साधनामा गौरामहेश्वर सिद्धि
नन्द पर्वतमारभ्य यावद काकगिरि : समौ।
नन्द पर्वत (कुमाउँ) देखि काकगिरि (कर्णाली) सम्मको सम्पूर्ण हिमाल, पहाड र तराईको भाग नै मानसखण्ड मानिएको तथ्यले गौरामहेश्वरको महŒव बुझ्न सहज बन्छ। हालको तिब्बतस्थित मानसरोवर निवासी गौरा–महेश्वरको उपस्थितिले सिद्ध परम्पराको पनि आदि केन्द्र मानसखण्ड छभन्दा अतिशयोक्ति नहोला। गौरापर्वको रूपमा ख्याति कमाएको यो क्षेत्र गौरामहेश्वर सिद्ध साधन क्षेत्रका रूपमा स्थापित हुन सक्ने दृष्टिगत गरी सिद्ध साधनाबारे प्रकाश पार्ने प्रयत्न गरेको छु।
तीर्थानि प्रवराण्येव तथा श्वेताख्ये पर्वतोत्तमे।
अग्रे मानस प्रस्तावे तथा नेपालके मुनि:।।
काश्मीरे चैव प्रस्तावे जालन्ध्रे वै तथा मुनि:।
तथा केदार प्रस्तावे कर्थतानि मयाद्यते।।
विभिन्न उत्तम तीर्थमध्ये श्वेताख्य (कैलाश) उत्तम तीर्थ छ, जसलाई केन्द्र बिन्दु मानेर सबैभन्दा अगाडि ज्येष्ठ र श्रेष्ठका रूपमा मानसखण्ड, त्यसपछि क्रमश: नेपालखण्ड, काश्मीरखण्ड, जालन्धरखण्ड र अन्त्यमा केदारखण्डलाई प्रस्ताव गरिएको पाइन्छ।
दाइन भया गणपति दाइन भया सरस्वती।
दाइन भया गुरुदेव दाइन भया भगवती।।
सत्य, गौ, गौरी, ऋक, यजु:, साम, अर्थव, अगिंरस, ज्येष्ठ, श्रेष्ठ, वरिष्ठ, जल, तेज, गृहय, अरण्य, अक्षर, क्षर, पुष्कर, पवित्र, उग्र, मध्य, बाह्य, अग्रिम यी सबै र ज्योतिरूप मै हुँ, भगवान् शिवले भन्नुभएकाले गौरी (गौरा) पनि शिव नै भएको बुझ्न सकिन्छ। यही रहस्यलाई साधनामार्फत सिद्ध गर्नु नै गौरामहेश्वर साधना हो बुझ्नुपर्छ। भगवतीको निम्न वचनले रुद्र पनि भगवती नै भएको बुझ्न सकिने हुँदा गौरामहेश्वर साधना साझा साधना बन्न पुग्छ।
‘अहं रुद्रेर्भिवसुभिश्चरामि।
अहमादित्यैरुत विश्वदेवैं:।
अहं भित्रावरुणावुभौ बिभर्मि।
अहमिन्द्राग्नी अहं–शिवनावुभौ।’
अर्थात् म नै रुद्र, वसु, आदित्य र विश्वदेवको रूपमा विचरण गर्छु भन्ने भगवतीको कथनले सम्पूर्णताको परिचय दिन्छ। एवं प्रकार गौरा र महेश्वरले एक अर्कामा आफूलाई समाहित गरेको तथ्यले सृष्टि सञ्चालनमा मुख्य योगदानका साथै सिद्ध साधनाका लागि प्रेरित गर्छ। पञ्चाक्षर र नवारण मन्त्र: गौरा महेश्वर साधनाका सिद्धमन्त्र हुन्। नारद ऋषिद्वारा पार्वतीलाई उपदेश गरी उहाँले नै साधना गर्नु भएको ‘नम: शिवाय’ र देवी अर्थवारिषिमा वर्णन गरिएको ‘नवारण मन्त्र’ सिद्धि तथा मोक्ष प्राप्त गर्ने साधन हुन्।
हे देवी ! यो मन्त्रको अत्यन्त अद्वैत प्रभावलाई सुन्नुहोस्। जसलाई सुन्नेबित्तिकै भगवान् शंकर प्रसन्न हुनुहुनेछ। मन्त्रहरूको राजा यो मन्त्र मनोवाञ्छित फलदिने, शंकरको प्रिय तथा साधकहरूलाई भोग र मोक्ष प्रदान गर्छ। भन्दै नारद ऋषिले भगवती पार्वतीलाई उपदेश गरेको पाइनुले सिद्धिदायक स्पष्ट हुन्छ।
नवारण मन्त्रले उपासकहरूलाई आनन्द र ब्रह्मसायुज्य प्रदान गर्नेछ भन्ने कथन देवी अथर्वशीर्षमा पाइनुले नवारण मन्त्रको महŒव बुझ्न सकिन्छ। हे चित्तस्वरूपिणी महासरस्वती ! हे सद्रुपिणी महालक्ष्मी ! हे आनन्दरूपिणी महाकाली ! ब्रहमविद्या प्राप्त गर्न हरबखत तपाईंको ध्यान गर्छौं। हे महाकाली–महालक्ष्मी– महासरस्वती– स्वरूपिणी चण्डिके ! तपाईंलाई नमस्कार गर्छौं। अविद्यारूपी बन्धनलाई खोलेर हामीलाई मुक्त गर्नुहोस् भन्ने देवताहरूको प्रार्थना बुझ्न सकिन्छ। एवं प्रकार ‘ऊँ नम: शिवाय’ र ‘एें हीं क्लीं चामुण्डाय विच्चे’ मन्त्रको पुरचरण साधना गौरामहेश्वर सिद्ध साधनाका रूपमा प्रसिद्ध रहेको छ। सिद्धिदायक छ।