किन पीडादायी बन्छ ऋण ?
संजीव ग्वंगल
ऋण, सापटी, उधारो, पैंचो र अरू यस्तै यस्तै व्यवहार मानिसले आफूलाई आवश्यक पर्दा वा खाँचो पर्दा मात्रै गर्छ। तर कुनै एउटा व्यक्तिले आवश्यक पर्यो भन्दैमा ऋण लिई हाल्दैन। उसले आफूसित भएका सम्भावित विकल्पहरूबारे सोच्छ पहिले। एउटा सामान्य मानिसका लागि ऋणको बोझ डरलाग्दो र भयानक हुने गर्छ। सामान्यतया ऋण लिन डराउँछन् मानिस। हाम्रा गाउँघरका साहुकारहरूले ऋणको पासोमा फसाएर सम्पत्ति कुम्ल्याएको कथा सुनेका सिधासाधा नेपाली ऋणको नाम सुन्नासाथ तर्सिहाल्छन्। ऋण तिर्न सक्ने क्षमता भएको खण्डमा वा कुनै त्यस्तो बलियो स्रोत भएमा मात्र ऋण लिन हिच्किचाउँदैन मानिस।
अर्को, बहुसंख्यक मानिस सकेसम्म ऋण लिनु हुन्न यो जोखिमपूर्ण हुन्छ भन्ने धारणा पालेर बसेका हुन्छन्। निर्विवाद छ, ऋण लिनु एक जोखिमपूर्ण कार्य हो। जोखिमको भार बहन गर्न साहस पनि चाहिन्छ। व्यवसाय गर्न, आवश्यक पुँजी जुटाउन ऋण लिन सकिन्छ। व्यवसायमा नाफा आर्जन गरी अथवा आफ्नो आयको बचतबाट ऋणको साँवा ब्याज तिर्न सकिन्छ। तर व्यवसाय र आय सधैं आफ्नो अनुकूल नहुन सक्छ, प्रतिकूल पनि बन्न सक्छ। कुनै विषम परिस्थितिजन्य व्यावसायिक संकट देखेर–सोचेर मानिस तर्सिन्छन्, अत्तालिन्छन्। परिस्थिति हरहमेसा बेकाबु हुँदैन यो केही हदसम्म मानिसको काबुमा पनि हुन्छ। एउटा काम बिग्रियो भन्दैमा सबै बिग्रिने होइन। एकजना बिग्रियो भन्दैमा सबै बिग्रिन्छ भन्ने पनि होइन। मानिसको क्षमतामा पनि भरपर्ने कुरा हो यो।
कुनै नयाँ काम सुरु गर्न त्यसका सम्भावित परिणामहरूको पूर्वानुमान र आकलन गरिएको हुन्छ। बजारको माग र पूर्तिको अवस्थाको लेखाजोखा गरिएको हुन्छ। सकारात्मक नतिजाको सम्भावना देखिएपछि र फाइदाजनक हुन्छ भन्ने कुरामा विश्वस्त भएपछि मात्र लगानी गर्छन् वा त्यसका लागि ऋण लिने गर्छन् उद्यमीहरू। उद्यमशीलता पनि एक हिसाबले साहसिक कार्य हो। यसोभन्दा हिच्किचाउनु पर्दैन हामीले। आफ्नो क्षमताभन्दा बढी आँट्नु फेरि दुस्साहस हुनसक्छ। पौडन नजान्ने मान्छेले साहस छ भन्दैमा नदीको भेलमा हाम्फाल्छन् भने त्यो उसको मुख्र्यांइ हुन्छ। आम्दानी एक रुपैयाँ, खर्च दुई रुपैयाँ हुनेले ऋण लिन सक्दैन, हुँदैन पनि। कुनै पनि लगानीकर्ताले ऋणीको ऋण तिर्न सक्ने क्षमताको परीक्षण र आकलन गरेको हुन्छ। उसको योजनाको व्यावहारिकताको विश्लेषण गरेको हुन्छ। व्यवस्थापकीय क्षमताको सुनिश्चितता खोजेको हुन्छ। निश्चित समयावधिका लागि अनुमानित कार्ययोजना खोजेको हुन्छ। व्यावसायिक योजना मागेको हुन्छ। ऋण उठ्ने सुनिश्चिततापछि मात्रै ऋण लगानी गर्छ कुनै पनि लगानीकर्ताले। कसैले भन्यो भन्दैमा, माग्यो भन्दैमा हचुुवाको भरमा बाँडिने कुरा होइन ऋण। हचुवामा बनाइने व्यावसायिक योजना फितलो हुन सक्छ। सही मानेमा ती उपलब्धिमूलक उद्यम नहुन सक्छ। आफ्ना बालबच्चाले ढिपी ग¥यो भन्दैमा जे माग्यो त्यो पु¥याइदिनु पनि सुझबुझ नहुन सक्छ, अभिभावकका लागि।
