसैगरी उनले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन्।