यस्तै कुरा सम्झन्छु हाम्रो देशको अवस्था देखेर। कुरा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको, यसको हविगतको। मलाई सम्झना छ। तत्कालीन क्षेत्रीयस्तरको विमानस्थललाई परिमार्जन गरी अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न ठूलै रस्साकसी भएको थियो। त्यस क्षेत्रका उद्यमी व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, सर्वसाधारण जनता सबै उत्रेका थिए सडकमा। धेरै लामो आन्दोलन, धर्नालगायत अनशनका कार्यक्रमको आयोजना गरिएका थिए। त्यहाँका प्रभावशाली राजनीतिक दलका नेताहरू पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउन बाध्य भएका थिए, जनआकांक्षा र दबाबका अगाडि। पोखरालगायत कास्की क्षेत्रकै स्थानीय बासिन्दाको जोडदार माग रहेको थियो, अन्तर्राष्ट्रिय विमानस्थल बनाउन। पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण हुनाका साथै गण्डकी क्षेत्रकै पर्यटनको प्रवेशद्वारको रूपमा रहेको कुरा सत्य हो। विश्वभरका लाखौं पर्यटक प्राकृतिक दृश्यावलोकन एवं साहसिक पदयात्रा र हिमाल आरोहणका लागि पोखरा आउँदै गरेका छन्। यो संख्यामा निरन्तर वृद्धि हुँदै आएको पनि छ।
पोखरामात्र नभई गण्डकी क्षेत्र नै पर्यटनको प्रबल सम्भावना बोकेको क्षेत्र हो। तर कास्की जिल्लालगायत त्यस क्षेत्रका बासिन्दाहरूले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति हुनासाथ पर्यटन उद्योगले स्वतःस्फुर्त रूपमा शिखर चुम्ने विश्वास लिएको देखियो। ह्वारह्वार्ती विदेशी पर्यटक बोकेका अन्तर्राष्ट्रिय वायुसेवाहरूका विमान अवतरण हुनेछन् पोखरा विमानस्थलमा भन्ने अनुमान गरिएको थियो सायद मेरो पनि सोचाइ त्यस्तै थियो। विमानस्थल निर्माण सम्पन्न भयो। तत्पश्चात् सोचेअनुसार र अनुमान गरिए जस्तो नतिजा देखिएन। किन यस्तो भयो ? दोष कसको ? योजना किन सफल भएन ? कहाँ त्रुटि भयो ? किन पहिले नै सोच्न सकिएन ? के कस्ता प्रविधिक कठिनाइहरूको सामना गर्नुपर्ने सम्भावना हुन्छ भन्ने कुराको पूर्वानुमान किन गरिएन ? यी र यस्ता प्रश्नहरूले रिङ्याइरहेको छ अहिले हामीलाई।
विमानस्थल बनाउन लिइएको ऋणसमेत तिर्न धौ धौ भइरहेको छ भन्ने सुन्छु। अब रोएर के गर्ने ? पहिले काम बिगार्ने पछि पछुताएर के गर्ने ? अगुल्टोले हानेको बिरालो बिजुलीदेखि तर्सिन्छ भने जस्तै भयो। नेपालीहरू अहिले ऋणको नाम सुन्नेबित्तिकै तर्सिन्छन्। ऋण लिनु गल्ती होइन। केका लागि लिने ? कस्तो परियोजना लाभदायक छ ? केमा लगानी गर्दा प्रतिफल चाँडो र राम्रो पाइन्छ ? स्थानीय र अन्तर्राष्ट्रिय बजारको माग के छ ? प्रतिस्पर्धी को हो ? हाम्रो क्षमता के छ ? अन्तर्राष्ट्रिय मापदण्ड र प्रावधान के के छन् ? स्थानीय स्रोत, साधन र सीपको अवस्था के छ ? आदि, इत्यादि कुराको गहन विश्लेषण नगरी हचुवाको भरमा वा भावनामा बगेर परियोजना छनोट गर्नु नै दोषपूर्ण हुन सक्छ। जन चाहना अव्यावहारिक छ भने उनीहरूलाई बुझाउन सक्ने क्षमता नेतृत्व वर्गमा हुनुपर्छ। लोकप्रियताको नाममा नचाहिँदो परियोजना ल्याउनु किमार्थ स्वीकार्य हुन सक्दैन। किनकि यो पीडादायी बन्न जान्छ।